टिप्पणीआइतवार, पौष १६, २०७४

ओलीबाट अपेक्षा

विष्णु रिजाल

नौ महीना प्रम हुँदा केपी ओलीले जनतामा आशा जगाउने काम गरे । त्यसले उनलाई एमाले पार्टीबाहिर पनि स्थापित गरायो । विकास भनेको पुल, कुलो, बाटो, नहर, स्कूल बनाउने नियमित प्रक्रिया मात्र होइन भन्ने कुरा ओलीले आफ्नो कार्यकालमा देखाएका छन् ।

केपी शर्मा ओली । तस्वीरः बिक्रम राई

कमजोर स्वास्थ्यस्थितिका बीचमा पार्टी अध्यक्ष निर्वाचित भएपछि १ साउन २०७१ मा आयोजित शपथग्रहण समारोहमा केपी ओलीले ‘मसँग समय कम छ’ भन्दा धेरैका आँखा रसाएका थिए ।

त्यसयता उनलाई स्वास्थ्यले जति राम्ररी साथ दिएको छ, त्यसभन्दा राम्ररी राष्ट्रिय राजनीतिले साथ दिएको छ । कतिसम्म भने, नेकपा (एमाले) भन्दा बाहिरको जनमत र अन्य दलका कार्यकर्तामा समेत ओलीले केही गर्छन् भन्ने विश्वास पलाएको छ ।

हालैको निर्वाचनमा ओली नै केन्द्रमा थिए । एक दिनमा पाँच जिल्लाका सभा भ्याउने एक्लो नेता ओलीलाई हेर्न र सुन्न ओइरिने जनसमूहको मनोविज्ञान उनले पाँच वर्ष मुलुकको नेतृत्व गरेको हेर्न चाहने छ ।

यसलाई ध्यानमा राखेर दुई कम्युनिष्ट पार्टीबीच एकता र सत्ता–समीकरण हुनु जनादेशको मर्म र मुलुकको हितमा छ । ‘रोम एक रातमा बनेको होइन’ भने जस्तै एमालेका अध्यक्ष ओलीको व्यक्तित्व पनि एकाएक बनेको होइन । यो व्यक्तित्व बनाउन उनी पार्टी अध्यक्ष भएपछिका पाँचवटा घटनाले महत्वपूर्ण भूमिका खेलेका छन् ।

संविधान निर्माणमा नेतृत्व
एमाले अध्यक्षको पदभार ग्रहण गर्दा ‘समय कम छ’ भने पनि ओलीले प्रधानमन्त्री बन्न हतार गरेनन् । २०७२ को शुरूमा नेपाली कांग्रेस र एमालेको गठबन्धन टुटाएर नेकपा (माओवादी केन्द्र) को सहयोगमा प्रधानमन्त्री बन्न आएको प्रस्ताव उनले अस्वीकार गरे । फलस्वरुप, एमाले–कांग्रेस सहमति भाँडिएन, बरु संविधान जारी गर्न २५ जेठ २०७२ मा १६ बुँदे सहमति भयो र त्यसैमा उभिएर ३ असोजमा संविधान जारी भयो ।

संविधान जारी गर्दा प्रधानमन्त्री सुशील कोइराला थिए भने ओली सांसद् मात्र । तर, संविधानको पक्षमा लिएको अडान र गरेको पहलका कारण यसको ठूलो श्रेय ओलीलाई गयो । संविधान जारी हुन नदिन आउने भारतीय अधिकारीहरूको गन्तव्य बालकोट हुनुले पनि शक्तिको नाभी त्यहीं सरेको आभास सबैतिर भयो ।

कुनै हालतमा राष्ट्रियता कमजोर हुन नदिन ओलीले राखेको अडानको मधेशकेन्द्रित दल र दक्षिणका मित्रबाहेक सबैले खुलेर प्रशंसा गरे । नेपाली कांग्रेसका नेता–कार्यकर्ता समेत कतै ओलीले अडान छाडिदिने हुन् कि भन्ने चिन्ता प्रकट गर्थे ।

आयातीत ‘अजेन्डा’ का अघिल्तिर नझुक्ने, आफ्नो संविधान आफैं बनाउने अडानबाट उनलाई संविधान निर्माणमा नेतृत्व गरेको श्रेय मिल्यो । संविधान जारी भएलगत्तै संशोधनका लागि गरिएको आन्दोलनसामु नझुकेका कारण अरू नेताभन्दा बढी स्वामित्व स्वतः ओलीका भागमा प¥यो । जुन संविधान अनुसार मुलुक चल्दैछ, त्यसमा त्यति धेरै स्वामित्व स्थापित भएका ओली नै अबका नेता हुन् भनेर बुझ्न जनसाधारणलाई गाह्रो परेन ।

नाकाबन्दीको दृढ सामना
२५ असोज २०७२ मा ओली सिंहदरबार प्रवेश गर्दा मुलुक चरम संकटमा थियो । नेपालले आफैं संविधान जारी गरेका कारण असन्तुष्ट भारतले सबै नाका बन्द गरेर हाहाकार मच्चाएको थियो । अत्यावश्यक वस्तुहरूको अभावमा आक्रान्त मुलुकको नेतृत्व गर्दैगर्दा ओली हड्बडाएनन् ।

कूटनीतिक च्यानलमार्फत समस्या समाधान गर्न उनले भारतसँग सुमधुर सम्बन्ध भएका कमल थापालाई परराष्ट्रमन्त्री बनाए । नाकाबन्दी नहटेसम्म भारत भ्रमण गर्दिनँ भन्ने अडानले उनलाई भारतका सामु थरथर काँप्ने औसत नेपाली नेताभन्दा फरक बनाइदियो ।

प्रधानमन्त्री हुनुअघिसम्म ओली भारतप्रति अरूभन्दा बढी संवेदनशील नेता मानिन्थे । महाकाली सन्धियता खेलेका भूमिका र भारतीय संस्थापनसँगको सम्बन्धका आधारमा उनलाई दक्षिणको विश्वास प्राप्त भएको मानिन्थ्यो ।

नाकाबन्दीका बेला भने ओलीले यस्तो अडान राखे कि भारतीय सञ्चारमाध्यमहरूमा उनी भारतविरोधीका रूपमा चित्रित भए । त्यसले देशभित्र ओलीको व्यक्तित्वमा कायाकल्प गर्‍यो । प्रधानमन्त्रीको कुर्सीमा बसेर दिएका साहसपूर्ण अभिव्यक्तिहरूले नेपालमा उनको लोकप्रियता चुलियो । र अवस्था यस्तो आयो, अब सम्बन्ध सहज नबनाई हुँदैन भन्ने नयाँदिल्लीमा पर्‍यो ।

अन्ततः नाकाबन्दी निःशर्त खोलियो र प्रधानमन्त्री ओलीलाई भारतमा राजकीय सम्मानका साथ स्वागत गरियो । त्यसले उनको व्यक्तित्वलाई थप उजिल्यायो ।

चीनसँग दूरगामी सम्झौता
भारतले नेपालको भूपरिवेष्ठित अवस्थाको गलत फाइदा उठाएको अनुभूति भइरहेको बेला प्रम ओलीले चीनसँग पारवहन सम्झाैता गरे । नेपालले आफ्नो सुविधाका लागि चीनको पनि बन्दरगाह प्रयोग गर्न पाउने सम्झौताले व्यावहारिक रूप कति लिन्छ, आफ्नो ठाउँमा छ, तर त्यसले दुवै छिमेकीसँग नेपाललाई समनिकटतामा पुर्‍यायो । साँचो अर्थमा सार्वभौम मुलुकले छिमेकीसँग आफूले चाहे अनुरूपको सम्बन्ध राख्न सक्छ भन्ने सन्देश पनि प्रवाहित भयो ।

राजा महेन्द्रको पालामा कोदारी राजमार्ग बनेपछिको दोस्रो महत्वपूर्ण खुट्किलाका रूपमा यस घटनालाई लिइनुले ओलीको बेग्लै छवि निर्माणमा सघाउ पुग्यो । चीन भ्रमणका बेला उनले पाएको महत्व कसैबाट छिपेन । त्यो देखेका भारतीय सञ्चारमाध्यमहरूले ओलीलाई भारतविरोधी र चीन समर्थकका रूपमा प्रस्तुत गरेर नेपालमा ओलीका लागि थप सकारात्मक मनोविज्ञान निर्माणमा सघाउ पुर्‍याए ।

समृद्धिको सम्भव सपना
नौ महीना प्रम हुँदा केपी ओलीले जनतामा आशा जगाउने काम गरे । त्यसले उनलाई एमाले पार्टीबाहिर पनि स्थापित गरायो । विकास भनेको पुल, कुलो, बाटो, नहर, स्कूल बनाउने नियमित प्रक्रिया मात्र होइन भन्ने कुरा ओलीले आफ्नो कार्यकालमा देखाएका छन् ।

ओली नेतृत्वको सरकारले नेपालीमा मरिसकेको विकासको सपनालाई पुनर्जीवित गर्दै पूर्व–पश्चिम रेल, तराई जोड्ने द्रूत मार्ग, ठूला खनिज खानी, वर्षौंदेखि अलपत्र हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार, प्रदेशपिच्छे मेडिकल कलेज आफैं बनाउन सकिन्छ भन्ने सकारात्मक भावनाको विकास गरायो ।

असम्भव जस्ता लाग्ने तर गर्नैपर्ने कामहरूको सूची प्रधानमन्त्रीको मुखबाट सुन्दा जनतामा आशा जागृत भयो । महाभूकम्पले थिलथिलो बनाएको अर्थतन्त्रलाई माथि उठाउन त्यतिबेला भएका कामहरू वास्तवमै दूरगामी महत्वका छन् ।

सरकारलाई नीति तथा कार्यक्रम र बजेट नै ल्याउन नदिएर सत्ताबाट हटाउने प्रयासका बावजूद त्यतिबेला भएका कामहरूलाई मानिसहरूले राम्रोसँग बुझेका कारण प्रम ओलीप्रतिको सकारात्मक धारणा वृद्धि भयो । अहिले निर्वाचनमा एमालेले पाएको सफलतामा यस कुराको ठूलो भूमिका छ ।

वाम एकताको नेतृत्व
मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले) सैद्धान्तिक रूपमै लोकतन्त्रीकरणको बाटोमा जाँदा त्यसका प्रबल समर्थकमध्येका एक रहेका केपी ओलीको व्यक्तित्व पार्टीभित्र–बाहिर त्यही अनुरूप बनेको छ ।

लोकतन्त्रका मामिलामा अरूभन्दा बढी मुखर भएकै कारण उनले माओवादीको १० वर्षे ‘जनयुद्ध’ लाई कहिल्यै जनयुद्ध मानेनन् । ‘म पनि पूर्वउग्रपन्थी हुँ’ भन्दै विषयवस्तुमा प्रवेश गर्ने उनले ‘जनयुद्ध’ को निरन्तर आलोचना गरेर आफ्नो अलग धार बनाए । ओलीको तिक्खर अडानलाई माओवादी पीडित जनमतले आफ्नै बोली सम्झियो ।

शान्ति प्रक्रियामा आइसकेपछि पनि माओवादीलाई ओलीले ‘अब झुसिल्कीरालाई पुतली बनाउने’ भन्दै आलोचना गरिरहे । शुरूदेखि नै ओलीप्रति आक्रामक माओवादी पनि विस्तारै उनीसँग नजिक हुन बाध्य भयो र संविधान निर्माणसँगै प्रधानमन्त्री बनाउन तयार भयो, जुन ओलीको ठूलो सफलता थियो । त्यस जगमा निर्मित मित्रता विविध कारणले टुटे पनि आम निर्वाचनको पूर्वसन्ध्यामा कडी जोडियो ।

धेरैलाई आश्चर्यचकित तुल्याएको वाम गठबन्धनलाई अब एउटै पार्टीमा रूपान्तरण गर्ने मोडमा नेताहरू पुगेका छन् । यसको पनि नेतृत्व केपी ओलीले गरेका छन्, जुन एमालेको नेतृत्वमा उनी बाहेक अरू कोही भएको भए सम्भव थिएन ।

निष्कर्षमा के भन्न सकिन्छ भने, ओलीले आफ्ना लागि राजनेता हुने अवसर जुराएका छन् । ओली प्रधानमन्त्रीको घोषित उम्मेदवार थिएनन्, तर आम मानिसमा उनी नै भावी प्रधानमन्त्री हुन् भन्ने परेको छ ।

निर्वाचन अभियानका क्रममा उनी जहाँ, जहाँ गए; त्यहाँ देखा परेको जनलहर र निर्वाचनमा व्यक्त मतले पनि अब मुलुकको नेतृत्व उनैले गर्नेमा कुनै सन्देह छैन । बलियो एकीकृत कम्युनिष्ट पार्टी निर्माण गरेर त्यसको र देशको नेतृत्व गर्दा ओलीको उँचाइ अझ बढ्नेमा शंका छैन ।

आफैंले शुरू गरेको पार्टी एकताका चुनौती के–के छन् र कसरी सल्ट्याउनुपर्छ भन्ने कुरा सबभन्दा बढी केपी ओलीलाई नै थाहा छ । एकता प्रक्रियाका जटिलता, माओवादी पार्टीका संवेदनशीलता र एमालेभित्रको सन्तुलनलाई समेत ध्यानमा राखेर यसलाई निष्कर्षमा पुर्‍याउन सक्दा उनी समकालीन नेपाली राजनीतिमा सबभन्दा अग्लो नेताका रूपमा स्थापित हुनेछन् ।

प्रतिकृया दिनुहोस