रिपोर्टबिहिवार, पौष २०, २०७४

हिंसासँग जुधेर सफल भएका महिलाहरु

हिमालखबर

सुजता लामा, सिन्धुली

घरेलु तथा लैङ्गिक हिंसासँग जुधेर आफूलाई सफल बनाएका महिलाहरु हरेक क्षेत्रमा अगाडि बढ्न आर्थिक रूपमा सक्षम हुनुपर्ने बताउँछन्।

राधा खड्का । तस्वीरहरु: सुजता लामा 

शहरमै पनि महिलामाथि घरेलु हिंसा नहुने प्रायः कमै घर होलान् । अझ गाउँघरमा लैङ्गिक हिंसा त दैनिकी जस्तै हुन्छ । तर, त्यही घरेलु तथा लैङ्गिक हिंसा, सामाजिक–आर्थिक विभेदसँग लडेर आफूलाई उजिल्याउने महिला पनि कम छैनन् ।

त्यसैमध्येकी एक हुन्, कमलामाई नगरपालिका–४, ढुंग्रेबास फाँटकी निरु श्रेष्ठ । लैङ्गिक तथा दिगो ऊर्जाका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सञ्जाल–इनर्जियाले गत वैशाखमा एशियाली र अफ्रिकी देशका पाँच जना महिला उद्यमीलाई सम्मान गर्दा नेपालबाट श्रेष्ठ थिइन् ।

इण्डोनेशिया, केन्या, सेनेगल र ताञ्जानियाका चारजना महिला उद्यमीसँगै नगद एक हजार यूरो पुरस्कार पाएकी श्रेष्ठ भन्छिन्, “उहिल्यै गाउँघरमा जँड्याहाकी श्रीमती भनेर होच्याउँथे, अहिले आफ्नै नामले चिनिन्छु ।” 

उद्यमबाटै उन्नति
२०४२ फागुनमा वासुदेव श्रेष्ठसँग विवाह गर्दासम्म उनले ‘उद्यमी बनुँला’ भन्ने सोचेकी पनि थिइनन् । विवाह पछिको जीवन जति सहज होला भन्ने सोचेकी थिइन्, त्यस्तो भएन । बिहान ३ बजेदेखि राति १० बजेसम्म घरको काम त भ्याउनु पथ्र्यो नै त्यसैमा रक्सी पिएर आउने लोग्नेको यातना खेप्नुपथ्र्यो । परिवारजनले पनि राम्रो व्यवहार नगरेपछि बिहेको ८ वर्षपछि चार छोराछोरीसहित छुट्टै बस्न थालिन् । “त्यसपछि पनि रक्सी छुटेन, छोराछोरी पाल्नै मुश्किल भयो” श्रेष्ठ सम्झिन्छिन् ।

रेखा न्याैपाने 

परिवारसँग छुट्टिएर बस्न थालेपछि भने आफैंले आयआर्जन गर्नै पर्‍यो । दिनमा अरूको काम गर्थिन् भने राति सिलाई पसलबाट लुगा लिएर टाँक लगाउने, सिउने काम गर्थिन् । त्यही बेला २०६० सालमा राष्ट्रिय सुधारिएको चूलो बजार व्यावसायिक तालिम लिएपछि भने उनको यात्रा मोडियो ।

त्यसबाट आम्दानी त हुन थाल्यो तर, गाउँघर चहार्नु पर्दा श्रीमान्ले ‘अर्कैसँग जान लागी’ भनेर टोकसो गर्न थाले । जेनतेन गुजारा चलेकै थियो, २०६५ सालमा रक्सीकै कारण श्रीमान्‌काे मृत्यु भएपछि भने सबै जिम्मेवारी उनकै थाप्लोमा आयो ।

चूलो बनाउन र तालिम दिन कहिलेकाहीं चार/पाँच दिन गाउँमै बस्नुपर्दा ‘एक्ली महिला, छोडेर हिंड्छे’ भन्दै गाउँलेले नै होच्याउँथे । तर, छोराछोरीको पालनपोषण र पढाइ खर्चको बोझका अगाडि लाञ्छना सहेको उनी बताउँछिन् ।

शान्ता पाख्रिन

सुधारिएको चूलो बनाउने, बेच्ने र तालिम दिने त भयो नै अधिकृत बिक्रेताको रूपमा पनि काम पाइन् । आम्दानी बढेपछि छोराछोरी पढाउन सजिलो भएको उनी बताउँछिन् । चार छोराछोरीमध्ये आशिष जर्मनीमा विद्यावारिधि (पीएचडी) गर्दैछन् भने अनु र अंशुले स्नातकोत्तर गरेका छन्, अविनाश स्नातकमा अध्ययनरत छन् ।

काठमाडौं र भारतको गुजरातबाट चूलोका सामान ल्याएर बेच्दै आएकी उनी भन्छिन्, “के गर्न सक्ली भनेर कुरा काट्नेहरू नै तारिफ गर्छन्, जँड्याहाकी श्रीमती भन्नेहरू नै नमस्कार गर्छन् । खुशी छु ।” 

तारिफ र उदाहरणीय बन्न सजिलो छैन तर, आँटे नपुग्ने पनि होइन । ‘घर गरेर खान नसकेकी’ भनेर होच्याइने कमलामाई–१० भडारकी राधा खड्का उदाहरणीय मात्रै बनेकी छैनन्, सम्मान पनि पाइरहेकी छन् ।

३० असारमा उद्योग मन्त्रालयले प्रदान गर्ने ‘उत्कृष्ट महिला उद्यमी–२०७४’ पुरस्कार पाइन्, जुन २०६८ मा पनि पाएकी थिइन् । अहिले गाउँघरमा पनि सबैले सम्मान गर्ने गरेको बताउँदै उनी भन्छिन्, “गाउँघरमा ‘राधा जस्तो हुनुपर्छ’ भनेको सुन्दा गर्व लाग्छ ।”

विगत सम्झिदा भने उनका आँखा टिल्पिल् टिल्पिल् हुन्छन् । भडारमा दुई कट्ठा ऐलानी जग्गा थियो । मजदूरीको कमाइले परिवार पाल्न धौ–धौ हुन्थ्यो । केही काम गर्न त खोज्थिन् तर, पाउँदिनथिन् ।

त्यसपछि भने उनी भडार छोडेर सदरमुकाम सिन्धुलीमाडी सरिन् । र जिल्ला लघु उद्यम संघमार्फत सिलाई तालिम लिइन् । पहिले अरूकोमा काम गरेकी उनले पछि आफ्नै पसल खोलिन् । अहिले कपडा बेच्न पनि थालेकी छन् । “भ्याई नभ्याई भयो, अरूलाई पनि काम दिएँ” खड्का भन्छिन् ।

२०६४ मा रु.६ हजारले शान्तिचोकमा सिलाई मेशीन र कैंची किनेर व्यवसाय शुरू गरेकी खड्काको रु.३० लाख बराबरको सामान जोडिएको छ । रातमाटामा रु.२० लाखमा घडेरी किनेर चारकोठे पक्की घर बनाएकी छन् । ६ जनालाई रोजगारी समेत दिएकी उनी भन्छिन्, “महिलाले अगाडि बढ्न आर्थिक रूपमा मजबूत पो हुनुपर्दोरहेछ ।”

श्रेष्ठ र खड्का जस्तै उद्यमी महिलाहरूको संख्या बढ्दै गएको छ, सिन्धुलीमा । जिल्लामा दर्ता भएका ५ हजार १९१ घरेलु तथा साना उद्योगमध्ये १५०० महिलाकै छन् । तीन वर्षअघि महिला उद्यमीको संख्या ६०० मात्रै रहेको कमलामाई नगरपालिका, उद्योग विकास शाखाको तथ्यांक छ ।

सरकारी तथा गैरसरकारी संस्थाले प्राथमिकतामा राख्ने र सहुलियत ऋण तथा अनुदान पाउने भएकोले पनि महिला उद्यमीको संख्या बढ्दै गएको शाखा प्रमुख नारायण कोइराला बताउँछन् ।

आत्मनिर्भरमा जोड
आर्थिक रूपमा सक्षम हुनसके मात्रै आफ्नो इच्छा अनुसार काम गर्न सजिलो हुने नेकपा (एमाले) नेतृ शान्ता पाख्रिन बताउँछिन् । विद्यार्थी राजनीतिमा सक्रिय पाख्रिनले २०४० सालमा ज्ञानबहादुर पाख्रिनसँग बिहे गरेपछि राजनीति गर्न पाइनन् ।

पार्वती सुनुवार

एसएलसीसम्म अध्ययन गरेकी उनले घरको कामकाज र खेतीपातीमै अल्मलिनु पर्‍यो । निराश भइनन्, खेतपाती सँगसँगै शिक्षण पेशातिर लागिन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि भएकी उनी अवकाश पाएपछि महिला संघ, युवा संघ जिल्ला अध्यक्ष हुँदै एमाले कमलामाई अध्यक्ष र प्रदेश–३ सल्लाहकार छन् । उनी भन्छिन्, “आर्थिक रूपमा सक्षम भएपछि राजनीति गर्नुहुँदैन भन्ने परिवारका सदस्यले पनि सहयोग गर्न थाले ।” 

व्यक्तिगत र सामाजिक जीवनमा मात्रै होइन, राजनीतिक रूपमा पनि सफल हुन महिलाले आर्थिक रूपमा सक्षम हुनुपर्ने फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवार बताउँछिन् । उनको अनुभव र भोगाइले पनि त्यसको पुष्टि गर्छ ।

घरकी जेठी छोरी सुनुवारलाई ‘अर्काको घर पठाउने जात’ भनेर स्कूल नपठाए पनि जिद्दी गरेरै भाइहरूसँगै स्कूल गइन् । एसएलसी उत्तीर्ण भएपछि ‘छोरीमान्छे एक्लै सदरमुकाम बस्दा समाजले राम्रो मान्दैन’ भन्दै बाबुआमा पनि राजी भएनन् । “एक्लै सदरमुकाम गएँ, काम गर्दै पढें” उनी भन्छिन् ।

फिक्कल–१ ढोडेनी गाउँबाट सदरमुकाम सिन्धुलीमाडी गएपछि ग्रामीण महिला चेतना केन्द्र (भीडब्लूसीसी) मा स्वयंसेवक हुँदै सामाजिक परिचालक भएर काम गरिन् । त्यही संस्थाको उपाध्यक्ष र पदपूर्ति समिति प्रमुख भएर काम गर्दा त ‘पार्वती बिग्री’ भन्नेहरू नै छोराछोरीलाई ‘जागिर लगाइदेऊ’ भनेर आउन थालेको उनी सुनाउँछिन् ।

स्नातकोत्तर गरेपछि भने अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष र एमाले जिल्ला सचिवालय सदस्य भएकी सुनुवार स्थानीय तह निर्वाचनमा फिक्कल गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन् । “आर्थिक रूपमा सक्षम नभएको भए राजनीतिमा लाग्नै पाउँदिनथें, गाउँपालिकाको उपाध्यक्ष त कहाँबाट हुनु !” उनी भन्छिन् ।

महिला तथा बालबालिका कार्यालय, सिन्धुलीकी महिला विकास अधिकृत जानकी कुँवर राठी पनि आर्थिक रूपमा सक्षम भएपछि अरूको दबाबमा बस्नु नपर्ने भएकाले काम गर्न सहज हुने ठान्छिन् ।

निरु श्रेष्ठ 

थोरै पैसाको लागि पनि अर्काको भर पर्दा हिंसामा पर्ने र घरको कामबाट बाहिर निस्कन नसक्ने बताउँदै राठी भन्छिन्, “केही पेशा वा व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ ।”

यसको तितो अनुभव नेकपा (माओवादी केन्द्र) की जिल्ला सदस्य रेखा न्यौपानेको छ । १६ वर्षदेखि माओवादीमा सक्रिय तीनपाटन गाउँपालिका–१० की न्यौपानेलाई स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका लागि उम्मेदवार बनाउने तय भएको थियो ।

तर, अन्तिम समयमा आएर ‘अरू पार्टीका उम्मेदवारले धेरै खर्च गर्ने देखियो, तपार्ईं प्रतिस्पर्धा गर्न सक्नुहुन्न’ भनेर टिकट नदिएको उनी बताउँछिन् । “केही पेशा व्यवसाय गरेर आर्थिक रूपमा आत्मनिर्भर नभए महिलालाई हरेक क्षेत्रमा गाह्रो हुने रहेछ”, उनी भन्छिन् ।

आत्मनिर्भर हुने बित्तिकै आत्मविश्वास पनि बढ्ने भएकाले महिलालाई त्यसमै जोड दिनुपर्ने महिला अधिकारकर्मी सविता कोइरालाको निष्कर्ष छ । उनी भन्छिन्, “सामाजिक, राजनीतिक र अरू विभिन्न क्षेत्रमा अगाडि आउन महिलाले आर्थिक रूपमा सक्षम हुनुपर्छ ।”

(फ्री प्रेस अनलिमिटेडको सहयोगमा एण्टेना फाउण्डेशन नेपालका लागि)

प्रतिकृया दिनुहोस