पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता, एक घाइते (अपडेट)
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज, ९ असोज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।
चालक विष्णु राई घाइते छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले रहेका छन् ।
उनका अनुसार घिमिरेसहित तीनजना बेपत्ता भएका छन् ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नंको स्करपियो गाडी दुर्घटनामा परेको हो ।
घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ भने घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रजिअ सिंहले जानकारी दिए ।
पूर्व गृहसचिव समेत रहेका घिमिरे खिलराज रेग्मी नेतृत्वको सरकारका बेला गृहमन्त्री थिए ।