इन्टिग्रिटी आइडलको उपाधि मोरङका सहायक प्रमुख जिल्ला अधिकारीलाई
सन् २०१७ को इन्टिग्रिटी आइडलको उपाधि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले प्राप्त गरेका छन् ।
३ मंसीरमा काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच इन्टिग्रिटी आइडल २०१७ को घोषणा गरिएको हो ।
सक्षम, इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्टिबिलिटी ल्याबले हरेक वर्ष यो कार्यक्रम आयोजना गर्दै आएको छ ।
नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि इन्टिग्रिटी आइडलको शुरु गरेको हो ।
मनोनयन दर्ता गरेका ७१ जिल्लाका १०२० जना कर्मचारीमध्ये पौडेल उत्कृष्ट कर्मचारी छनोट भएका हुन् ।
सम्मान ग्रहण गर्दै विजेता शेषनारायण पौडेलले सेवाग्राहीलाई केन्दमा राखेर काम गर्ने बताए । सम्मानले थप जिम्मेवार र प्रेरणा मिलेको पौडेलको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजनमा पूर्र्वसचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख पुण्यप्रसाद न्यौपाने र पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश शाह सदस्य रहेको निर्णायक मण्डलले आइडलको छनोट गरेको थियो ।