कला/साहित्यशनिवार, पौष ८, २०७४

भारतको मनोदशा (पुस्तक)

रविन गिरी

‘यो ठीक त्यस्तै हो, जस्तो सन् १९८९ मा सफदर हाशमीको हत्यापछि कंग्रेस र एचकेएल भगतले दिल्लीमा आईएफएफआई कार्यक्रम आयोजना गरिरहेका थिए । सांस्कृतिक विनाश’, १७ नोभेम्बरमा भारतीय विख्यात अभिनेत्री शबाना आजमीले ट्वीट गरिन् ।

गुलजार

सन्दर्भ थियो, सञ्जयलीला भंसाली निर्देशित चलचित्र पद्मावती विरुद्ध जारी हिंसात्मक प्रदर्शन र त्यसैको पूर्वसन्ध्यामा आयोजित इन्टरनेशनल फिल्म फेस्टिभल अफ इण्डिया (आईएफएफआई) को ४८औं संस्करण ।

२८ नोभेम्बरमा गोवामा आईएफएफआई सकियो, तर शबानाको ट्वीटको सान्दर्भिकता सकिएको छैन । किनभने, इतर विचार समाप्त गर्ने असहिष्णुताले अहिले पनि सर्जकहरुको हत्या गरिरहेको छ ।

१ जनवरी १९८९ मा गाजियावादको झण्डापुर गाउँमा हल्ला बोल नाटक प्रदर्शन गरिरहेका बेला भारतीय राष्ट्रिय कंग्रेसका कार्यकर्ताले आक्रमण गर्दा हाशमीको मृत्यु भएको थियो ।

वाम विचारप्रेरित जन नाट्य मञ्च (जनम) का संस्थापक ३४ वर्षीय हाशमीको मृत्युको आठ दिनपछि राजीव गान्धी सरकारले नयाँदिल्लीमा आईएफएफआईको १२औं संस्करण आयोजना गरेको थियो ।

अहिले भारतीय जनता पार्टी (बीजेपी)का नेता नरेन्द्र मोदीको शासन छ, सत्ताकै उक्साहटमा लेखक, साहित्यकार नरेन्द्र दाभोलकर, गोविन्द पानसरे, एमएम कलबुर्गी र केही महीनाअघि मात्र पत्रकार गौरी लंकेश मारिएका छन् ।

वास्तवमा शासक फेरिए पनि नयाँदिल्ली फेरिएको छैन–प्रख्यात कवि तथा गीतकार गुलजार भन्छन् ।

‘देयर्स नथिङ्ग न्यू इन न्यू दिल्ली’ शीर्षकको कवितामा उनी नयाँदिल्लीमा हरेक पाँच वर्षमा नयाँ सरकार आउने तर पुरानै मुद्दाहरुमा नयाँ योजना बनाउने गरेको बताउँछन् । उनी भन्छन्, “त्यसले न घाँस काट्न सक्छ न गर्दन ।”

गुलजारको ‘सस्पेक्टेड पोएम्स्’ व्यंग्यचेतले भरिएको कृति हो, जसमा छोटाछोटा कविता छन्, जसलाई पवन के बर्माले अंग्रेजीमा अनुवाद गरेका छन् ।

किताबमा मूल हिन्दी पनि पढ्न पाइन्छ । पूर्व कूटनीतिज्ञ बर्माले यसअघि गुलजारका सेलेक्टेड पोएम्स्, नेग्लेक्टेड पोएम्स्, ग्रीन पोएम्स् र युधिष्ठिर एण्ड द्रौपदी कवितासंग्रह अनुवाद गरेका थिए ।

लेखकः गुलजार 
अनुवादकः पवन के बर्मा
प्रकाशक पेन्गुइन/भिकिङ
पृष्ठः १३५+३३
मूल्य २९९ (भारु) ।

नेपाली अनुवादमा संदिग्ध कविताहरु भन्न सकिने संग्रहलाई गुलजार आफैंले भने ‘मशकूक नज्मे’ भनेका छन् । हरेक बिहान चियासँगै अखबार पढ्ने क्रममा ‘टिप्पणीहरु’ पनि स्वतः आउने तर तिनलाई साउती जसरी समेत भन्न नसकिने समय आएको उनको अनुभव छ ।

५२ वटा कविताभित्र गुलजारले सोझै बन्न नसकेका तिनै टिप्पणीहरु छन् । जस्तो, ‘टैटु ∕’ शीर्षकको पाँच लाइनको कवितामा उनी दायाँ काँधमा गाईको ट्याटु खोपेकै कारण दंगामा जोगिने आजका भारतीयहरुको चर्चा गर्छन् ।

त्यस्तै, ‘द प्रोटेक्टर ∕’ कवितामा विदेशी सेनाको गोली देशको जमीनमा पर्नुअघि नै छाती थाप्ने भारतीय सैनिकसँग असुलिने करको कुरा गर्छन् । ‘स्पीकर’ मा एकहातले माइक र अर्को हातले जनताको घाँटी समातेका नेता घुँडाले पेटमा हिर्काउँदै “आज भोट नलिई जान्न” भनिरहेको हुन्छ ।

अर्को कविता ‘सुलताना डाकुज् लास्ट लेटर टु हिज सन’ मा नेताका सन्तानले पाँचै वर्षदेखि राजनीति सिक्न थाल्ने भएकाले उनीहरुसँग जोरी नखोज्न भनिएको छ ।

‘हु इज दिस डम्ब पर्सन ?’ संग्रहकै शक्तिशाली कविता हो, जसले आफ्नो विचार व्यक्त गरेकै कारण जिब्रो गुमाउनुपरेको थियो । अहिलेको भारतमा यस्तै ‘लाटा’ को संख्या बढिरहेको छ ।

३० अगष्ट २०१५ मा हिन्दू अतिवादीद्वारा हत्या गरिएका कर्नाटकका साहित्यकार एवं शिक्षाविद् कलबुर्गी जीवित रहेको गुलजारको मत छ । ‘कलबुर्गी’ कवितामा उनी बालबालिकालाई कखरा सिकाइरहेका कलबुर्गीलाई ढोकैमा मारिए पनि उनको विचार अझै आँगनमा रहेको उनी बताउँछन् ।

८३ वर्षअघि पञ्जाब (अहिलेको पाकिस्तान) मा जन्मिएका सम्पोरन सिंह कार्ला (गुलजार) ले देश विभाजनको त्रासदी देखे, भोगे । त्यसपछिका पनि थुप्रै दंगा, हिंसाका साक्षी गुलजारले मोदी सत्तारुढ भएपछिको एक अन्तर्वार्तामा भनेका छन्, “मान्छेको नामभन्दा पहिले धर्म सोधिने यस्तो अवस्था भारतमा कहिल्यै थिएन ।”

उनका रचनामा निन्दा मात्र छैन ।

‘आइज् डोन्ट निड अ भिजा’ कवितामा उनी लेख्छन्–

अाँखालाई भिजा चाहिँदैन

सपनाको सीमाना हुँदैन

बन्द आँखामा म हरेक दिन सीमापारि पुग्छु

मेहदी हसन भेट्न... ।

सांस्कृतिक विशादग्रस्त भारतमा अहिले स्रष्टाहरु गहिरो अवसादमा छन् । स्वाभाविक हो, छिमेकको यस्तो बिमारको असर नेपालमा पनि परेको छ ।

पहिचान र राष्ट्रवादको ‘पपुलिज्म्’ प्रेरित उग्रता यहाँ पनि देखिएको छ, धन्न सामाजिक–राजनीतिक सुझबुझले त्यसलाई भड्किन दिएको छैन ।

फिल्म साउथएशियामा सहभागी हुन गत महीना काठमाडौं आएका चेन्नईका वरिष्ठ पत्रकार शशि कुमारले यो शहरलाई दक्षिणएशियाकै ‘सांस्कृतिक राजधानी’ भन्दै यहाँको सहिष्णुता जोगाइराख्न आग्रह गरेका थिए ।

काठमाडौंलाई दक्षिणी हावाबाट जोगाउनु छ । त्यसका लागि पहिले मोदीमय भारत बुझ्न जरुरी छ । त्यो बुझाइका लागि ‘सस्पेक्टेड पोएम्स्’ सहयोगी हुन सक्छ ।

 

प्रतिकृया दिनुहोस