प्रमुख आयुक्तको प्रश्नः प्रदेशसभा निर्वाचनको नतिजा कहाँ बुझाउने ?
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई लिएर निर्वाचन आयोगमाथि लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक दल र तिनका भ्रातृ संगठनलाई आग्रह गरेका छन् ।
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघकाे ज्ञापनपत्र बुझ्दै प्रमुख आयुक्त यादवले आयोगको छविलाई धुमिल र कमजोर बनाउने काम नगरिदिन राजनीतिक दल र तिनका भ्रातृ संगठनको ध्यानाकर्षण गराएका हुन् ।
संविधान र लोकतन्त्रलाई क्षणिक ढंगबाट व्याख्या र विश्लेषण नगर्न आग्रह गर्दै उनले संविधान र कानूनले तय गरेको सबै विधि र प्रक्रिया पूरा गरेरमात्रै निर्वाचनको नतिजा सार्वजनिक हुने बताएका छन् ।
यादवले भने, “प्रदेशसभा निर्वाचनको नतिजा कहाँ बुझाउने ? प्रदेश प्रमुख खोइ ? संविधान र कानूनअनुसार काम गरिरहेको निकायमाथि लाञ्छना लगाउनु आपत्तिजनक छ ।”
उनले कानूनमा स्पष्ट रहेका प्रावधानलाई छोडेर त्यसको भाव र समग्र अर्थको खोजी गर्नु व्यावहारिक नहुने धारणा राखेका थिए ।
महिला संघले बुझाएको ज्ञापनपत्रमा प्रदेशसभा समानुपातिकतर्फको परिणाम घोषणा गरेको तर एउटै मतपत्रमा भएको प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक नभएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । रासस