चिसोमा हातखुट्टा सुन्निने ‘चिल ब्लेन’
जाडोमा हातखुट्टाका औंला, नाक र कान सुन्निने ‘चिल ब्लेन’ का साथै युरिक एसिडले पनि बढी हैरान पार्छ।
चिसो मौसममा हातखुट्टाका औंला, नाक र कान सुन्निने (चिल ब्लेन) समस्याबाट खास गरेर धूमपान गर्ने र कम तौल भएका व्यक्तिहरू बढी प्रभावित हुन्छन् । यो समस्या पानी खेलाइरहनुपर्नेलाई पनि बढी हुन्छ ।
चिल ब्लेनमा दुखाइका साथै घाउ पनि हुन सक्छ । यसबाट माथि उल्लिखित अङ्गहरूका रक्तनसा पातलिंदै त्यहीं टुङ्गिन्छन् र बाह्य वातावरणको तापक्रममा कमी आउनासाथ रक्त प्रवाहमा नकारात्मक असर परेर छालामुनिका स–साना रक्तकोषिकाहरू खुम्चिन्छन् ।
उल्लिखित अङ्गहरू प्रायः कपडाले नछोपिने भएकोले चाँडै प्रभावित हुन्छन् । चिल ब्लेन मौसम न्यानो हुँदै गएपछि आफैं हराउँदै जान्छ ।
अङ्गहरूलाई चिसोबाट बचाउनु यो समस्याबाट जोगिने सबभन्दा राम्रो उपाय हो । त्यसका लागि चिसो मौसममा पञ्जा, मास्क, गलबन्दी, टोपी, मोजा लगाउनुपर्छ । घरायसी काम गर्दा मनतातो पानी चलाउनुपर्छ ।
रगत जम्ने समस्या वा मधुमेह भएकालाई चिल ब्लेनले जटिलता बढाउन सक्ने भएकोले चिकित्सकको सल्लाह लिनु उत्तम हुन्छ ।
चिसोमा चिल ब्लेन भएर सुन्निएका औंला तत्कालै आगो वा हीटरमा सेक्नुहुँदैन । त्यसरी एकैचोटि तताउनु भन्दा मनतातो पानीमा डुबाउने, पुछ्ने र भ्यासलिन वा लोसन दल्नुपर्छ ।
‘मर्निङवाक्’ मा निस्किने वा बिहानै स्कूल–कलेज धाउनेहरूले पन्जा, सल वा मफलरले हात, मुख, नाक, कान न्यानो पारेर हिंड्नुपर्छ ।
जाडोयाममा त्यसै पनि हड्डी, मांसपेशी अररिने तथा कडा हुने भएकाले युरिक एसिडको समस्या बढी हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी र त्यस वरपरका मांसपेशीका तन्तुहरू सुन्निने, प्रभावित भाग माथिको छाला रातो, तातो हुने, टल्किने, दुख्ने, पोल्ने हुन्छ ।
युरिक एसिड बढ्दा प्रायः खुट्टाको बूढीऔंलाको जोर्नीलाई धेरै असर गरे पनि गोलीगाँठा, कुर्कुच्चा, घुँडा र हातका स–साना जोर्नीहरूलाई पनि असर गर्छ । त्यस्तो बेला सही नसक्नुको पीडा हुन्छ ।
वंशाणुगत तवरले पीडित व्यक्तिहरूमा युरिक एसिड उत्पादन नै बढी भएर शरीरबाट निष्काशन प्रक्रियामै समस्या हुन्छ । पिसाबबाट फ्याँक्न नसकेको युरिक एसिड शरीरमै जम्मा हुन्छ ।
महिलालाई भन्दा पुरुषलाई युरिक एसिड हुने सम्भावना २० गुणा बढी हुन्छ । करीब ५ प्रतिशत बिरामीमा खानपिनका कारणले युरिक एसिडको समस्या निम्तिन्छ । यसका लक्षणहरू एक्कासी देखिन सक्छन् ।
सामान्यतः वयस्क पुरुषको रगतमा २ देखि ७ मिलिग्राम प्रति डेसिलिटर युरिक एसिड हुन्छ भने महिलाको रगतमा २ देखि ६ मिलिग्राम प्रति डेसिलिटर ।
योभन्दा बढी भयो भने युरिक एसिडको प्रभाव देखिन थाल्छ । गरिष्ठ भोजन गर्नेहरूलाई युरिक एसिडको समस्या हुने सम्भावना बढी हुन्छ ।
त्यस्तै, थायजाइडलगायतका कतिपय औषधि सेवन, रक्सी सेवन, धेरै उल्टी र हड्डीभित्र मासी बन्ने पदार्थको समस्याले पनि युरिक एसिड निम्त्याउँछ । मिर्गौला रोगको कारणले पनि युरिक एसिडको समस्या वा मूत्र प्रणालीमा पत्थरी हुन सक्छ ।
कुनै लक्षण नदेखिए पनि कतिपय मानिसका जोर्नीमा युरिक एसिडको कारणले बाथ भएर जोर्नी बाङ्गिने, बिग्रने, सेता गिर्खा बन्ने हुन सक्छ ।
युरिक एसिडले केही समयको अन्तरालमा दुःख दिन्छ । युरिक एसिडको मात्रा वा बाथ (र्युमाटिक) ज्वरोको समस्या रगत जाँचबाट छुट्याउन सकिन्छ । सुन्निएको वा दुखाइको बेला औषधि सेवन गर्नुपर्ने हुन्छ ।
कतिपय अवस्थामा युरिक एसिड उत्पादन घटाउने र कहिलेकाहीं स्टेरोइडलगायतका कडा औषधि चलाउनुपर्ने हुन सक्छ । सबैलाई एकैखाले उपचारले फाइदा पुग्दैन ।
प्रोटिनयुक्त खानेकुरा टुक्रिने क्रममा बन्ने प्युरिन तत्वको मेटाबोलिज्म असन्तुलित हुनपुग्दा रगतमा युरिक एसिड बढ्छ । रातो मासु (खसी, राँगो), कलेजो, अण्डाका साथै दही, अमिलो तामा, सिसीको अचार, अमिला फलफूल, चूक, मोही, पालुङ्गोको साग, गोलभेंडा, मैदाका परिकार, काउली, च्याउ, फिंजयुक्त पेयपदार्थ (बियर, रक्सी, सोडा), भुटेका/तारेका खानेकुरा कम खानुपर्छ ।
चाउचाउ, चिप्सलगायतका जंक फूड नखानु नै उत्तम हुन्छ । झेलयुक्त र कम मसला राखिएका खानेकुरा सबैको लागि स्वस्थकर हुन्छन् । मेथीको साग, तीतेकरेला र घिउकुमारीले स्वास्थ्यलाई राम्रो गर्छ ।
आरामको जीवन जिउने, खानाका सौखिन, शारीरिक व्यायाममा अल्छी गर्ने, मोटोपना एवं मधुमेह भएकालाई युरिक एसिडको समस्या अवश्यंभावी हुन्छ । यस्ता व्यक्तिहरूले खाने बानीमा परिवर्तन गर्दै प्रशस्त पानी पिउने र शारीरिक व्यायाम गर्नुपर्छ ।