त्रिवि दीक्षान्त समारोहमा ८२६७ छात्रछात्रा सहभागी
त्रिभूवन विश्वविद्यालयको आज सम्पन्न त्रिचालीसौँ दीक्षान्त समारोहमा ८ हजार २६७ छात्रछात्रा सहभागी भएका छन् ।
२०७३ असार ३ देखि २०७४ जेठ १७ सम्म त्रिविका विभिन्न अध्ययन संस्थान र संकाय अन्तर्गतका ६० आङ्गिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतीर्ण गरेकामध्ये ८ हजार २६७ जना सहभागी भएका थिए ।
त्यसमध्ये विभिन्न संकायबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने ६२ जना तथा विश्व विद्यालयका विभिन्न संकायतर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उच्चतम अंक ल्याउने ३१ जना छात्रछात्रालाई विभिन्न पदक तथा पुरस्कार प्रदान गरियो ।
मुलुकको उच्च शिक्षामा ८३ प्रतिशतभन्दा बढी योगदान त्रिविबाट हुँदै आएको र अहिले पनि जेहन्दार विद्यार्थीको रोजाइको आकर्षण रहेको त्रिविले दाबी गरेको छ ।
त्रिविले दक्षिण एशियामा नै पहिलो व्याचलर अफ माउन्टेनियरिङ स्टडिज (बिएमएस), विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत एमएस इन माउन्टेन स्टडिज्, वन विज्ञान अध्ययन संस्थानअन्तर्गत एमएस्सी वाइल्ड लाइफ एण्ड वायोडाइभर्सिटी कन्जर्भेशन, मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ मास्टर इन स्पोर्टस् साइन्स र योग विज्ञानमा एकबर्षे डिप्लोमा कार्यक्रम थालनी गरेका पनि सो अवसरमा जानकारी दिइयो ।
त्रिविमा हाल ३ लाख ५० हजार भन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् ।
इन्जिनियरिङ अध्ययन् संस्थान ललितपुरमा सम्पन्न समारोहमा २ हजार २०० विद्यार्थीका अभिभावक र १ हजार २०० भन्दा बढी त्रिवि कर्मचारीको सहभागिता थियो ।
उक्त अवसरमा प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलक र सबै वर्ग समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको बताउँदै विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणीत गर्नेतर्फ आवश्यक ध्यान दिन निर्देशन दिए ।
समारोहका प्रमुख अतिथि भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति जगदीश कुमारले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्ने गरी पाठ्यक्रम तयार गर्नु जरुरी रहेको बताए ।
रासस