राष्ट्रियसभाको अध्यादेश नयाँ सरकारपछिः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन नसक्ने बताएका छन् ।
आज, ५ मंसीरमा वाम गठबन्धन काठमाडौंद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले एकल संक्रमणीय व्यवस्था सहित पेश गरेको अध्यादेश जारी हुन नसक्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै ओलीले कुनै दल विशेषका लागि दुरुपयोग गर्ने माध्यम अध्यादेश हुन नसक्ने बताए ।
अध्यक्ष ओलीले भने, “राष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र हो, कुनै कानूनी जटिलता छैन ।”
ओलीले जनादेशबमोजिम मुलुकको स्थिरता र समृद्धि तथा वाम पार्टीबीचको एकतामा कुनै शंका नराख्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा काठमाडौं जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
काठमाडौंमा वाम गठबन्धन प्रतिनिधिसभाको ६ र प्रदेशसभाको १६ क्षेत्रमा निर्वाचित भएको छ । रासस