ब्लगसोमवार, पौष ३, २०७४

ऐतिहासिकतालाई मार हान्ने वर्तमान पुस्ता

कनकमणि दीक्षित

२००० वर्षसम्म यी स्तूप यस्तै रहे, तर १५–२० वर्षयता त्यो प्राचीन आकार तथा भौगोलिक परिवेश ध्वस्त पार्न हामी सफल भयौं ।

नेपाल मण्डल, त्यसमा पनि पाटन शहरले दक्षिणएशियामा बौद्ध धर्मको जगेर्ना गर्‍यो, जतिबेला कतै हिन्दू पुनर्जागरण त कतै मुसलमान राजको कारण कमजोर या लोप नै हुन गएको थियो ।

यूरोपेली मुलुकहरूमा बुद्ध धर्मको शुरूआतको बुझाइ पनि पाटनमा संकलित बुद्ध धर्मका ग्रन्थ नै हुनपुगे, जुन स्थानीय विद्वान पण्डित अमृतानन्दबाट लिएर बेलायती रेजिडेन्ट ब्राएन हड्सनले अध्ययन मात्र गरेनन्, ठेलीका ठेली समुद्रपार पुर्‍याए ।

चैत्य अथवा स्तूप गंगा मैदानको मध्यदेशमा २५०० वर्ष अगाडि दिवंगत बुद्धत्व प्राप्त व्यक्तिहरूको अस्तुमाथि जम्मा पारिएका ढुंगामाटोको राश थियो । समय बित्दै जाँदा यसलाई ‘स्टाइलाइज्’ गर्ने काम भयो । जस्तो, श्रीलंकाका दागोबा, थाइल्याण्ड र बर्माका प्यागोडा । नेपालको पनि आफ्नै बान्कीको ‘चारआँखे’ स्तूप बन्न गयो । जस्तो; बौद्ध, काठेसिम्बु, स्वयम्भू र चाबहिलका चैत्य ।

दुई शताब्दी पहिले । राजमानसिंह चित्रकारले कोरेको तस्वीर

पाटन शहरका चार दिशामा रहेका स्तूप सम्राट अशोकको पालामा बनेको भनिन्छ । यिनीहरूलाई उही पुराना ‘अरिजिनल’ आकारमा हामी पाउँछौं, साधारण घाँस उम्रने ढिस्कोको रुपमा ।

२००० वर्षसम्म यी स्तूप यस्तै रहे, तर १५–२० वर्षयता त्यो प्राचीन आकार तथा भौगोलिक परिवेश ध्वस्त पार्न हामी सफल भयौं । पूर्व ग्वार्कोको स्तूपमा सिमेन्ट कंक्रिटको काम भएको छ र ‘बुद्धका आँखा’ थपिएका छन् । अन्यत्र हिमाली बुद्धमार्गी चिनारीको लुङ्गता पताका सिंगारिएको छ । जस्ताको ओत, ‘प्रेयर ह्वील’ र अरु अनेकन् चिज थपथाप भएका छन् ।

यस्तै भएको छ पुल्चोक स्तूप र वरिपरिको परिवेश पनि । झण्डै दुई शताब्दीअघिको नेपालका पहिलो ‘ल्याण्डस्केप आर्टिष्ट’ मानिएका राजमानसिंह चित्रकारले पाटन शहरको पश्चिमपट्टि वागमती पुल जाने ओरालोको सिरानमा रहेको स्तूपको तस्वीर कोरेका थिए ।

आधा शताब्दी पहिले । तस्वीरः बेथ् प्रन्टिस् र बब् फ्रर्‍यांकको कलेक्शन्बाट

२०२३ सालको एउटा रङ्गीन फोटोग्राफ हालै ट्वीटरमार्फत हात पर्‍यो, सालाखाला उही ठाउँबाट क्यामेराले खिचेको (बेथ् प्रन्टिस् र बब् फ्रर्‍यांकको कलेक्शन्बाट) । ‘कम्पेर’ र ‘कन्ट्रास्ट’ का लागि तेस्रो तस्वीर प्रस्तुत छ, गत शुक्रबार मात्र फोटोग्राफर बिक्रम राईले त्यही मोहोडाबाट खिचेको ।

राजमानसिंहले कोरेको तस्वीरमा मंगलबजारतर्फ जाने बाटोमा ग्रन्थ बोकेका दुई व्यक्ति देखिन्छन् । एकापट्टि तान बुन्ने काम हुँदैछ भने गाईगोरु यत्रतत्र छन् । फाँट बीचमा एउटा वृक्ष छ भने स्तूपमाथि झार उम्रेको छ । स्तूपको माथिल्लो हार्मिका अलि जीर्ण छ, तर तलका दुईतर्फका मन्दिर राम्रै अवस्थामा छन् । बायाँ (दक्षिण) पट्टि एउटा पाटी छ । स्तूप पछाडि बस्ती र दायाँपट्टि ठूलै इमारत देखिन्छन् ।

२०२३ सालको फोटोमा स्तूपको २००० वर्षअघिको ऐतिहासिक स्वरुप सालाखाला यथावत् छ । टुप्पाको काठका ‘छाता’ को ठाउँमा खम्बा मात्र छ । अगाडि (उत्तर–पूर्व) पट्टि एउटा नयाँ पाटी बनेको छ । पुरानो पाटी चाहिं छँदैछ, तर कसैले भित्ता उठाएर कोठा बनाए जस्तो छ ।

२९ मंसीर २०७४ । तस्वीरः बिक्रम राई

पछाडिपट्टिका घरहरू पनि जस्ताको तस्तै छन्, तर ठूलो इमारतको झिंगटी जस्तापातामा परिणत भएको छ । दायाँपट्टि भर्खरै उपत्यका वास्तुमा प्रवेश गरेको सिमन्टीको घर छ । बिजुली लाइन र खम्बा आइसकेका छन् भने हरियो साझा बस पुल्चोकको ओरालो कुपण्डोलतर्फ गुड्दैैछ ।

अहिलेको तस्वीरमा शहरीकरण तथा अतिक्रमणले पश्चिम स्तूपलाई निस्सासिने गरी गाँजेको देखिन्छ । नयाँ तामाका छाता थपिएको छ, वरिपरि लुङ्गताले सुसज्जित छ स्तूप । अगाडिको सानो मन्दिरलाई जस्ताले छोपेको छ अनि माने ‘प्रेयर ह्वील’ हरु राखिएका छन् ।

मापदण्ड बेगर बनेका अग्लाअग्ला घरले अब पुल्चोक स्तूपलाई सानो बनाइदिएका छन् भने अगाडिका दुइटै पाटी सिमेन्टले बनेका छन् । पछाडिपट्टिको एउटा घरले भने पुरानो शैलीलाई निरन्तरता दिएको देखिन्छ । सडक जामले पहिलेको फराकिलो मैदान बिर्साइदिएको छ । पुल्चोक ओरालोतर्फ (तस्वीरमा नदेखिने) आकाशे पुल छ, जसले परैबाट देखिने स्तूपको दृश्य पूरै छेकिदिएको एकदशक बढी भयो ।

काठमाडौं उपत्यकाको ऐतिहासिक स्वरुप बदलिएको गत दुई–तीन दशकमा मात्र हो, त्यसअघि ऐतिहासिक पहिचान र परिवेश सुरक्षित थियो भनेर बुझ्न यिनै तस्वीरहरू पर्याप्त छन् । आखिर ऐतिहासिकतालाई मार हान्ने त वर्तमान पुस्ता न रहेछ ।

प्रतिकृया दिनुहोस