होटल व्यवसाय आर्थिक विकासको आधारस्तम्भः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होटल व्यवसाय आर्थिक विकासको आधारस्तम्भ भएको बताएका छन् ।
आज होटल व्यवसायीहरुसँगको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पर्यटन क्षेत्रको विकास र विस्तारमा होटल व्यवसायको ठूलो योगदान रहेको बताएका हुन् ।
ओलीले आर्थिक मेरुदण्डको रुपमा रहेको होटल क्षेत्रको विकासका लागि हरेक प्रदेशलाई पर्यटनमैत्री बनाई अगाडि बढ्ने योजना रहेकोसमेत बताएका छन् ।
निर्वाचनमा पाएको सफलताको लागि एमाले अध्यक्ष ओलीलाई बधाई दिन आज होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्य सहितका होटल व्यवसायीहरु ओली निवास बालकोट पुगेका थिए ।
भेटमा होटल संघ नेपालका अध्यक्ष शाक्यले राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक विकासका लागि योजनागत रुपमा अगाडि बढ्न ओलीलाई आग्रह गरेका थिए ।
उक्त अवसरमा संघका पूर्व अध्यक्ष योगेन्द्र शाक्यले पर्यटनमार्फत नेपालमा आर्थिक परिवर्तन सम्भव भएकाले व्यवसायिक वातावरण निर्माणमा सघाउन आग्रह गरे ।