ब्लगशनिवार, पौष १५, २०७४

ट्वीटे भइएछ !

आफ्नै ट्वीटको पुनरावलोकन

कनकमणि दीक्षित

सबै भन्छन्– सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारले छापाको ठाउँ ओगट्यो । हुन पनि, धेरै हदसम्म समाचार बनाउने, पेश गर्ने र पचाउने प्रक्रियामा गत पाँच–सात वर्षमा ठूलो फेरबदल आएको छ, समुद्रपारजस्तै दक्षिणएशिया र नेपालमा ।

म आफैं पनि कतिपय विचार तथा ‘रिपोर्टिङ’ फेसबूक र ट्वीटमार्फत सम्प्रेषण गर्छु । सामाजिक सञ्जालको आफ्नो ६ वर्षे यात्रामा मैले यस माध्यमलाई कुरा तुरुन्त फैलाइहाल्ने ‘सोसिओ–पोलिटिकल टूल’ जस्तो गरी प्रयोग गरें ।

तर, एकछिन अडेर गत केही महीनाका आफ्ना ट्वीट उत्पादन हेर्दा लाग्यो, प्रिन्टबाट अनलाइनमा जानुको साटो किन अनलाइनलाई प्रिन्टमा नल्याउने ? अनि हेरौं कस्तो हुँदोरहेछ– त्यही कुरा प्रिन्टमा पढ्दा हल्का या अझै खँदिलो ? यही ‘अनुसन्धान’ मा पाठकलाई पनि सहभागी गराउन यहाँ पेश गरिएका छन्, मेरा ट्वीटमध्येका केही छनोट–

 

रानीपोखरी बीचमा रहेको मन्दिरलाई पुरानो ’शिखर शैली’ मा पुनःनिर्माण गर्नु त परै जाओस्, बचेखुचेको सम्पदामाथि पनि प्रहार गर्दै हामी उजाड शून्य–संस्कृति, शून्य–इतिहासको शहर निर्माण गर्दैछौं— स्मार्ट हैन स्टुपिड सिटी ।

यो चित्र पर्सियाका राजकुमार वाल्ड्मरसँगै दक्षिणएशियाको भ्रमण (सन् १८४४–४६) मा आएका चित्रकारले बनाएका हुन् । चित्रमा रानीपोखरीबाट उत्तरपश्चिम हेर्दा नागार्जुन डाँडो देखिन्छ र स्वयम्भू प्रष्ट देखिन्छ । जसले रानीपोखरीबीच रहेको बालगोपालेश्वर मन्दिर ‘शिखर शैली’ मा बनेको प्रमाणित गर्छ ।

स्थानीय, प्रान्तीय र संसदीय निर्वाचनको दौरानमा एउटै नयाँ/पुराना दलका उम्मेदवार/नेताले सेनाले दक्षिण टुँडिखेलको खुला क्षेत्र हडपेको कुराबारे आपत्ति जनाएनन्, जसको अर्थ शहरी जनताको प्रतिरक्षा गर्ने राजनीतिक शक्ति कोही रहेनछ ।

*नेपाल नगरपालिका संघको अधिवेशन समितिको बैठक, संविधान र स्थानीय शासन ऐन २०७४ सँग बाझिएका कानून तत्काल खारेजीको माग, संविधान अनुरुप गठित स्थानीय सरकारलाई अनावश्यक मन्त्रालयबाट निर्देशन नगर्न/नगराउन सरकारलाई अनुरोध गर्ने, इत्यादि ।

 

मिच्ने र मास्नेलाई भोट नदिऊँ ! सार्वजनिक खुला क्षेत्र (पोखरी, चौर, चोक) मिच्ने, सामुदायिक स्कूलको विद्यार्थी खेल्ने मैदान मिच्ने/मास्नेलाई, सघाउनेलाई अत्यधिक मतद्वारा हराऔं ! 

माफ गर्नुहोला मित्रहरू, जस्तोसुकै सही नियत एवं कारण भए पनि मायादेवी मन्दिरमा लगाइएको ‘अरेन्जिङ्ग’ ले चिन्तित तुल्यायो । यो एक सम्पदा क्षेत्र मात्र नभई जीवन्त आस्थाको ढुकढुकी हो । लुम्बिनी व्यवस्थापनमा राजनीतिक स्वार्थ हावी भइरहेको सन्दर्भमा यस्तो प्रयोगले दुरुपयोगको ढोका खोल्न सक्छ कि भनेर चिन्ता जगायो ।

 

दुई दशकपछिको देशको सामान्यीकरणतर्फको यात्राको अन्तिम चरण निर्वाचन बिथोल्ने नियोजित विस्फोट कार्यक्रम देखिन्छ कसैको । यसभन्दा बढी क्षति कतै केही नहोस्, जे जस्तो भए पनि यो निर्वाचन सफल पारौं/रहोस् ।

 

मत मात्रै राख्नु एउटा कुरा हो, तर देशभित्र र बाहिरका त्यस्ता व्यक्ति र संस्थाहरू पनि थिए, जो स्थानीय तह, प्रदेश र आम निर्वाचन ‘साबोटाज’ गर्ने कोशिशमा थिए । तिनीहरुको कृत्य पनि सम्झौं ।

 

लोकमान, नाकाबन्दी, चुरे दोहन, सीमा तटबन्ध, खुला क्षेत्र अतिक्रमण— यी सब विरुद्ध जसले बोल्यो उसैलाई भोट ! (भ्रष्टाचार गर्दिनँ त कसले भन्दैन र !)

 

निरन्तर सडक दुर्घटनाको सन्दर्भमा राष्ट्रिय सडक सुरक्षा परिषद् आवश्यक, तर सरकारको भर नपरौं । गम्भीर र विश्वसनीय नागरिक परिषद् बनोस् जसले राज्यलाई जवाफदेही बनाओस् ।

 

समयमा चुनाव नगर्ने हो भने कति कुरा—राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक— थप डामाडोल हुन्छ, सोचौं हजुरहरू ।

 

फ्लेक्स आतंक ! सबैको ध्यान पाँच राष्ट्रिय पार्टीको आज बिहानको बैठकमा, मेरो ध्यान त्यो भित्तामा टल्केको फ्लेक्समा । यस्तो बस्तु टाँग्ने नेता–कर्मचारी सम्पदा–संस्कृति प्रति कति सजग होलान् ?

 

सार्वजनिक विद्यालयको खेलमैदान निजी क्षेत्रलाई हस्तान्तरण, भुइँचालो/विपत्‌लाई आवश्यक खुला जमीन कब्जा अनि निर्वाचनमा जितिछाड्ने योजना हजुरहरुको ?

 

भार हलुङ्गो हुने भो ! रुपान्तरित व्यवस्थापिका–संसद्को समापन नै समाज सामान्यीकरणको संकेत हो ! जिन्दावाद !

जय प्रान्त–२ का जनता ! जसलाई तेस्रो चरण निर्वाचनसम्म कुर्न लगाएर अन्याय गरियो । स्थानीय लोकतन्त्रमा स्वागत !

ट्वीटलाई ‘टुल’ का रुपमा प्रयोग गर्ने मेरो प्रयास कति सार्थक भयो या यसले मलाई कति आत्मकेन्द्रित बनायो ...

प्रतिकृया दिनुहोस