दोस्रो एशियाली खोज पत्रकारिता सम्मेलन सम्पन्न
काठमाडौंमा आयोजना भएको दोस्रो एशियाली खोज पत्रकारिता सम्मेलन सम्पन्न भएको छ ।
काठमाडौंमा ७ असोजदेखि शुरु भएको सम्मेलनको खोज पत्रकारिता केन्द्र नेपाल (सिआइजे), ग्लोबल इन्भेस्टिगेटिभ जर्नलिज्म नेटवर्क (जीआइजेएन) र कोन्राड एड्नर स्टिफटंगले संयुक्तरुपमा आयोजना गरेका हुन् ।
सम्मेलनमा ५१ देशका ३२० विदेशी पत्रकार तथा नेपालका खोज पत्रकार समेत गरी ४०० सहभागी भएको खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले जानकारी दिए ।
सम्मेलनमा पुलिट्जर पुरस्कार विजेता वाल्टर भी रविन्सन, फिलिपिन्सकी खोज पत्रकार शीला क्रोनेल लगायतको सहभागिता थियो ।
खोज पत्रकारिता केन्द्र फिलिपिन्सकी संस्थापक क्रोनेलले गरेको अनुसन्धानमूलक समाचारका कारण त्यहाँका तत्कालीन राष्ट्रपति एस्ट्राडा पद छाड्न बाध्य भएका थिए ।
सम्मेलनमा पछिल्लो विश्व हल्लाउने ‘पनामा पेपर’का पत्रकारहरुको समेत सहभागिता थियो ।
सम्मेलनमा संसारभरका खोज पत्रकारले प्राप्त गरेका उपलब्धि, भोगेका कठिनाइ, सिकेका सीप र आगामी दिनमा खोज पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका लगायत बिषयमा छलफल भएको थियो ।
विभिन्न देशका पत्रकारहरुले संयुक्त रुपमा अनुसन्धानमुलक समाचारहरु तयार पार्ने विषयमा समेत छलफल भएको थियो ।