टिप्पणीसोमवार, पौष १७, २०७४

एमाले–माओवादी एकता राजनीतिक आस्था वा सत्ताप्राप्तिको अभीष्ट ?

शेखर खरेल

दुई कम्युनिष्ट घटकबीचको एकता अस्वाभाविक होइन । तर, यो एकता बलियो कम्युनिष्ट पार्टी गठनमार्फत राजनीतिक स्थायित्व दिने उद्देश्यले प्रेरित छ, वा यसको अन्तर्य सत्ता प्राप्ति मात्र हो, गाँठी प्रश्न नै यही हो ।

‘वनले नचिनेको बाघ र बाघले नचिनेको वन हुँदैन’– यो आहानलाई विषय वा प्रसंगमा मेल खाने गरी भन्ने हो भने, यतिबेला ‘केपी ओलीले नचिनेका पुष्पकमल दाहाल होइनन्, पुष्पकमलले नचिनेका केपी होइनन् ।’ यी दुई भुक्तमान हुन्, एक–अर्काका चरित्रका ।

पछिल्लो दुई दशकमा केपी ओलीले वचन–बाण माओवादी भन्दा बढी शायदै अरूलाई हाने होलान् । केपीको अर्थ ‘खड्गप्रसाद’ भए पनि माओवादीका लागि उनी ‘खड्गप्रहार’ जस्ता बनिदिए । ओलीका माओवादीप्रतिका कटाक्ष सूची निर्मम र अन्तहीन छन् ।

माओवादीको ‘जनयुद्ध’ लाई सैद्धान्तिक भूल मान्ने ओलीले माओवादीको शान्ति प्रक्रियाको आगमनलाई पनि रुचाएनन् । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीलाई प्रत्यक्षतर्फ प्राप्त जनादेशलाई उनले जनताको भूलको संज्ञा दिंदै जनता छिट्टै पछुताउने प्रतिक्रिया दिए ।

निर्वाचनमा माओवादीलाई प्राप्त सफलतालाई उनले वनमारा झार र एमालेलाई प्राप्त झिनो समर्थनलाई पीपलको विम्बमा उतार्दै भने, “वनमारा झार ६ महीनासम्म झाङ्गिन्छ, तर ६ महीनापछि त्यसलाई पीपलले उछिन्छ । माओवादी वनमारा र एमाले पीपल जस्तै हो ।”

बुलेटबाट ब्यालेटमा आइपुगेको माओवादीको अवस्थालाई ओली चुँडिएको चङ्गासँग तुलना गर्दथे । “त्यो चङ्गा चुँडिइसकेको छ” उनी अन्तर्वार्ताहरूमा भन्ने गर्दथे, “कुरा अब त्यो धागोबाट छुट्टिएको चङ्गा कहाँ खस्छ भन्ने मात्र हो ।”

मुलुकमा राजनीतिक संक्रमण लगभग टुङ्गिइसकेको र शान्ति प्रक्रियाको संभवतः अन्तिम गाँठो अर्थात् युद्धकालीन अपराध संक्रमणकालीन न्यायको सिद्धान्त मातहत निरुपण हुन बाँकी रहेको बेला ओलीले त्यो चङ्गा झर्नु पूर्व नै आफ्नो लट्टाइमा बाँधिदिने प्रयत्न गरेका छन् । एमालेको लट्टाइमा माओवादीको चङ्गा कस्तो गाँठोद्वारा बाँधिनेछ, र त्यसले फेरि कसरी उडान भर्नेछ ? त्यो अब हेर्नुछ ।

ओलीले कुन शिल्प र शक्तिका साथ चङ्गा उडाउलान् ? कहिले उत्तरी त कहिले दक्षिणी हावामा कावा खाने त्यो चङ्गा कतिन्जेल ओलीको वशमा रहला ? जिज्ञासा कम छैनन् ।

भनिन्छ, राजनीतिमा स्थायी शत्रु हुँदैनन् । यदि यो भनाइ असत्य हुन्थ्यो भने ओली र दाहालको मेल कदापि सम्भव थिएन । तर, राजनीति आस्थाका आधारमा गरिन्छ, वा त्यो फगत आवश्यकता अनुसार हुन्छ, यो भने अहम् प्रश्न हो ।

माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई जब दाहालले समर्थनको बैसाखी झिकिदिए, नराम्ररी तिर्मिराए । त्यस उप्रान्त त नेपाली कांग्रेस र माओवादी केन्द्र बीचको सत्ता साझेदारी र स्थानीयतह निर्वाचनको तालमेलको सबैभन्दा ठूला आलोचक ओली नै रहे ।

दाहाल पुत्री रेणु दाहालको भरतपुर महानगरपालिका मेयरको उम्मेदवारीप्रति कांग्रेसले दिएको समर्थन उपर ओलीले आफ्नो ट्रेडमार्क कटाक्ष प्रहार गर्दै भने, “यी कांग्रेसीहरूले आफ्ना ढाडका सुम्ला बिर्सिए जस्ता छन् ।”

युद्धकालमा माओवादीले केवल कांग्रेसीहरूका ढाडमा मात्र सुम्ला उठाएका होइनन् । उसको प्रहारमा कांग्रेसी भन्दा पनि सगोत्री एमाले नै बढी परेका थिए । शायद ओलीलाई आफ्नै ढाडमा सुम्ला नउठेकाले माओवादीसँगको चुनावी गठबन्धन सत्ताको मीठो सपना झैं लागेको हुन सक्ला, तर माओवादीबाट मारिएका एमालेका यदु गौतमहरूका परिवारजनले गठबन्धन र पार्टी एकीकरणलाई कसरी लिने हुन् त्यो आगामी दिनमा देखिनेछ ।

त्यसो त तत्कालीन मालेको झापा विद्रोह जस्तै ‘जनयुद्ध’ नामको सशस्त्र द्वन्द्वबाट प्रकारान्तरमा संसदीय अभ्यासमा आएको माओवादी र एमालेबीच कुनै सैद्धान्तिक भिन्नता देखिंदैन । दुवैको राजनीतिक यात्राको उद्भव विन्दु सर्वहारावर्गको अधिनायकवाद हो, तर दुवै दल अहिले पूँजीवादका हिमायती बनिसकेका छन् ।

यस दृष्टिले हेरिंदा यी दुई कम्युनिष्ट घटकबीचको एकता अस्वाभाविक होइन । तर, यो एकता बलियो कम्युनिष्ट पार्टी गठनमार्फत राजनीतिक स्थायित्व दिने उद्देश्यले प्रेरित छ, वा यसको अन्तर्य सत्ता प्राप्ति मात्र हो, गाँठी प्रश्न नै यही हो । यसप्रति सन्देह गर्ने ठाउँ पनि प्रशस्त छन् ।

सदाबहार संशय
निर्वाचनको अभियानसम्म ओली र दाहालबीच देखिएको निकटता चुनावी परिणामपश्चात दूरीमा बदलिंदैछ । यता एमालेभित्रका ओली पक्षधर उनलाई (एकीकरणपछिको) पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछाड्न दबाब दिइरहेका छन् । उता दाहाल स्वयं र उनका पक्षधर दुई शीर्ष नेताबीच आलोपालो सरकार चलाउने भद्र सहमति भइसकेको दाबी गरिरहेका छन् ।

अविश्वास र आशंकाकै कारण चुनावलगत्तै प्रारम्भ हुने भनिएको पार्टी एकतामा शिथिलता आएको छ । माओवादीका कतिपय नेता–कार्यकर्ता त कुनै हालतमा एमाले हुन नसक्ने बताउँदै विद्रोहको तयारी पनि गरिसकेका छन् ।

निर्वाचन पूर्व माओवादी केन्द्रको समर्थन बेगर पार्टीलाई बहुमत प्राप्त हुन नसक्ने आकलन संभवतः ओलीलाई हुनुपर्छ । उता स्थानीय निर्वाचनमा कन्तविजोक माओवादी केन्द्रले पनि गठबन्धनबाट मात्रै अस्तित्व रक्षाको सम्भावना देखेको हुनुपर्छ । निर्वाचन परिणाम पनि दुई दलको अपेक्षा बमोजिम नै देखिएको छ । जनादेश वाम गठबन्धनतर्फ गएको छ ।

राजनीतिलाई आस्था भन्दा पनि सत्ताप्राप्तिको अभीष्टमा सीमित राख्ने हो भने कम्युनिष्ट घटकहरू मिलिरहनु जरूरी छैन । अर्थात्, ओली र दाहालको बेमेलबाट पनि बहुमतको सरकार गठन हुन सक्छ । सत्ता राजनीतिका माहिर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दाहाललाई सरकार हाँक्ने प्रस्ताव गरिसकेका छन् ।

उता, संघीय समाजवादी फोरम, नेपालको समर्थनबाट एमालेले सरकार बनाउने भित्री तयारी गरेको आशंका दाहालले प्रकट गरेका छन् । यी अविश्वासको सन्देश हो, एमाले र माओवादी आस्था भन्दा पनि आवश्यकताबाट निर्देशित छन् र अविश्वासको जगमा निर्माण हुने एकीकरण दिगो हुन सक्दैन ।

आज ओली र दाहालको मनोदशा ‘जोगी देख्दा भैंसी र भैंसी देख्दा जोगी तर्सिने’ भने जस्तो छ । अवसर र उपयोगिताको राजनीतिमार्फत यहाँसम्म आइपुगेका दाहाललाई ओली भन्दा राम्ररी चिन्न सक्ने अरू कोही हुन सक्दैनन् ।

यसैगरी, कुनै बेला गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस चलाए झैं एमालेको लगाम पूरै आफ्नो हातमा लिएका ओलीको सत्तारोहण र पार्टी एकीकरणपछिको रवैया दाहालले नबुझ्ने त कुरै रहेन ।

संविधान जारीसँगै प्रधानमन्त्री बनेका ओलीले देशभरबाट तुइन हटाउने पहिलो निर्णय गरेका थिए । निर्णय गरेको नौ महीनामै दाहालकै प्रतापका कारण उनी हटे तर तुइन हटेन ।

भर्खर मात्र पनि दाहालले पार्टी एकीकरणका निम्ति एमाले र माओवादी केन्द्रका बीच सबै पुल भत्काइसकिएको बताएका छन् । पुल भत्किसकेको अवस्थामा बाँकी रहेको तुइन मात्र हो । त्यसैले, आउने दिनहरूमा उनीहरूले यात्रा गर्ने भनेको ठोरी–केरुङ जोड्ने रेल होइन, यही तुइनबाटै हो ।

प्रतिकृया दिनुहोस