सिलवालले पेश गरेको कागजातमा अनुसन्धान हुँदै
नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक नवराज सिलवाले सर्वोच्च अदालतमा पेश गरेको कागजात बारे अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए ।
जोशीका अनुसार सिलवाल समेत संलग्न प्रहरी महानिरीक्षक पदमा बढुवासम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाका क्रममा सिलवालको चार वर्षको कार्यसम्पादन मूल्याङ्कन दुई खालको आएको थियो ।
अदालतको आदेशअनुसार यो कसको लापरबाहीका कारण भएको थियो भन्ने प्रहरीले अनुसन्धान गर्नेछ ।
सर्वोच्च अदालतको सात सदस्यीय इजलासले फैसलाको पूर्णपाठ तयार गरेको दुई सातापछि प्रहरी परिसर, काठमाडौंमा उजुरी दर्ता भएको हो ।
सर्वोच्चको फैसलामा भएको न्यायिक टिप्पणीका आधारमा अनुसन्धान शुरु हुने र कागजात फरक पारिएको पुष्टि भए सरकारी छाप दस्तखत किर्तेको अभियोगमा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।
सिलवाल ललितपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् ।