टिप्पणीसोमवार, आश्विन १०, २०७३

कुटनीतिक आचरण: कहिले सिक्ने, कसले सिकाउने ?

विष्णु रिजाल

प्रधानमन्त्री पत्नीले भारत भ्रमणमा देखाएको अशोभनीय व्यवहार आलोचित बनिरहँदा हामी कूटनीतिक आचरण सिक्ने र सिकाउने अपरिहार्यतालाई बेवास्ता गरिरहेछौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण (३० भदौ–२ असोज) ताका एक फरक विषयमा चर्चा चुलियो । भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्दा प्रधानमन्त्री पत्नी सीता दाहालले देखाएको भाव–भंगिमालाई लिएर सामाजिक सञ्जालमा कटु टिप्पणी समेत भए ।

मोदीको पछिल्तिर हात बाँधेर उभिएकी सीताको तस्वीर सार्वजनिक भएपछि उनको यस्तो शैली–व्यवहारलाई कूटनीतिक आचरण विपरीत भन्दै चर्को आलोचना गरियो ।

एक ठाउँमा त उनले पतिसँगै एउटै सोफामा बस्दा चप्पल भुईंमा राखेर एउटा खुट्टा सोफामै राखेको दृश्य समेत देखियो ।

मुलुकको कार्यकारी प्रमुखको राजकीय भ्रमणमा प्रथम महिलाबाट प्रदर्शित व्यवहार पक्कै पनि शोभनीय थिएन । तर, सँगै प्रश्न उठ्छ– ग्रामीण परिवेशबाट आएकी प्रधानमन्त्री पत्नीलाई मात्र दोष दिएर हाम्रा संयन्त्रहरू उम्कन पाउँछन् ? राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग जोडिएका परिवारका सदस्यहरूलाई कूटनीतिक आचरण र व्यवहार सिकाउनुपर्दैन ?

प्रधानमन्त्रीको टीममा काम गरेको अनुभवका आधारमा अहिलेसम्म नेपालमा त्यस्तो चलन भएको सम्झना छैन । प्रधानमन्त्री सरकारी निवासमा सरिसकेपछि एक पटक नेपाली सेनाले परिवारका सदस्यहरूले सुरक्षाको दृष्टिबाट के कस्ता सावधानी अपनाउने भन्नेबारे सामान्य ‘ब्रिफिङ’ गर्छ ।

यसबाहेक प्रधानमन्त्रीका परिवारका सदस्यहरूसँग राज्यसंयन्त्रको कुनै संवाद हुने गरेको पाइँदैन । औपचारिक तथा राजकीय भ्रमणहरूमा सहभागी हुने परिवारका सदस्यहरूलाई कस्तो व्यवहार गर्ने र कसरी प्रस्तुत हुने भन्नेबारेमा जानकारी दिने संयन्त्र, अभ्यास नै छैन । सीता दाहाल त्यसकै शिकार बन्नुपर्‍यो ।

कूटनीतिको हुर्मत
कूटनीतिमा कुन बेला कस्तो कपडा लगाउने, कहाँ उभिने र कसरी प्रस्तुत हुनेलगायतका विषयमा स्थापित मानकहरू छन् । पुष्पकमल दाहाल निजी भ्रमणमा गएको भए पत्नीले के गरिन् भन्ने धेरैलाई चासो हुँदैनथ्यो ।

उनी सार्वभौम मुलुकको प्रमुख कार्यकारीको हैसियतमा राजकीय भ्रमणमा भारत गएका थिए । संसारभरका मिडियाको ध्यान त्यहाँ केन्द्रित थियो र त्यसलाई आम नेपालीले नियालिरहेका थिए ।

यस्तो बेला हुने स–साना घटनालाई समेत आम मानिसले गम्भीरतापूर्वक लिन्छन् भन्ने हेक्का भेटघाटमा सरिक हुने र त्यसको चाँजोपाँजो मिलाउने दुवैले राख्न सकेनन् । परिणाम, प्रधानमन्त्री पत्नी आलोचनाको तारो बन्नुपर्‍यो ।

चिनियाँ प्रधानमन्त्री वेन जियावाओ नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शिष्टाचार महापाल मुक्ति भट्टले प्रधानमन्त्री बाबुराम भट्टराईलाई हात समातेरै तानेको घटना चर्चित बनेको थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका बेला ‘सवारीमन्त्री’ का रूपमा मिनेन्द्र रिजालले विमानस्थलमा देखाएको अशोभनीय व्यवहार पनि सर्वत्र आलोचित बन्यो ।

कूटनीतिलाई देशको अनुहार संसारसामु देखाउने आधिकारिक ऐना मानिन्छ । यसको प्रभावकारिता त्यो देशको आर्थिक र सामरिक सामथ्र्यमा पनि निर्भर रहन्छ । तर, कूटनीतिक व्यवहार मुलुकलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूमा निर्भर हुन्छ ।

त्यही भएरै कूटनीतिक क्षेत्रलाई विशेष रूपमा हेरिन्छ र तदनुरूपको व्यवहार हुने अपेक्षा गरिन्छ । हामीकहाँ कूटनीतिमा गरिने सामान्य व्यवहारमा समेत यो हदको खेलाँची पटकपटक दोहोरिइरहेको छ ।

२०६७ सालमा अमेरिकाको वासिङटन जाँदा त्यहाँस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग यस्तै सन्दर्भमा कुरा भएको थियो । विकासका क्षेत्रमा काम गरिरहेको व्यक्ति कूटनीतिमा आइपुग्दा उनलाई सामान्य कूटनीतिक आचरण र व्यवहारमा अभ्यस्त हुन समय लागेको रहेछ ।

राजदूत नियुक्त भएपछि उनलाई कूटनीतिमा गरिने व्यवहारबारे ‘ब्रिफिङ’ होला, केही दिनको सेमिनार नै होला भन्ने अपेक्षा रहेछ । नेपाल छाड्ने दिन नजिकिएपछि एक दिन उनले आफैं त्यसबारे बुझन खोज्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरूबाट जवाफ पाए– ‘डाक्टरसाबलाई हामीले के सिकाउनुपर्ला र !’

देश–विदेशमा उच्च पदमा रहेर काम गरेका डा. शर्माले जसरी यसलाई ‘म्यानेज’ गरे, राजनीतिक नियुक्तिमा सीधै राजदूत बन्नेहरूलाई त्यो सहजता हुँदैन ।

कृषि विकास ब्यांकको कर्मचारी वा पार्टीको कार्यकर्तालाई राजदूत भएर जाँदा एकाएक कूटनीतिक आचरण र व्यवहारको दिव्यज्ञान मिल्दैन ।

देशको राजदूत भएर जाने व्यक्तिलाई के कुरा आवश्यक हुन्छ भन्नेबारे कम्तीमा साताव्यापी प्रशिक्षण दिने व्यवस्था भइदिए परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काम पाउँथ्यो, थोरै सही, मुलुकको कूटनीतिक क्षमतामा योगदान पुग्थ्यो ।

कूटनीतिलाई संसारभर विशिष्टीकृत क्षेत्र मानिन्छ र त्यही अनुसार यो क्षेत्रमा काम गर्ने जनशक्ति तयार गरिन्छ । नेपालमा नै अरू क्षेत्र झैँ कूटनीतिलाई पनि गञ्जागोल र राजनीतिक दाउपेचको मैदान बनाइएको छ ।

सुशील कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अमेरिकाका निम्ति राजदूत माग्न आएका एक ‘विद्वान’ लाई ‘नेपालमा राजदूत पदलाई के ठानिन्छ ? अमेरिका गएर के के गर्न सक्नुहुन्छ ?’ भनेर सोधेका रहेछन् ।

गोलमटोल कुरा गरेका ती ‘विद्वान’ अन्तिममा ‘अमेरिका नभए बंगलादेशमा भए हुन्छ’ भन्दै विदा भएछन् । नेपाली राजदूतले अमेरिका र बंगलादेशमा गर्ने काममा आकाश–जमीन फरक छ । तर, राजदूत बन्न दौडिनेहरूलाई त्यसको हेक्का हुँदैन ।

त्यस्तै व्यक्ति राजदूत बनिरहँदा उनीहरूबाट प्रदर्शित व्यवहारले मुलुकको कूटनीतिक अभ्यासमा कस्तो योगदान पुर्‍याउला ?

नेपाल इतिहासदेखि नै स्वतन्त्र र सार्वभौम मुलुक रहेकोमा हामी गर्व गर्छौं । तर, संसारसामु चिनाउन हामीले गर्नुपर्ने थुप्रै काम बाँकी छन् । हाम्रा संयन्त्रहरूलाई बदलिंदो परिस्थिति अनुरूप अद्यावधिक गर्ने र युग सुहाउँदो बनाउँदै लैजाने काममा हामी चुकिरहेका छौं । कूटनीति त्यसबाट अछुतो छैन ।

प्रतिकृया दिनुहोस