ब्लगमंगलवार, पौष १८, २०७४

अजब-गजबको हाम्रो सम्पत्ति हिमाल चिनौं

कनकमणि दीक्षित

हिमाली शृंखला अरु कसैसँग नभएको अजब–गजबको सम्पत्ति हो– हिमाल, पहाड र तराई–मधेशका नागरिकको।

साथैको तस्वीरलाई नियालौं, मुम्बईको विमानस्थलमा मैले शुक्रबार खिचेको ।

विज्ञापन सफ्टवेयर कम्पनी र्‍याम्को र डाबरको हो ।

अन्धाधुन्द फोटोशप गरी समुद्र वार–पारका हिमालको मिसावट इमेज प्रस्तुत छ, एक तपस्वीको आकारसँगै । 

अझै नजिकबाट नियालौं– बायाँपट्टिको चुचुरो र छेउको मझौला चुचुरोसँग मिल्दोजुल्दो जोडी दायाँपट्टि देखिन्छ ।

के होला यस्तो ?

हो त के भने बायाँपट्टिको चुचुरो धौलागिरि र छेवैको सेतो हिमाल हो थाकखोलाको टुकुचे गाउँ माथि पर्ने टुकुचे । अनि उस्तै दाहिनेको इमेज चाहिं फोटोशप प्रयोगद्वारा अर्कै जस्तो देखाउन खोजिएका उही धौलागिरि र टुकुचे हिमाल !

हिमालै हिमालको देश हो, नेपाल । तर हिमाल चिन्ने जमर्को हामी गर्दैनौं र पनि यस्ता अनेकन् अनर्थ हुने गर्छन् ।

सबै चुचुरा चिन्नुपर्छ भन्ने होइन र यो सामान्य ज्ञानको प्रतियोगिता पनि होइन ।

मात्र यत्ति— हिमाली शृंखलाले हाम्रो मुलुकलाई संसारकै उत्कृष्ट बनाइदिएकोमा पर्वत र पर्वत शृंखलाबारे अलि बढी जान्न खोजे राम्रो र रमाइलो ।

किनभने हेर्दा हिमाल ठिङ्ग उभिएको मात्र देख्दछौं, तर हिम र चट्टानबाट बनेका यी धरोहरमा इतिहास, भूगर्भ, संस्कृति मिसिएको छ ।

आधुनिक युगमा विभिन्न पश्चिमा पर्वतारोही तथा ‘एक्स्प्लोरर’ हरूको लिखतले यी चुचुरो र शृंखलालाई अझै रोमाञ्चक बनाइदिएको छ ।

नेपाल हिमालयका पर्वतहरू एउटै अटुट शृंखला नभई ठूला नदीहरूले छुट्टाछुट्टै गरिदिएका छन् ।

जस्तै पूर्वको कञ्चनजङ्गा र सगरमाथा (चोमोलोङ्गमा) सहितको महालंगुर हिमाललाई अरुण र तमोर नदीले अलग–अलग गराइदिएका छन् ।

गौरीशंकर (छिरिङ्गमा) लगायतको रोल्वालिङ्ग शृंखला र काठमाडौं उपत्यकाको उत्तरमा पर्ने जुगल हिमाल शृंखलालाई भोटेकोशीले अलग गराइदिएको छ भने लाङटाङ र गणेश हिमाललाई त्रिशूली नदीले ।

कञ्चनजङ्गादेखि गणेश हिमाल शृंखलाका मध्यभागसम्म उत्तरी नेपालको हिमालय पानीढलो नेपाल–तिब्बत/चीन सिमाना बन्दछ । यहाँदेखि पश्चिमतिर लाग्दा भने हिमशृंखला उत्तरपट्टिको क्षेत्र पनि नेपालभित्रै पाउँछौं ।

नेपालको बनोट यस्तो छ कि सिमाना उत्तर–पश्चिम लम्कन्छ भने हिमशृंखला पश्चिम । यसैले गर्दा सुम् (छेकम्पार), लार्के भोट, मनाङ, मुस्ताङ, उत्तरी डोल्पो ‘तिब्बती पठार’ को हिस्सा भएर पनि नेपालमै पर्छन् ।

अर्बाैं वर्षको भूगर्भ उत्पत्तिले नेपाल हिमालयलाई अजब–गजबको राष्ट्रिय सम्पत्ति बनाइदिएको छ ।

पहिला दक्षिणएशियाली उपमहाद्वीप अफ्रिकाको हिस्सा थियो, उछिट्टिएर एशियासँग ठोक्किन पुग्यो र यस चट्टानी संघर्षबीच हिमालय शृंखला उठ्यो । शृंखला बढ्दै जाँदा नदीले भने चिर्दै गए ।

एकातिर संसारकै ठूला पर्वत, अर्कोतिर संसारकै गहिरा खोंच । हिमाल र नदीको सम्बन्ध अभिन्न छ ।

काठमाडौंबाट पोखरा जाँदा ठाउँठाउँमा त्रिशूलीलाई उत्तरबाट भेट्ने अन्य नदीहरूको संगम पुग्दा पनि उँभो रहेको हिमालको सन्देश बोकेर आउँछन् ।

पहिला त लाङटाङ र गणेश हिमाललाई अलग बनाउने त्रिशूली नदीले पृथ्वी राजमार्गलाई गल्छीमा भेट्छ ।

अगाडि बढ्दै जाँदा बेनीघाटमा बूढीगण्डकी भेटिन्छ, जो गणेश र गोरखा हिमाल (मनास्लु, बौद्ध, हिमालचुली) बीच बग्दै आएकी छन् ।

अझ पश्चिम लाग्दा मुङलिङटारमा उत्तरबाट मस्र्याङ्दी आउँछिन्, अन्नपूर्ण हिमाल र गोरखा हिमाल छिचोल्दै ।

यी हिमालबीचका उपत्यकाहरूमा पद्मसंभवले (वर्तमान पाकिस्तानको स्वाट क्षेत्रबाट आएर) बौद्ध धर्मको प्रचार गरेथे ।

यी हिमालमुनिका उच्च उपत्यकाहरू हिमाली आध्यात्मको केन्द्रविन्दु भएर ‘बेयुल’ क्षेत्र बने– विपत् र तनावको क्षेत्रबाट आएर आश्रय लिने थलो ।

आधुनिक युगको शुरुआत (सात सालको सेरोफेरो) मा पश्चिमाहरूको पर्वतारोहण र ‘एक्स्प्लोरेशन्’ को केन्द्रविन्दु बन्यो नेपाल ।

राणाकालमा त तिब्बत खुलिसक्दा पनि यो मुलुक बन्दै थियो । सन् १९२२ मा सगरमाथा/चोमोलोङ्गमाका प्रख्यात पर्वतारोही जर्ज लेह् म्यालोरी दार्जीलिङहुँदै उत्तरको टिंग्री फाँट पुगे, अनि रोङ्गबुक गुम्बाको बाटो गर्दै सगरमाथाको पश्चिमपट्टिको उच्च भन्ज्याङ ल्हो ला पुगे ।

त्यताबाट उनले त्यतिबेलासम्मको ‘फर्बिडन किङडम’ तर्फ आँखा डुलाए अनि आफ्नो डायरीमा लेखे– ‘आज मैले दक्षिणपट्टि नेपालमा अनगिन्ती हिमालहरू देखें र सोचें, यी हिमशिखर कसले, कहिले चढ्ने होलान् ?’

उत्ति नै खेर म्यालोरीले नजिकै पिरामिड आकारको शिखर खूब मन पराएर आफ्नी छोरीको नाम क्लेरबाट नामकरण गरिदिए– ‘क्लेर पिक’ ।

दार्जीलिङबाट उनका साथमा गएका पर्वतारोही शेर्पाहरूले आफ्नै भाषामा नामकरण गरिदिए– पुमोरी (छोरी चुचुरो) ।

हिमाली पर्वत, हिमाली उपत्यका र हिमाली नदीहरूको गाथा यिनीहरू जत्तिकै उच्च र गहिरो छ । जति जान्यो उत्तिकै सिक्न बाँकी ।

जति पढ्यो उत्तिकै पढ्न बाँकी । यो गजबको राष्ट्रिय खजाना भण्डार हो, जसबाट आनन्द (र फाइदा पनि) लिन सकिन्छ । त्यसका लागि शुरु कामै हो चुचुरो विशेष तथा विभिन्न शृंखलाहरूको चिनारी बटुल्नु । कालो अक्षर भैंसी बराबर भन्दै सेता हिमालको अपहेलना गर्नु त भएन नि !

यिनै हुन् थातथलोबाट टाढा बम्बईको विमानस्थलमा भित्ते विज्ञापन देख्दा मनमा उब्जेका कुरा ।

हिमाल चिनारीको खाँचोबारे दशकौं अगाडिदेखि नै लेख्दै आएको छु । र, हिमशिखरबारे आम चासो नबढेसम्म शायद लेखिनै रहनेछु ।

प्रतिकृया दिनुहोस