समाचारमंगलवार, पौष १८, २०७४

अब ‘डे वाक्’

सविना देवकोटा

कामकाजीका लागि दिउँसो हिंड्ने कुरा अव्यावहारिक जस्तो लागे पनि बढ्दो प्रदूषण र चिसोका कारण उपत्यकावासीका लागि ‘डे वाक्’ स्वस्थकर मानिएको छ।

किरणदत्त तेवारी

ललितपुरका किरणदत्त तेवारी (६६) सकेसम्म गन्तव्यमा हिंडेरै पुग्छन् । हिंड्दा शरीर फूर्तिलो हुनुका साथै मधुमेह नियन्त्रणमा पनि सहयोग पुगेको उनको भनाइ छ ।

हिंड्दा भेटिने कुचिकार, सडकमा पोलेका मकै बेच्ने व्यापारी जस्ता विभिन्न पात्रसँगको संवादले आनन्द आउने बताउँदै उनी भन्छन्, “हिंड्दाहिंड्दै थुप्रै साथी बनेका छन् ।

” बाल्यकालमा तनहुँबाट चितवन, काठमाडौंबाट दोलखाको जिरीसम्म हिंडेरै यात्रा गरेका तेवारीलाई हिंड्न सहज पनि लाग्छ । “घरमा गाडी नभएको होइन, तर हिंड्नै रमाइलो लाग्छ”, उनी भन्छन् । 

हाँडीगाउँ, काठमाडौंका सञ्चारकर्मी रघु मैनाली पनि हत्तपत्त सार्वजनिक यातायात चढ्दैनन् । तीन दशकदेखि यही जीवनशैली अपनाएका उनका लागि रत्नपार्क, अनामनगर र पुतलीसडक सधैंको पैदल दूरी हो ।

हिंडेकै कारण राति आनन्दसँग निद्रा लाग्ने गरेको बताउँदै उनी मानसिक रुपमा स्वस्थ रहन पनि हिंड्नु जरुरी रहेको तर्क गर्छन् । पूर्वी पहाड तेह्रथुममा जन्मिएका मैनाली गाउँमा उकाली–ओराली गरेकै कारण पनि हिंड्न सजिलो भएको बताउँछन् ।

“पहिले करले हिंडिन्थ्यो, अहिले बुझेर हिंडिन्छ”, उनी भन्छन् ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई स्वास्थ्यका लागि दिनहुँ खल्खली पसिना आउने गरी ३० मिनेट हिंड्नैपर्ने बताउँछन् ।

तर, जाडोमा रक्तनलीहरू खुम्चने हुँदा हृदयघातको जोखिम बढ्ने भएकाले ‘मर्निङ वाक्’ र कसरत नगर्न सुझाव दिन्छन् । “चिसोमा फोक्सोलाई मुटुसँग जोड्ने पल्मोनरी आर्टरीमा अत्यधिक प्रेसर हुने र रक्तनली फुट्न सक्ने जोखिम पनि हुन्छ”, डा. भट्टराई भन्छन् ।

वरिष्ठ फिजिसियन डा. अर्पणा न्यौपाने शहरमा बिहानीपख अत्यधिक प्रदूषण हुने हुँदा मर्निङ वाक् नगर्न सल्लाह दिने गरेको बताउँछिन् ।

“बिहानको साटो दिउँसोमा हिंड्न प्रोत्साहित गर्ने गरेका छौं”, डा. न्यौपाने भन्छिन् ।

नारायण वाग्ले

प्रदूषणको प्रहार
जाडोयाममा हावा नचल्दा र चिसोका कारण एकै ठाउँमा हुने धूलोका अदृश्य कणहरूले वायुमण्डललाई अत्यधिक प्रदूषित बनाइरहेको हुन्छ ।

वातावरणविद् भूषण तुलाधर पीएम् २.५ भनिने यस्ता कणहरूको आकार कपालको टुप्पोभन्दा तीसौं भाग सानो हुने बताउँछन् । पीएम् २.५ मा सल्फेट, नाइट्रेट र कार्बन मोनोअक्साइड जस्ता रसायन हुन्छन् । त्यस्ता रसायन मिश्रित धूलोका कण सास लिंदा सोझै फोक्सोमा पुग्छन् ।

जाडोमा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिनुको कारण यो पनि भएको चिकित्सक बताउँछन् । विशेषगरी पीएम् २.५ कण डिजल, पेट्रोलबाट चल्ने सवारी साधन, भान्सा, काठ, दाउराबाट निस्कने धुवाँबाट जम्मा हुने गर्दछ ।

सोसाइटी फर लिगल एन्ड इन्भारोमेन्टल एनालाइसिस एन्ड डेभलपमेन्ट (लिडर्स) नेपालका महासचिव धिरज पोखरेल हावामा पीएम् २.५ को मात्र बिहानीपख सबैभन्दा बढी हुने बताउँछन् ।

त्यसमाथि पनि झन् जाडोमा चिसो र हुस्सुका कारण बिहान यस्तो कण तुलनात्मक रुपमा उच्च हुन्छ । उनी भन्छन्, “त्यसैले पनि बिहान नौ/दश बजेसम्म हिंडडुल नगर्न भनिएको हो ।”

गत वर्षको २९ पुसमा काठमाडौं उपत्यकाको पीएम् २.५ बिहान ९:३० बजेदेखि ९:४५ बजेसम्मको समयमा ३०४ माइक्रोग्राम प्रति घनमिटरसम्म पुगेको पोखरेल बताउँछन् ।

उनका अनुसार गत वर्षको भदौ महीनामा ६५ माइक्रोग्राम प्रति घनमिटर देखिएको पीएम् २.५ को मात्रा पुस महीनामा बढेर १३७ माइक्रोग्राम पुगेको थियो । यो तथ्यांकले जाडो मौसम लाग्दै जाँदा हावामा प्रदूषित धूलोको मात्रा पनि बढ्दै जाने गरेको प्रमाण पेश गर्छ ।

पीएम् ग्राफको अध्ययन गर्ने हो भने प्रदूषणको दृष्टिकोणले पनि बिहानको समयमा भन्दा दिउँसो र बेलुकीपखको समयमा हिंड्नु लाभदायी देखिन्छ । (हे. तालिका तल)

 

सत्यमोहन जोशी

हिंडन्ते पुस्ता
संस्कृतिविद् सत्यमोहन जोशी (९७) र पत्रकार नारायण वाग्ले (४९) दुई फरक पुस्ता र पेशाका व्यक्तित्व हुन् । तर, उनीहरूमा एउटा समानता छ– दुवै हिंडुवा हुन् ।

ललितपुरस्थित बखुम्बहाल पुख्र्यौली घर भएका जोशी यो उमेरमा पनि ठम्ठमी हिंडिरहेकै भेटिन्छन् । घरबाट काठमाडौं, रानीपोखरीस्थित दरबार हाइस्कूल आतेजाते गर्दा उनी हिंडेरै गर्थे । त्यही हिंडाइले आफूमा हिंड्ने बानी विकास भएको उनी बताउँछन् ।

अहिले पनि जोशी कतिपय कार्यक्रमहरूमा हिंडेरै पुग्छन्, जहाँ अधिकांश सवारी साधनको सहारा बेगर आउने आँट नै गर्दैनन् । दिउँसो हिंड्ने भएकाले व्यायामका लागि सबेरै कतै जाँदैनन् ।

बरु, बिहान खाली खुट्टा दुबोमा हिंड्छन् । पैदल यात्राको थकाइले निद्रा पनि मीठो लाग्ने जोशीको अनुभव छ । “पहिलेदेखि हिंडेकै कारण पनि यतिका वर्ष रोग नलागी सक्रिय जीवन बाँचिरहेको जस्तो लाग्छ”, उनी भन्छन् ।

तनहुँमा जन्मिएका वाग्लेको हिंडाइ सिकाइ नभई हुर्काइ थियो । गाउँबाट काठमाडौं आएपछि क्याम्पस र पत्रकारिताका क्रममा पनि हिंड्नैपर्ने भयो । रिपोर्टिङमा उनी हिंडेरै पुग्थे ।

जिम्मेवारी थपिंदै जाँदा सहज यात्राका लागि कार पनि उपलब्ध थियो । तर, कारको बन्द झ्यालभित्र उनलाई उकुसमुकुस हुन्थ्यो । कार छोडेर उनी हिंड्न थाले ।

कान्तिपुर दैनिकमा कार्यरत हुँदा थापाथलीदेखि म्हैपीसम्म (करीब ६ किमि) राति पनि हिंडेरै पुग्थे । अहिले ललितपुरको सुनाकोठीदेखि सानेपास्थित सेतोपाटी डटकम को कार्यालय (करीब ८ किमि) पनि हिंडेरै आउजाउ गर्छन् । “औसतमा दैनिक १५ किलोमिटर हिंड्छु, बेग्लै जुत्ता र लुगा झोलामा बोक्छु”, उनी भन्छन् ।

वाग्ले हिंडाइले शारीरिक भन्दा मानसिक स्वास्थ्यका लागि फाइदा गरेको बताउँछन् । “म हिंड्दाहिंड्दै सोच्छु, सोच्दासोच्दै हिंड्छु, अब त हिंड्ने बानी नै भइसकेको छ”, वाग्ले भन्छन् ।

असुरक्षित सडक

त्यसो त नागरिकले हिंड्ने रहर गरेर मात्र नहुने भएको छ । राजधानीका सडक र गल्लीहरूमा बढेका सवारी साधनले हिंड्ने ठाउँ नै राखेका छैनन् । ट्राफिक अव्यवस्था पनि लथालिङ्ग नै हुन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशी उहिले बाटो खुला हुँदा जता पनि हिंडेरै जान सम्भव भएको तर अहिले बढ्दो सवारीका कारण डर लाग्ने गरेको बताउँछन् ।

“हिंड्दा धेरै कुरा विचार गर्नुपर्ने भएको छ, जोखिम बढेको छ”, उनी भन्छन् । पत्रकार नारायण वाग्ले अव्यवस्थित शहरीकरणले राजधानी असभ्य बन्दै गएको बताउँछन् । “त्यस्तो कुनै पनि दिन हुँदैन, जहाँ कुइनो नठोक्किई घर पुग्न सकियोस्”, उनी भन्छन् ।

उनी गुनासो गर्छन्, “सरकार वृद्धभत्ता बढाउँछु भन्छ तर, उनीहरूलाई स्वस्थ रहन टेवा पुग्ने पदमार्ग, स्वच्छ वातावरण बनाउँछु भन्दैन ।”

प्रतिकृया दिनुहोस