ब्लगशनिवार, पौष १५, २०७४

भौतिकवादी दृष्टिले बुद्ध देखिन्नन्

वसन्त महर्जन

गौतम बुद्धले भौतिकवाद (लोकायत) लाई मिथ्यादृष्टि भनेकाले भौतिकवादी दृष्टिकोणले मात्र हेरेर बुद्ध देखिन्नन्।

सर्वोच्च अदालतले हालै धामी–झाँक्री प्रथा विरुद्ध कानून बनाएर लागू गर्न सरकारलाई आदेश दिएको छ । चितवनमा बोक्सीको आरोपमा हत्या गरिएको मुद्दामा सुनुवाई गर्ने क्रममा अदालतले सामाजिक रुढी विरुद्ध जनचेतना बढाउन सरकारको ध्यानाकर्षण पनि गराएको छ । 

अपराधप्रेरित झारफुक–जोखाना सम्बन्धी त्यसअघिको एउटा प्रसंग झनै झस्काउने खालको छ, जुन फर्पिङ (काठमाडौं) को एउटा गुम्बामा बिरामी महिलालाई उपचारका नाममा यौन शोषण गर्दै आएका एकजना कथित बौद्ध धर्मगुरु गिरफ्तार भएपछि सार्वजनिक भयो ।

यो प्रकरण बौद्ध धर्मको आवरणमा पनि यस्ता आपराधिक गतिविधि हुने गरेको प्रमाण हो । जुनसुकै धर्म/सम्प्रदायमा होस्, यस्ता गतिविधि समान रूपमा अपराध हुन् ।

समाजमा एक वर्गको बुझाइ छ– धर्म भनेको अलौकिक शक्ति र चमत्कारमा आधारित आस्था हो, जहाँ मान्छे निरीह पात्र मात्र हुन्छ, जीवन र जगतका यावत् कुरा कुनै अदृश्य शक्तिको इच्छानुसार चलिरहन्छ । यसमा विश्वास नगर्नेको जमात पनि ठूलै छ ।

धर्मसम्बन्धी यो बुझाइ बुद्धको उपदेश वा बौद्ध धर्ममा नहुँदा यसलाई धर्म नभई दर्शनको रूपमा अर्थ्याउँदै आफूअनुकूल भौतिकवादको प्रचारमा प्रयोग गर्नेहरू पनि भेटिन्छन् ।

आत्मा–परमात्माको अमरतालगायत ईश्वरीय सत्ता नमान्ने भएका कारण बौद्ध धर्म–दर्शनलाई वैज्ञानिक मान्नेहरू पूर्वजन्म, पुनर्जन्म, पुण्य, पाप, ऋद्धिप्रतिहार्य जस्ता कुराहरू बौद्धहरूले पछि थपेका अन्धविश्वास हुन् भन्दै पन्छाउन खोज्छन्, जबकि यी कुरा बौद्ध धर्म–दर्शनको चुरो हुन् ।

आफैंमा दुःखको रूपमा रहेको पूर्वजन्म–पुनर्जन्मको चक्र अन्त्य गर्ने कुरालाई अविश्वास गर्नुको अर्थ हो– बुद्ध र बौद्ध धर्म–दर्शनप्रति अविश्वास ।

श्रमण गौतम (सिद्धार्थ) ले एकै पटकमा बुद्धत्व प्राप्त गरेका थिएनन् । उनले अनेक जन्ममा कुशल कर्म सम्पादन गर्दै अन्तिम जन्म (इ.पू. ५६३ मा लुम्बिनी वन) मा ध्यानसाधनाबाट वैशाख पूर्णिमाको राति अन्तिम प्रहरमा बुद्धत्व प्राप्त गरेका थिए ।

त्यसअघि उनले पूर्वानुस्मृति ज्ञान (पूर्वजन्म थाहा पाउने) पाएर अनेकौं पूर्वजन्मका अनुस्मरण र प्राणीहरूको जन्म–मृत्यु सम्बन्धी ज्ञानतिर चित्त झुकाएका थिए । उनले दिव्य चक्षुबाट जन्म र मरणको ज्ञान प्राप्त गरे ।

रातको तेस्रो प्रहरमा आश्रवक्षय ज्ञान (यस कारणले यो हुन्छ, यस कारणले हुँदैन, यस कारणले जन्म हुन्छ र यस कारणले हुँदैन भन्ने ज्ञान, प्रतीत्यसमुत्पाद) प्राप्तिपछि अविद्या नाश गरी बुद्धत्व प्राप्त गरेका थिए ।

भौतिकवादीहरू न यस कुरामा विश्वास गर्छन्, न त अभ्यास । ऋद्धिप्रतिहार्यलाई चाहिं बोधि प्राप्तिका क्रममा भएको ‘बाइ प्रडक्ट’ क्षमता भन्न सकिन्छ । बुद्धपछि उनका शिष्यहरूमा पनि ऋद्धिप्रतिहार्यलगायतका गुणहरूको विकास भयो, तर मानिसहरू यही क्षमतामा रुमल्लिएर बोधितिरको बाटोमा विचलन आउने खतरा देखेर अत्यन्त आवश्यक ठाउँमा बाहेक ऋद्धिप्रतिहार्य प्रदर्शनमा रोक लगाइएको थियो ।

मृत शिशुलाई पुनर्जीवित तुल्याइमाग्ने कृशा गौतमीलाई मान्छे एक दिन मर्नैपर्ने कुरा अवबोध गराउन कोही नमरेको घरबाट सरयू लिन पठाउनु एक प्रकारको ‘साइकोलोजिकल ट्रिटमेन्ट’ थियो ।

बुद्ध र उनका शिष्यहरूबाट यस्ता अनेक ‘ट्रिटमेन्ट’ भएको प्रसङ्गहरू पाइन्छन् । असाध्य रोग पनि मनोवैज्ञानिक उपचारबाट निको हुने आजका मनोचिकित्सकहरू बताउँछन् । मान्छेको मनको सूक्ष्म अध्ययन गर्ने भएकाले बौद्ध धर्मप्रति आधुनिक मनोविज्ञान ऋणी रहेको पनि भनिन्छ ।

बौद्ध धर्ममा सेवालाई पुण्य संचयको अवसरको रूपमा लिइन्छ । मान्छे अन्ततः मर्नैपर्छ, स्वास्थ्य उपचारबाट आयु लम्ब्याएर के गर्नु ? भन्ने निराशाजनक सोच नराखी रोगव्याधीबाट नमरुन्, प्राकृतिक आयुअनुसार बाँचेर धर्ममा लागून् भनी बौद्ध धर्मावलम्बीहरू औषधि क्षेत्रमा सरिक हुन्छन् ।

बुद्धलाई कुन रोगमा के औषधि चाहिन्छ र त्यो कसरी बनाउने भन्ने थाहा थियो । उनी उपचारमा सरिक भएका घटनाहरू ‘विनयपिटक’ ग्रन्थमा उल्लेख छन् । गौतम बुद्धले गृहस्थ जीवनमा छँदै आयुर्वेदसम्बन्धी ज्ञान हासिल गरेका थिए ।

रोग लागेको मान्छे झरफुक गर्दैमा वा ढ्याङ्ग्रो ठोक्दैमा निको हुने भए गौतम बुद्ध किन विभिन्न जडीबुटी मिलाएर औषधि बनाउँदै बस्थे भन्ने प्रश्न उठ्छ ।

बुद्ध र बौद्ध धर्मको नाम अगाडि सार्दै झरफुकबाट बिरामीको उपचार गर्न सक्छु भन्नेलाई मिथ्यादृष्टि वा ठगी धन्दामा लागेको भन्न सकिन्छ ।

फर्पिङमा उपचारको नाममा यौन शोषण गर्ने ‘लामा’ विधिवत् दीक्षित नभएको र गुम्बा पनि विना दर्ता अवैध रूपमा चलाएको खुलेको छ । जुनै धर्म–दर्शनका हुन्, यस्ता स्वघोषित ‘गुरुहरू’ लाई कानूनको दायरामा ल्याउनुपर्छ ।

फर्पिङका ती ‘लामा’ बाट प्रभावितहरू बौद्ध धर्म–दर्शनमा सामान्य जानकार भएको भए अन्धविश्वासमा रुमल्लिएर शोषणको शिकार हुनुपर्ने थिएन । आफ्नो धर्म–दर्शनमा हरेक व्यक्तिले सामान्य जानकारी राख्नैपर्ने यो प्रकरणले देखाएको छ ।

प्रतिकृया दिनुहोस