सत्ता हस्तान्तरण गर्न सरकार आतुर छ: सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार निर्वाचनद्वारा अभिव्यक्त जनमतको उच्च कदर गर्दै संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकारको धारणा स्पष्ट पार्न आज आयोजित पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्री शेरबहादुर देउवाले विधिसम्मत् ढंगले सत्ता हस्तान्तरणमा पटक पटक देखाउनुभएको आतुरताका अभिव्यक्ति सञ्चार माध्यममा आइरहँदासमेत अनेकन दूराशय र संशयपूर्ण अभिव्यक्ति आउनु सबैका लागि दुःखलाग्दो विषय हो ।”
सरकारले कानूनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन नचाहेको र सहज सत्ता हस्तान्तरणका लागि सरकार वैधानिक उपायको खोजीमा रहेको उनले स्पष्ट पारे।
स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने कार्यभारसहित सरकारले गत जेठ २३ गते जिम्मेवारी लिएको स्मरण गराउँदै उनले भने, “सरकारले दुवै निर्वाचन शान्तिपूर्ण र स्वच्छ ढंगले सम्पन्न गराएको छ ।”
निर्वाचनलाई लिएर केही राजनीतिक दलका नेताबाट निर्वाचन हुने अघिल्लो दिनसम्म पनि चुनावप्रति संशय र षड्यन्त्रसहितका अभिव्यक्ति आउनु दुःखद पक्ष भएको मन्त्री बस्नेतको टिप्पणी थियो ।
उनले नतिजा सार्वजनिक हुने क्रमसँगै केही राजनीतिक कोणबाट असान्दर्भिक अभिव्यक्ति, अनर्गल र मनोगत दुष्प्रचारको थालनी भएको र त्यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले भने, “लोकतन्त्रको बाटो हुँदै देशलाई लोकतान्त्रिक गणतन्त्रसम्म ल्याइपु¥याउन अहम् भूमिका निर्वाह गर्दै आएका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाबाट संसदीय पद्धति र परम्परा एवं न्यायिक निरूपणको परिधिभन्दा पृथक कार्यसम्पादन हुन्छ भन्ने भ्रम पाल्नु विडम्बना हो ।”
निर्वाचनपछि पनि सरकारले नियुक्ति प्रक्रियालाई निरन्तरता दिइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सरकार रहेसम्म र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म नियुक्ति गर्नु सरकारको दैनिक क्रियाकलाप रहेको दाबी गरे ।
उनले सरकारले राष्ट्रियसभा निर्वाचनको ऐन मस्यौदा गरी विधेयकका रूपमा व्यवस्थापिका–संसद्समक्ष पेश गरेको तर राजनीतिक दलहरु सहमत हुन नसक्दा पारित हुन नसकेको बतााए ।
मन्त्री बस्नेतले भने, “यसलाई अत्यावश्यक ऐन मानी सरकारले अध्यादेशबाट जारी गर्न राष्ट्रपतिसमक्ष दुई महिनाअघि पेश गरेको थियो । राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत यस क्रममा दलीय अनुकूलतामा प्रयोग गर्ने दुष्प्रयासको आभाष हुन थालेको छ । ”उनले उक्त अध्यादेश अहिलेसम्म राष्ट्रपति कार्यालयमा रोकिनु चिन्ताको विषय रहेको बताए ।
मन्त्री बस्नेतले निर्वाचनको प्रत्यक्षतर्फको नतिजाले केही राजनीतिक दलमा अहंकाररुपी संस्कार विकसित भएको आभाष हुन थालेको भन्दै निर्वाचन आयोगका पदाधिकारीबाट कानूनी प्रक्रियाअनुरुपको निर्वाचनसम्बन्धी अभिव्यक्ति आउँदासमेत केही दलका नेताको आयोगप्रति लाञ्छनापूर्ण अभिव्यक्ति आउनु अशोभनीय भएको बताए ।
संविधानको व्यवस्थाअनुसार नयाँ सरकार बन्नेछ
मन्त्री बस्नेतले निर्वाचन आयोगबाट समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँड गरी व्यक्तिसमेत यकिन भएपछि संसदीय परम्पराअनुरूप सरकार गठनको प्रक्रिया थालनी हुने बताए ।
संविधानतः मुलुकमा मिश्रित निर्वाचन प्रणाली रहेको र प्रत्यक्षतर्फको नतिजालाई मात्र हेरेर अवधारणा बनाउनु एकांकी हुन जाने बताउँदै उनले भने, “दलहरूले प्राप्त गर्ने सिट संख्यासमेत यकिन नभइसकेको वर्तमान अवस्थामा कस्तो सरकार र कसको सरकार बन्दैछ भन्ने अनुमानमा कुनै पनि किसिमको अतिरञ्जित टिप्पणी गर्नु सान्दर्भिक हो जस्तो लाग्दैन ।”
उनका अनुसार निर्वाचन आयोगले कानूनअनुसारका सबै निर्वाचन सम्पन्न गरेको जानकारी दिन बाँकी नै छ ।
निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रिय÷अन्तर्राष्ट्रिय पर्यवेक्षक, पत्रकार, सम्बद्ध समस्त कर्मचारी वर्ग र आममतदातालाई सरकारका तर्फबाट उनले धन्यवाद दिएका थिए ।
रासस