कला/साहित्यबिहिवार, पौष २०, २०७४

फिल्मकर्मीको चेत

हिमालखबर

दीपक बज्राचार्य

उः हेलो, के छ खबर ?
मः ठीक छु, अनि तिम्रो नि !
उः यसपालि राम्रो फिल्म बनाउने योजना छ, तिमीले काम गर्नु पर्छ है !
मः भैहाल्छ नि !
उः अनि क्यामेरा ‘इपिक’ चलाउने हो नि !
मः ए, हो र ! अनि निर्देशक ?
उः त्यो त ‘फिक्स’ छैन, पहिले तिमीसँगै कुरा मिलाऊँ भनेर ।

एक जना प्रोडक्सन म्यानेजरसँगको फोन हो, यो । नेपालमा कसरी चलचित्र बन्दोरहेछ अथवा बनिरहेको छ, भन्ने कुराको उदाहरण पनि हो । यसको अर्थ सबैले यही नै प्रक्रिया अपनाएर चलचित्र बनाउँछन् भन्ने चाहिं नलागोस् । यद्यपि जुन चलचित्रको सबैभन्दा महत्वपूर्ण व्यक्ति अर्थात् निर्देशक नै टुङ्गो लागेको हुँदैन, छायाँकारसँग कुरा मिल्नुअघि नै फलानो क्यामेराले खिच्ने भन्ने छिनोफानो भैसकेको हुन्छ भने त्यो चलचित्र कस्तो बन्ला ? सहजै अनुमान गर्न सकिन्छ ।

एउटा छायाँकारको रुपमा मैले बुझेको प्रक्रिया, सबैभन्दा पहिलो कदम निर्देशकले चाहेको, मन परेको कथामा फिल्म बनाउनका लागि निर्मातालाई विश्वासमा लिएर लगानीको वातावरण तयार पार्ने हो । यो अवस्थामा कुन सेटिङमा, कुन विधामा, कसरी, कस्तो फिल्म बनाउने भन्नेमा निर्देशक स्पष्ट भैसकेको हुनुपर्दछ । त्यसमा उसको आत्मविश्वास झल्कनुपर्दछ ।

त्यसपछि कथाबाट उपयुक्त पटकथा, संवाद तयार गरी स्क्रिप्टलाई पूर्णता प्रदान गर्ने, सुहाउँदो लोकेशन खोज्ने, अनुमानित लागत तयार गर्ने, निर्देशकको भावना प्रतिबिम्बित गर्न सक्ने प्राविधिक जनशक्ति तथा चरित्र जीवन्त लाग्ने कलाकार छनोट गर्ने, आवश्यक भेषभुषालगायत व्यवस्थापकीय प्रक्रिया अघि बढ्छ । पटकथा तयार भइसकेपछि पनि फिल्म निर्माणका लागि निर्देशकले लगानीकर्तालाई आह्वान गर्न सक्छ ।

एउटा सर्जक र निर्देशकको रुपमा यदि कोही निर्माता, वितरकले पहिले नै छनोट गरेको कथामा फलानो कलाकार लिएर फिल्म बनाऊ, यो छायाँकार, सम्पादक राख्नैपर्छ भन्ने प्रस्ताव आएमा स्वीकार गर्ने कि नगर्ने ? यो निकै महत्वपूर्ण प्रश्न हो । र त्यसको गतिलो जवाफ निर्देशकसँग हुनु जरुरी छ ।

राम्रो कि नराम्रो !
फिल्मको चर्चा गरौं । साँच्चिकै राम्रो फिल्म भनेको कस्तो होला ? कस्तोलाई राम्रो मान्ने ? के के कुराहरु समावेश गरेर बनायो भने राम्रो बन्ला ? फिल्म निर्माणमा हुनुपर्ने न्यूनतम आधारभूत व्याकरणलाई पछ्याएको फिल्म निर्माण कला भएकोले व्यक्तिले निर्माण गरेको फिल्मलाई राम्रो भन्ने हो कि मनलाग्दी गरेको ? चाहे त्यो फिल्मले औसत भन्दा कम व्यापार नै किन नगरोस् । वा फिल्म निर्माण व्यापार पनि भएकोले जसले बढी व्यापार गर्छ, त्यो फिल्मलाई मात्रै राम्रो मान्ने ?

मूलतः निर्देशकले आफ्नो विचार अभिव्यक्त गर्नका लागि बनाउने हो, फिल्म । यसो हुँदा कम्तीमा रु.५० लाख लगानी गर्ने निर्माताको हित सुरक्षित हुन्छ कि हुँदैन ? अनि विशुद्ध बजारका लागि भनेर बनाइने फिल्ममा निर्देशकको सिर्जनशीलता देखिन्छ कि देखिंदैन ? र व्यापार भएन भने यसको जिम्मेवारी कसले लिने ? यसमा बहस हुनु जरुरी देखिन्छ ।

फिल्मकर्मीहरु एक–आपसमा कुराकानी गर्दा, सभा–समारोहमा गरिने भाषण सुन्दा, यस्तो लाग्छ कि आफू जत्तिको फिल्म बुझ्ने अर्को कोही छैनन् । फिल्म सार्वजनिक प्रदर्शनमा आउनु केही दिनअघि पत्रपत्रिका तथा अनलाइनतिर आउने सम्बन्धित निर्माता, निर्देशकका अन्तर्वार्ता पढ्दा र सुन्दा त लाग्छ, यत्तिको गजब फिल्म बनेकै थिएन । तर यसैका आधारमा हलसम्म गएका अधिकांश दर्शक निराश बन्ने गरेका छन् । यसले नेपाली फिल्मको बजार मात्र होइन, दर्शकको मस्तिष्कमै नकारात्मक असर परिरहेको प्रति सञ्चारकर्मीले पनि हेक्का राख्नुपर्ने देखिन्छ ।

विविध विषयवस्तु र चरित्र सुहाउँदो कलाकार लिएर फिल्म बन्ने क्रम बढे पनि सोचे जति राम्रो बन्न नसक्नुमा फिल्मकर्मीको रुपमा जति सक्षम हुनुपर्ने हो, नभएर हो कि ? फिल्म निर्माणका लागि चाहिने कला, सीप र न्यूनतम ज्ञानको कमि, समाजको मनोविज्ञानलाई बुझ्ने क्षमताको अभाव, विषयप्रतिको संवेदनशीलताको कमि, पर्याप्त अनुसन्धान र गृहकार्यको अभाव, अनुभव र आत्मविश्वासको कमि आदिले नै कमजोर फिल्म बनिरहेका त होइनन् ? फिल्मकर्मीको चेतना कुन स्तरको छ भन्ने कुरा पनि महत्वपूर्ण होला ।

यद्यपि, अहिले चलचित्र क्षेत्रमा भइरहेका गतिविधिहरुले आगामी दिनमा केही राम्रा फिल्म बन्ने संकेत गरेको छ । जसले नेपाली चलचित्र क्षेत्रलाई समृद्ध बनाउन अवश्य मद्दत गर्नेछ ।

(बज्राचार्य चलचित्र छायांकार हुन् ।)

प्रतिकृया दिनुहोस