थप समाचारबुधवार, पौष १९, २०७४

साउदी जेलमा रहेका थानेश्वर घर फर्किन पाउने, ‘ब्लड मनी’ जुट्यो

हिमालखबर

सडक दुर्घटना गराएको आरोपमा साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासीका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ ।

मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसालले साउदीमा सवारी चालकका रुपमा काम गर्दैगर्दा अर्को सवारी साधनसँग ठोक्किएर एक जनाको ज्यान गएको थियो ।

उक्त घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो ।

भुसालको आर्थिक अवस्था कमजोर रहेका कारण ‘ब्लड मनी’बापतको रकम तिर्न नसक्ने अवस्थालाई ध्यानमा राखी वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले भुसालको परिवारसँगको समन्वयमा सो रकम जुटाउन कोष खडा गरी अभियान सञ्चालन गरेको थियो ।

कोषमा देश विदेशबाट गरी रु ४५ लाख ८५ हजार २४३ जुटेकाले अब सहयोग उठाउने कार्य बन्द गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने, “कोषको नाममा रहेको खातामा रु २३ लाख १५ हजार २४३ जम्मा भइसकेको छ । कोषमा जम्मा नभए पनि रु २२ लाख २७ हजार विभिन्न निकाय र संघसंस्थाले दिने घोषणा गरेका छन् । यो रकम जोड्दा ४५ लाखभन्दा बढी हुन्छ ।”

पिएनसिसीका महासचिव सोमा लामिछानेले कोषमा जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरी भुसाललाई नेपाल फर्काउन प्रक्रिया शुरु गरिने जानकारी दिइन् ।

भुसाल विसं २०६७ असोजमा चालकको काम गर्न साउदी अरब गएका थिए । साउदी पुगेको १० महिनापछि उनले चलाइरहेको गाडीलाई पछाडिको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनको गाडी हुत्तिएर अगाडि रहेको अर्को गाडीमा ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो ।

साउदी नागरिकको मृत्युपछि त्यहाँको अदालतको सुनुवाइका क्रममा भुसाल र गाडीलाई पछाडिबाट ठक्कर दिने गाडीका चालक गरी दुई जनाले गरी साउदी रियाल तीन लाख अर्थात् करिब रु ९० लाख नेपाली तिर्नुपर्ने फैसला अदालतले गरेको थियो ।

अदालतको फैसलाअनुरुप भुसालले क्षतिपूर्तिबापतको आधा ४५ लाख तिर्नुपर्ने र नतिरेमा आजीवन जेलजीवन बिताउनुपर्ने थियो ।
रासस

प्रतिकृया दिनुहोस