खानेपानी पैंचोमा ल्याउँछन् रोराङका चेपाङ
धादिङको बेनीघाट–रोराङ गाउँपालिका ३ को चेपाङ बस्तीमा पानीको समस्या कति छ भन्ने थाहा पाउन स्थानीयको गुनासोे सुनिरहनै पर्दैन ।
उनीहरुले लगाएका लुगा र शारीरिक आवरण हेरे मात्रै पुग्छ ।
चेतनाको अभावमा उनीहरु फोहोरी भएर बसेका छन् जस्तो पनि लाग्ला तर, समस्या सोचेभन्दा बेग्लै छ ।
१९ मंसीरमा चेपाङको अवस्था बुझ्न रोराङ गाउँपालिका–३ को ब्रुसबाङ पुगेका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल लगायतको टोलीसामु फूलमाया चेपाङले सुनाएको गुनासोले त्यहाँको अवस्था छर्लङ्ग हुन्छ ।
प्रमुख जिल्ला अधिकारी भण्डारीसँग फूलमायाले भनिन, “लुगा धुन नुहाउन त परको कुरा, खानेपानी समेत बेलाबेला पैंचोमा ल्याउनु परेको छ ।”
बच्चा बिरामी हुँदा पानी लिन जान नपाएर आधा गाग्री पानी पैंचामा लिएर गर्जाे टारेको उनले सुनाइन् ।
सफा–सुग्घर हुनुपर्छ भन्ने जान्दाजान्दै पानी अभावकै कारण सम्भव हुन सकेको छैन ।
खानेपानी ल्याउन तीन घण्टा बढी लाग्छ । “तिर्खा मेट्ने गरी पानी खान पनि समस्या छ,” स्थानीयले दुख सुनाए, “नुहाउनु त परको कुरा मुख धुनै समस्या छ ।”
गाउँभन्दा झण्डै चार किलोमीटर टाढा रहेको कुवाको पानी नै बु्रसबाङका चेपाङ समुदायको बाँच्ने आधार बनेको छ ।
“एक गाग्री खानेपानी जुटाउँदा आधा दिन बित्छ, अरू काम गर्नै पाइँदैन” प्रेमबहादुर चेपाङले भने ।
पानीको समस्याकै कारण वस्तुभाउ समेत पाल्न नपाएको प्रेमबहादुरले गुनासो गरे । उनले भने– “जग्गा जमिन हुँदा समेत खेती गर्न पाएका छैनौं । पानीकै कारण तरकारी फल्दैन कन्दमुल खाने गर्छौं ।”
सरकारी निकाय र संघसंस्थाका पदाधिकारीहरु बेलाबेला आएर समस्या सुन्ने तर समाधान नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका थिए ।
स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी भण्डारीले गाउँमा पानी पु¥याउन धेरै खर्च लाग्ने र दिगो व्यवस्थापनमा समेत समस्या आउने भन्दै बस्ती नै स्थानान्तरणको लागि पहल गर्ने बताए ।
सानुबाबु तिमिल्सिना, धादिङ