कला/साहित्यआइतवार, पौष १६, २०७४

प्रवासकै प्रतिनिधि

हिमालखबर

हरेक बिहान म आफ्नो चिहानबाट जागी उठ्छु
अनि उठेर म
यौटा ऐना अघि उभिएको हुन्छु
त्यो ऐनाभित्र यौटा अनुहार हुन्छ
यौटा अपरिचित अनुहार
यौटा खुम्चिएको अनुहार ।

२०३४ सालमा प्रकाशित ‘बिब्ल्याँटो युगभित्र कार्टून मान्छेहरू’ कविता संग्रहमा रहेको ‘ऐनाभित्रको त्यो अनुहार’ कवितामा कृतिकार मनप्रसाद सुब्बाले आफ्नो प्रतिबिम्बलाई यसरी वर्णन गरेका थिए । तर, त्यसको ४० वर्षपछि उनी बैंसालु देखिन्छन् । ६७ वर्षीय उनी ‘नेत्तिफुङको बास्ना’ कवितामा लेख्छन्–

सेक्मुरी फूल रोप्दै स्याहार्दै धेरै लामो बाटो हिंडिसक्यौं
तर हेर न मिम्जिमा,
नेत्तिफुङ्को बास्ना अझ उस्तै छ नि यो सासमा ।

दार्जीलिङ, भारतका उनै नेपाली भाषी कवि सुब्बाको ४४ वर्षे कविता लेखन यात्राको सँगालो हो, ‘मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरू’ । सँगालोमा समाविष्ट कविताहरू सुब्बाकै शब्दमा, मसी भर्नुपर्ने चाइनिज फाउन्टेन पेनदेखि कम्प्युटरका की–बोर्डसम्ममा लेखिएका कविताहरूको सम्मेलन पनि हो ।

महेश पौड्याल सम्पादित कृतिमा सुब्बाका नौवटा कविता संग्रह ‘बिब्ल्याँटो युगभित्र कार्टून मान्छेहरू, बुख्याँचाको देशबाट, ऊष्मा, आदिम बस्ती, ऋतु क्यान्भासमा रेखाहरू, अक्षर अर्केष्ट्रा, किनारका आवाजहरू, भुइँफुट्टा शब्दहरू र नेत्तिफुङको बास्ना’ बाट छानिएका ११५ कविता समेटिएको छ ।

‘आदिम बस्ती’ कविता संग्रहका लागि सन् १९९८ मा भारतको साहित्य अकादमी पुरस्कार पाएका सुब्बा आमजीवनका कविता लेख्छन् । यो आमजीवनमा नेपालीभाषीले भोगेका पीडा र असन्तुष्टि छन् । सोझै भन्न नसकिएका विद्रोहका आवाज पनि छन् । ‘प्रलयको आरम्भ’ बाट शुरु हुने कविताको श्रृंखला ‘निर्वासन’ बाट सकिनुले पनि यसैको संकेत गर्छ । त्यसो त सुब्बाका रचनामा प्रेम पनि भेटिन्छ, आशा पनि देखिन्छ ।

पुस्तकको शुरुआतमै सम्पादक पौड्यालले ‘बदलिंदो समयका साक्षी मनप्रसाद सुब्बा’ शीर्षकमा २३ पृष्ठ लामो आलेख पस्केका छन् । यस्तो आलेख आवश्यक भए पनि पढ्दा रोचक भने लाग्दैन । तर, जसै कविता शुरु हुन्छ, सुब्बामा रहेको कवित्वलाई प्रशंसा नगरिरहन सकिन्न । उदाहरणका लागि, सन् २०१३ मा भारतका वित्तमन्त्री पी. चिदम्बरम्ले ‘तिनीहरू (आदिवासीहरू) जंगलमा बस्ने त हुन नि’ भन्ने मन्तव्य दिएपछि ‘ती जंगलकाहरू’ कवितामा सुब्बा लेख्छन्–

त्यसो नभन्नुस् मन्त्रीज्यू,
बरु भन्नुस् ‘तिनीहरू जंगलसित बस्छन्’,
अनि जंगल तिनीहरूसित बस्छ ।

बेजोड काव्यिक भाव पाइने यी सुब्बाका कविता समग्रमा प्रवासी नेपालीकै प्रतिनिधि कविता बनेका छन् । उनका कवितालाई संकलित गरी पुस्तकाकारको रुप दिएर सम्पादक पौड्याल धन्यवादका पात्र बनेका छन् ।

कवितासंग्रह: मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरू 
सम्पादक: महेश पौड्याल
प्रकाशक: बुकआर्ट नेपाल
पृष्ठ: २७२+३६
मूल्य: रु.३५५

प्रतिकृया दिनुहोस