कांग्रेसको समर्थनमा प्रधानमन्त्री नहुने दाहालको घोषणा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले वाम गठबन्धन बाहेकको समर्थनमा प्रधानमन्त्री नबन्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै दाहालले भने– “नेपाली कांग्रेसले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो । मैंले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।”
पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै दाहालले चाँडै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिए ।
त्यस्तै निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको नतिजा सार्वजनिक नगरेकोमा दाहालले असन्तुष्टि व्यक्त गरेका छन् । रासस