ग्यास सिलिण्डर विस्फोट हुँदा घर ध्वस्त
धादिङ्को गल्छीमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएका कारण एउटा घर जलेर पूर्णरुपमा क्षति भएको छ ।
गल्छी गाउँपालिका- ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पुर्याएको केही बेरमै विस्फोट भएको हो । विष्फोटबाट घर जलेर ध्वस्त भएको वडासदस्य विन्दा अधिकारीले जानकारी दिइन् ।
ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गरेका छन् ।
घरका सदस्यहरु बाहिर भएकाबेला विस्फोटन भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताए ।
गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ ।