‘प्रदेश २ सबैभन्दा समृद्ध बन्न सक्ने’
प्रदेश २ लाई एक दशकभित्र मुलुकको सबैभन्दा समृद्ध प्रदेश बनाउन सकिने सरोकारवालाले बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघ र इकोनोमिक रिपोर्टर्स एसोसिएशनले आयोजना गरेको ‘प्रदेश २ को समृद्धिका आधार र चुनौतिहरु’ विषयक विमर्शका सहभागीले यहाँ आर्थिक विकसका प्रशस्तै सम्भावना रहेको औंल्याएका हुन् ।
कार्यक्रममा प्रदेश २को समथर र उर्वर भूमि आधुनिक कृषि र उद्योग व्यवसाय सञ्चालनका उपयुक्त रहेकाले आर्थिक विकासको प्रशस्तै सम्भावना रहेको बताएका हुन् ।
वीरगञ्जमा अर्थशास्त्रका सह प्रध्यापक इन्दुशेखर मिश्रले यस प्रदेशमा खुलेर बन्द भएका चिनी मिल, चुरोट कारखाना, कृषिऔजार कारखाना, जुट मिलजस्ता कृषिजन्य पदार्थमा आधारित उद्योगहरु पुन सञ्चालनमा ल्याएउन सुझाव दिए ।
सरकारीका साथै निजी क्षेत्रलाई लगानीका लागि उपयुक्त वातावरण तयार पारी प्रोत्साहन गरिनुपर्नेमा वीरगञ्ज उद्योगवाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले जोड दिए ।
विशेष औद्योगिक क्षेत्र स्थापना, द्रुतमार्ग निर्माण र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका कार्य तीव्र गतिमा अघि बढाउन सकिए मात्रै पनि रोजगारीमा वृद्धि हुनुका साथै आर्थिक विकासका गतिविधि शुरु हुने उनले बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योगवाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले कृषिमा व्यवसायिकरण र वैज्ञानिक सुधारको खाँचो रहेको बताए ।
वीरगन्जका निजी क्षेत्रका अगुवा, बौद्धिक र आर्थिक विश्लेषकहरु सहितका सहभागी वक्ताहरुले यस प्रदेशमा समृद्धिको प्रचुर सम्भावना रहेकोले
त्यसको पहिचान, विश्लेषण र ब्यवस्थापन जरुरी रहेको बताएका थिए ।
जियालाल साह, वीरगञ्ज