कला/साहित्यशनिवार, पौष १५, २०७४

ल्होत्साम्पाको नियति

बच्चु विक

दोस्रो विश्वयुद्धको समयमा थातथलो छोडेर भारतको उत्तरपूर्वी क्षेत्र लिखापानी पुगेका नेपाली मूलका बर्मेलीलाई लिएर कथाकार ईन्द्रबहादुर राईले सन् १९६१ मा कथा लेखेका थिए, ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ । नेपाली मूलका बर्मेली शरणार्थीको कथालाई गएको वैशाखमा नाट्यरुपान्तरण गरेका निर्देशक सुनील पोखरेलले यो हिउदँमा फेरि शरणार्थीलाई नै पछ्याएका छन्– 'हरियो ढुंगा' मार्फत । 

तस्वीरहरुः आभास अधिकारी

उपेन्द्र सुब्बा लिखित कथा हरियो ढुंगा दक्षिणी भूटानबाट खेदिएका ल्होत्साम्पा नेपालीभाषी शरणार्थीको प्रतिनिधिमूलक कथा हो । बिहान–बेलुका हातमुख जोर्न रतुवा खोलामा गिट्टी कुट्ने झापास्थित बेलडाँगी शिविरका शरणार्थी सबैको, सधैंको दैनिकी हुन्छ । कथाले त्यही खोलाको ढुंगा र १४ वर्षकै उमेरमा बिरामी परेर सुस्तमनस्थिति जस्तै भएका निचुलेलाई केन्द्रमा राखेर शरणार्थीको कष्टकर जीवन उतारेको छ ।

भूटानको राष्ट्रिय गानसँगै प्रारम्भ हुने नाटकले शुरुआतमै दर्शकलाई उकुसमुकुस पार्छ, देशविहीन हुनुको पीडाले । उनीहरुको दैनिकीले घरी पिरोल्छ घरी हँसाउँछ । नाटकका सबैजसो पात्र त बोल्छन्, वादविवाद, झै–झगडा गर्छन्, माया–प्रेमले सबै तितोपिरो बिर्सिन्छन् । गाह्रोसाह्रोमा पनि उनीहरुलाई अपनत्वले बाँधिराख्छ । तर, थोरै बोल्ने निचुलेका क्रियाकलापले धेरै कुरा भन्छन्, जुन दर्शकले नसुनेरै महसूस गर्न सक्छन्, अनि पिरोलिन्छन् ।

प्रायः साहित्यिक कृतिमाथि निर्माण गरिने चलचित्र वा नाटकले पाठक वा दर्शक सन्तुष्ट तुल्याउन सक्दैनन् । तर, ‘हरियो ढुंगा’ कथाभन्दा नाटक दमदार बनेको छ । यसले कथाको प्रभाव विस्तार गरेको छ, आयु लम्ब्याइदिएको छ । निर्देशक पोखरेलले पुनः एकपटक आफूलाई अब्बल प्रमाणित गरेका छन् ।

९ मंसीरदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको यो नाटकमा विपिन कार्की, सुनिशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, सौसम खड्का, राज न्यौपाने, अर्जुन शिवाकोटी, दीपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ, सुमित तामाङ, प्रभात बास्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रुपेश लामा, सौभाग्य सिंह (शोभा), दर्शन श्रेष्ठ, नवीनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी र महेशमान श्रेष्ठ आ–आफ्नो भूमिकामा खरो उत्रिएका छन् । आलोक थामीको ध्वनि, वीरेन्द्र हमालको मञ्च परिकल्पना र आभास अधिकारीको मञ्च व्यवस्थापनले शिविर र रतुवा खोलाकै झल्को दिन्छ । 

नाटकको अन्त्यतिर नियमित कथावाचक निस्केपछि दर्शक अलमलमा पर्छन् । अन्तिममा कसले बोलिरहेको छ, भेउ नै पाउँदैनन् । तथापि निचुलेले गिट्टी कुट्दै रतुवा खोलामा गुनगुनाइरहने गीतले दर्शकलाई जोड्छ, संवादहीनतालाई लय दिन्छ ।

अहिले बेलडाँगीका अधिकांश शिविर रित्ता छन् । तेस्रो देश पुनस्र्थापनाका क्रममा शरणार्थीहरु यूरोप र अमेरिका पुगिसकेका छन् । भूटानी राजाले जबर्जस्ती धपाएका शरणार्थीको गरीबी पीडा त समाधान भएको छ तर अनागरिक हुनुको घाउ अझै आलै छ ।

शरणार्थीको यो कथाले प्रवासी नेपालीको नियतिको इतिहास भन्छ । जसलाई कथाको रुप दिने सुब्बा र नाट्यशालामा मञ्चन गर्ने पोखरेल दुवैलाई प्रशंसा नगरिरहन सकिन्न । रंगमञ्च प्रशिक्षण केन्द्र ‘ज्ञ’ को प्रस्तुति रहेको ‘हरियो ढुंगा’ २२ पुससम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस