रिपोर्टबुधबार, ५ पौष , २०७४

फिलिपिन्समा विशेषज्ञ तहको पढाइमा ठगी धन्दा

रामु सापकोटा

फिलिपिन्समा विशेषज्ञ तह पढ्ने भन्दै ढाँटेर नेपाली विद्यार्थीलाई अस्पतालमा काम गर्न पठाउने कन्सल्टेन्सीहरूको धन्दामा स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल समेत संलग्न भएको पाइएको छ।

मारिकिना सिटीको अमाङ्ग रोड्रिग्योज मेमोरियल मेडिकल सेन्टर । तस्वीरः रामु सापकोटा

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले एमबीबीएस सकेका नेपाली विद्यार्थीलाई फिलिपिन्सका अस्पतालहरूमा विशेषज्ञ तह पढ्न ‘इलिजिबिलिटी लेटर’ दिने गरेको छ, तर त्यहाँको पढाइ काउन्सिलकै ‘पोस्ट ग्य्राजुएट मेडिकल एजुकेसन– २०१७’ को मापदण्डसँग मिल्दैन ।

कन्सल्टेन्सीहरूले खासमा एमडी/एमएस तहको पढाइका लागि मेडिकल कलेजमा नभई अस्पतालमा पठाइरहेका छन्, जहाँ उनीहरू ‘रेजिडेन्स’ डाक्टरको रूपमा काम गरेर ‘हेल्थ डिपार्टमेन्ट’ ले दिएको प्रमाणपत्र लिएर नेपाल फर्किरहेका छन् । 

फिलिपिन्सका अस्पतालहरूमा काम गर्दा उनीहरूले न थेसिस लेख्नुपर्छ, न त अन्तिम वर्षको जाँच (एक्जिट एक्जाम) पास गर्नुपर्छ । एनएमसीको मापदण्ड अनुसार, विशेषज्ञ तह पूरा गर्न थेसिस लेखेकै हुनुपर्छ र विश्वविद्यालयले लिने अन्तिम वर्षको परीक्षा पनि उत्तीर्ण गरेकै हुनुपर्छ ।

विशेषज्ञ तह अध्ययनको क्रममा सम्बन्धित देशको मेडिकल काउन्सिलमा दर्ता भएर बिरामी जाँचेको पनि हुनुपर्छ । ‘एमडी/एमएस तह पढ्न’ फिलिपिन्स जानेहरूले त्यहाँका वरिष्ठ डाक्टरहरूले गरेको काम हेर्न मात्र पाउँछन् । फिलिपिन्सका केही अस्पतालले नेपाली विद्यार्थीलाई मात्र लक्षित गरेर यस्ता कार्यक्रम चलाएका छन् ।

मन्त्री नै प्रभावमा
एनएमसीले स्वास्थ्य मन्त्रालयको सन् २०१० को निर्णयपछि फिलिपिन्सका अस्पतालमा नेपाली एमबीबीएस डाक्टरलाई विशेषज्ञ तह अध्ययन गर्न जान अनुमति दिन थालेको हो ।

रिजाल मेडिकल सेन्टरले नेपाली विद्यार्थीलाई दिने गरेको ‘रेजिडेन्सी’ तालिमको प्रमाणपत्र ।

नेफिल (अहिले युनाइटेड एशिया प्यासिफिक) नामक कन्सल्टेन्सीको चलखेलबाट मन्त्रालयले फिलिपिन्समा ‘एमडी/एमएस तहको रेजिडेन्सी तालिम’ का लागि नेपालीलाई बाटो खोलिदिएको थियो । ‘नेफिल’ ले तत्कालीन स्वास्थ्य मन्त्री उमाकान्त चौधरी, एनएमसीका अध्यक्ष डा. सोमनाथ अर्याल र रजिष्ट्रार डा. नीलमणि उपाध्यायलाई फिलिपिन्स भ्रमण गराएपछि मन्त्रालयले यस्तो निर्णय गरेको थियो ।

फिलिपिन्सबाट फर्केपछि स्वास्थ्य मन्त्री चौधरीले त्यहाँको स्वास्थ्य विभागलाई अस्पतालहरूको नाम नै तोकेर नेपालबाट विद्यार्थी पठाउने बाटो खोल्न ४ अप्रिल २०१० मा पत्र पठाए ।

१२ जुलाई २०१० मा मन्त्री चौधरीलाई सम्बोधन गरेर पठाइएको जवाफमा फिलिपिन्सका पाँच अस्पताल– क्वयजन सिटीको इष्ट एभिन्यू मेडिकल सेन्टर, मनिलाको जोसे रिजाल रेएस मेमोरियल मेडिकल सेन्टर, क्वयजन सिटीको नेशनल चिल्डे«न्स हस्पिटल, सिबुको भिसेन्ती सेतो मेमोरियल मेडिकल सेन्टर र डाभाओ सिटीको डाभाओ मेडिकल सेन्टर नेपाली विद्यार्थीका लागि खुला गरिएको उल्लेख छ । (हे.पत्र) 

२९ सेप्टेम्बर २०१० मा तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीलाई फिलिपिन्स स्वास्थ्य विभागले पठाएको पत्र ।

फिलिपिन्सको स्वास्थ्य विभागले त्यसको अघिल्लो दिन ११ जुलाइमा रजिष्ट्रार डा. उपाध्यायलाई लेखेको पत्रमा मारिकिना सिटीको अमाङ्ग रोड्रिग्योज मेमोरियल मेडिकल सेन्टरमा नेपाली विद्यार्थीलाई ‘रेजिडेन्सी ट्रेनिङ’ खुला गरिएको उल्लेख थियो । मन्त्री चौधरीले नेपालीका लागि थप पाँच अस्पतालमा त्यस्तो सुविधा दिन अनुरोध गर्दै १३ सेप्टेम्बरमा अर्को पत्र पठाए ।

२९ सेप्टेम्बरमा मन्त्री चौधरीलाई लेखिएको पत्रमा नागा सिटीको बाइकोल मेडिकल सेन्टर, लेगाज्पी सिटीको बाइकल रिजनल टिचिङ एण्ड ट्रेनिङ हस्पिटल, पासिग सिटीको रिसाज मेडिकल सेन्टर, कागायान डि ओरो मेडिकल सेन्टर र क्युरिनो मेमोरियल मेडिकल सेन्टर नामका अस्पताल पनि नेपाली एमबीबीएसहरूका लागि खुला भएको जानकारी थियो । त्योसँगै एनएमसीले ‘इलिजिबिलिटी लेटर’ दिने र फिलिपिन्सका अस्पतालहरूमा काम गरेर फर्केका डाक्टरहरूलाई लाइसेन्स परीक्षामा बस्न दिने व्यवस्था मिलाइयो ।

काउन्सिलले रेजिडेन्सी तालिममा समस्या देखिएको भन्दै २०१६ सेप्टेम्बरमा फिलिपिन्सको स्वास्थ्य विभागलाई पत्र पठाएर नोभेम्बरबाट ‘इलिजिबिलिटी लेटर’ दिन पनि रोक्यो, तर तीन महीनाभन्दा बढी दबाब थेग्न सकेन । काउन्सिलले फिलिपिन्सको स्वास्थ्य विभागलाई त्यहाँ नेपाली विद्यार्थीले अध्ययन गर्ने पाठ्यक्रम र परीक्षा प्रणालीको विवरण मागेको थियो; तर, त्यसको जवाफ अहिलेसम्म पाएको छैन ।

नेपाल र फिलिपिन्सको स्वास्थ्य मन्त्रालयदेखि मेडिकल काउन्सिल र स्वास्थ्य विभागसम्मका पदाधिकारीलाई प्रभावमा पारेर ‘विशेषज्ञ तह पढाउने’ धन्दामा बालुवाटारको युनाइटेड एशिया प्यासिफिक कन्सल्टेन्सीका संचालक उदिप श्रेष्ठ संलग्न रहेको मारिकिना सिटीस्थित अमाङ्ग रोड्रिग्योज मेमोरियल मेडिकल सेन्टरका प्रशासन प्रमुख रामोन लगुस्तनले हिमाल लाई बताए । उनका अनुसार, फिलिपिन्सका सबै अस्पतालमा नेपाली विद्यार्थी पठाउने धन्दाको ‘ठेक्का’ श्रेष्ठले लिएका छन् (हे. बक्स) ।

श्रेष्ठको नेफिल कन्सल्टेन्सीले २०१६ मार्चमा सिबुको भिसेन्ती सेतो मेमोरियल मेडिकल सेन्टरमा ‘रेजिडेन्सी’ तालिममा पठाएका ७६ जना एमबीबीएस डाक्टरहरूबाट प्रतिव्यक्ति रु.३५ लाख लिएको उक्त ब्याचका एक जनाले हिमाल लाई बताए । नेफिलका अर्का संचालक उत्सव श्रेष्ठले नेपालबाट विद्यार्थी पठाउँछन् भने उदिपले फिलिपिन्सका अस्पताल, स्वास्थ्य विभाग र अध्यागमन विभागमा ‘सेटिङ’ मिलाउने गरेको जानकारहरू बताउँछन् । 

काठमाडौं विश्वविद्यालय (केयू) को स्कूल अफ मेडिकल साइन्सेजका डीन डा. राजेन्द्र कोजुका अनुसार, ‘फिलिपिन्समा विशेषज्ञ तह पास’ गरेका डाक्टरलाई केयूको फ्याकल्टी मेम्बर बन्न दिइँदैन । त्रिविअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले पनि फिलिपिन्समा ‘रेजिडेन्स ट्रेनिङ’ मात्र लिएर आएकाहरूलाई फ्याकल्टीको रूपमा नलिने डीन डा. जगदीशप्रसाद अग्रवाल बताउँछन् ।

नेपाली विद्यार्थीलाई विश्वविद्यालयको जाँच दिनबाट बञ्चित गर्ने गरी फिलिपिन्सका अस्पतालहरूमा अवैध कार्यक्रम चलाइएको बताउँदै डा. अग्रवाल भन्छन्, “यसलाई मेडिकल काउन्सिलले रोक्नैपर्छ ।” तर आईओएम डीन कार्यालयले फिलिपिन्सका अस्पतालबाट तालिम लिएर फर्केकालाई भित्रभित्र भैरहवाको युनिभर्सल मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेजलगायतका कलेजमा फ्याकल्टी मेम्बरका रूपमा काम गर्न अनुमति दिइरहेको छ ।


“यो डिग्री होइन, सामान्य तालिम हो''

रामोन लगुस्तन 
प्रशासन प्रमुख,
अमाङ्ग रोड्रिग्योज मेमोरियल मेडिकल सेन्टर

नेपाल र फिलिपिन्सबीच ‘एक्सचेन्ज प्रोग्राम’ को नाममा भइरहेको यो कुनै डिग्री होइन, सामान्य तालिम हो । यसका लागि नेपाली डाक्टरहरू पठाउने काम एशिया युनाइटेड प्यासिफिक कन्सल्टेन्सीका उदिप श्रेष्ठले गर्छन्, सबै कागजपत्र उनैले मिलाउँछन् । उनी हाम्रै अस्पतालमा पनि प्रस्ताव लिएर पाँच पटक आएका छन् । तर, हामीले नेपाली एमबीबीएस डाक्टरहरूलाई ‘रेजिडेन्सियल प्राक्टिस’ गर्न दिएका छैनौं ।

किनभने यो अस्पताल हो, मेडिकल कलेज होइन । हामीले यहाँ रेजिडेन्सियल तालिम दिन्छौं । हामीकहाँ बालरोग, इन्टर्नल मेडिसिन र रेडियोलोजी बाहेकका विभागमा रेजिडेन्सियल तालिम भए पनि नियमित हुँदैन । कहिलेकाहीं ‘केस कन्फरेन्स’ भने हुन्छ ।

“डिग्रीको नाममा ठगी भइरहेको छ”

फिलिपिन्स गएर नेपालका स्वास्थ्य चौकी वा जिल्ला अस्पताल तहका स्वास्थ्य संस्थामा काम गरेकाहरूलाई ‘रेजिडेन्सी’ तालिम गरेको भनेर एनएमसीले विशेषज्ञ डाक्टरको रुपमा दर्ता गरिरहेको बुझिन्छ । वास्तवमा त्यहाँ नेपालीहरूले न पठनपाठनको काम गर्छन् न त कुनै विश्वविद्यालयले लिने अन्तिम बोर्ड परीक्षामा नै सहभागी हुन्छन् ।

डा. गणेश गुरुङ 
पूर्व संयोजक, परीक्षा समिति
नेपाल मेडिकल काउन्सिल

विशेषज्ञ तहका नाममा यस्तो धन्दा चलेको थाहा पाएपछि दुई वर्षअघि एनएमसीका सदस्य डा. सतिशकुमार देवसहितको टोली अनुगमन गर्न भन्दै फिलिपिन्स गएको पनि थियो । त्यहाँबाट फर्केर टोलीले बुझाएको प्रतिवेदनमा एनएमसीले किन हो, कुनै निर्णय लिएन । विद्यार्थी चाहिं पठाइरह्यो ।

प्रतिकृया दिनुहोस