निर्वाचन आयोगका पदाधिकारीले राष्ट्रपतिलाई भेटे
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
पछिल्लो समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।
टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औँल्याएको छ ।
टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको जनाएको थियो ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाई आवश्यक काम गर्न सल्लाह दिएकी छन् ।
गत मंसिर १० र २१ गते भएको निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले परिणाम चाँडै सार्वजनिक गरी नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न माग गर्दै आएको छ भने आयोगले राष्ट्रियसभाको निर्वाचन नभई संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुन नसक्ने जनाउँदै आएको छ ।