वीरगञ्ज आगलागी अपडेटः एक किलोमिटर वरपरका वस्ती खाली गराइयो, आगो आफैं ननिभ्दासम्म पर्खिनु पर्ने
वीरगञ्ज– २२ स्थित सुपर ग्यास उद्योगमा भएको आगालागी नियन्त्रणका लागि सतर्क रहेर पर्खने बाहेक अन्य उपाय नभएको भारतीय अग्नी नियन्त्रण विशेषज्ञले बताएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार भारतबाट आएका अग्नी नियन्त्रण विशेषज्ञ र नेपालकै उपलब्ध विशेषज्ञको सल्लाह अनुसार आगो आफैं नियन्त्रण नभइन्जेल सतर्क अवस्थामा रहनु बाहेक अन्य उपाय नभएकाले अहिले उद्योग वरपर एक किलोमिटरसम्मका वस्तीहरु खाली गराएको छ ।
विहान करिब ६ बजेदेखि शुरु भएको आगालागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगोको चपेटामा परी आगो निभाउन पुगेको महानगरपालिकाको एउटा दमकल ध्वस्त भएको छ भने दुई जना अग्नी नियन्त्रकको मृत्यु भएको छ ।
-------------------------------------------------------------------------------------------
वीरगञ्ज : ग्यास उद्योगमा आगलागी, दुई अग्निनियन्त्रकको मृत्यु
वीरगञ्ज महानगरपालिका– २२ स्थित सुपर ग्यास उद्योगमा आगो लागेको छ । आगो निभाउन दमकल सहित पुगेका नगरपालिकाका दुईजना अग्निनियन्त्रक कर्मचारीको पनि आगोको चपेटामा परी मृत्यु भएको छ ।
विहान करिब ६ बजेदेखि शुरु भएको आगालागी विहान साढे १० बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
ठूलो आवाजसहित ग्यास सिलिण्डर विष्फोट भइरहेका छन् । भवानीपुर र सुकचैनाको बीचमा गण्डक नहरसँगै रहेको सुपर ग्यास उद्योगमा ग्यास लिकेज भई आगो लागेको हो ।
गए राति ग्यास बुलेटबाट भण्डारमा ग्यास भर्ने क्रममा लिकेज भइरहेको खबर पाएपछि नियन्त्रणका लागि पुगेको महानगरपालिकाको दमकल घटनास्थल नजिकै पुग्दा आगो लागि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका अग्निनियन्त्रक यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रा छन् ।
दमकलसँगै घटनास्थल गएका प्रहरी हवलदार ब्रह्मनारायण जैसवालले भने, “ग्यास लिकेजको खबर पाएपछि दमकल सहित उद्योग नजिक पुग्यौं । लिकेज भएको ठाउँ चिस्याउने प्रक्रिया थाल्नु अघि दमकल रोकेर केही बेर छलफल गरी उद्योगको गेट भएरै दमकल अगाडि बढाउने निधो भयो । तर, गाडी स्टार्ट गर्ने वित्तिकै साइलेन्सरको झिल्कोले सबैतिर टिप्यो ।”
दमकल भित्र रहेका अर्का नियन्त्रक सञ्जीव नेपाल, राममान तत्वा र दमकल चालक अरुणकुमार महतो गम्भीर घाईते भएका छन् । नेपाल र महतोलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
आगलागीले सुपरग्यास उद्योगमा काम गर्ने अपरेटर अम्बिका पटेल पनि घाईते भएको उद्योग सञ्चालक अबुलेश अंसारीले जानकारी गराएका छन् ।
आगलागीले महानगरपालिकाको २० वर्ष पुरानो तीन नम्बर भनिने दमकल गाडी, ग्यास बुलेट रहेको गाडी र उद्योगको अधिकांश भाग पूर्ण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वीरगञ्ज महानगरपालिकाको अर्को दमकल, कलैया उपमहानगरपालिका, सिमरा एयरपोर्ट, हेटौडा नगरपालिका र भारत रक्सौलको दमकल बाट प्रयास भइरहे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।
उद्योगभित्रबाट लगातार विष्फोटको आवाज आइरहेको छ । उद्योगभित्र रहेका सिलिण्डरहरु पड्किरहेका छन् भने त्यहाँ भण्डारण गरी राखिएको सबैभन्दा ठूलो ग्यास बुलेट पड्किने सम्भावनाका कारण नजिक जान सकिने स्थिति पनि छैन ।
प्रहरीले उद्योगको १ किलोमिटर परसम्मका सबै घर वस्ती खाली गराएको छ ।
जियालाल साह, वीरगञ्ज