टिप्पणीसोमवार, पौष ३, २०७४

लोकतन्त्रको लागि सबल सत्तापक्ष र सशक्त प्रतिपक्ष

शेखर खरेल

आवधिक निर्वाचन लोकतन्त्रको मुख्य अवयव हो । तर, निर्वाचन मात्रले लोकतन्त्र प्रत्याभूत गर्न सक्दैन । किनकि, संसारमा अझै पनि त्यस्ता धेरै मुलुक छन्, जहाँ आवधिक निर्वाचन हुन्छ तर लोकतान्त्रिक व्यवस्था छैन ।

सम्पन्न आमनिर्वाचनको परिणाम अपेक्षित र अनपेक्षित दुवै रह्यो । अपेक्षित यस अर्थमा, दुई मुख्य वाम शक्तिहरूबीच निर्वाचन पूर्वको गठबन्धनका कारण मुलुक अब ‘हङ्ग पार्लियामेन्ट’ को माखेसाङ्लोबाट मुक्त भएको छ ।

अनपेक्षित चाहिं, संसदीय व्यवस्थाको संवद्र्धन र संचालनका लागि, उत्तिकै दरिलो प्रतिपक्षको दरकार पर्नेमा परिदृश्य त्यस विपरीत बनेकोे छ । तथापि, समानुपातिकतर्फ एमालेकै हाराहारीमा नेपाली कांग्रेसलाई प्राप्त मतका कारण वाम गठबन्धन प्रतिनिधिसभामा दुईतिहाइ बहुमत ल्याउनबाट भने चुकेको छ ।

आवधिक निर्वाचन लोकतन्त्रको मुख्य अवयव हो । तर, निर्वाचन मात्रले लोकतन्त्र प्रत्याभूत गर्न सक्दैन । किनकि, संसारमा अझै पनि त्यस्ता धेरै मुलुक छन्, जहाँ आवधिक निर्वाचन हुन्छ तर लोकतान्त्रिक व्यवस्था छैन । हाम्रै मुलुक पनि पंचायती व्यवस्थामा आवधिक निर्वाचन हुन्थ्यो, संसद् (राष्ट्रिय पञ्चायत) को व्यवस्था पनि थियो, तर लोकतन्त्र थिएन ।

किनकि, लोकतन्त्रका लागि निर्वाचन र संसद् मात्र पर्याप्त हुँदैन । लोकतन्त्रका लागि प्रतिपक्ष अपरिहार्य हुन्छ । वाम गठबन्धनको प्रचण्ड बहुमतले प्रतिपक्ष अत्यन्त कमजोर बनेको छ । यस्तो अवस्थामा एक्लो प्रतिपक्षको भूमिकाबाट मात्र लोकतन्त्रको संवद्र्धन असंभवप्रायः हुन्छ ।

लोकतन्त्रको सम्बन्ध व्यक्तिको वैयक्तिक स्वतन्त्रतासित रहन्छ । यद्यपि, दक्षिणएशियाका अन्य मुलुकहरूमा लोकतन्त्र वैयक्तिक स्वतन्त्रता भन्दा पनि स्वाधीनतासँग सम्बन्धित रहेको इतिहास छ । किनकि, साम्राज्यवादी शक्तिका उपनिवेश ती मुलुकका निम्ति वैयक्तिक स्वतन्त्रताका लागि राष्ट्रको स्वाधीनता पूर्व–शर्त थियो ।

एक हिसाबमा भन्दा औपनिवेशिक शक्ति विरुद्धको प्रतिकारको आन्दोलन थियो । तर, स्वाधीन नेपालका हकमा चाहिं, लोकतन्त्र वैयक्तिक स्वतन्त्रताका लागि निरंकुश व्यवस्था विरुद्धको प्रतिरोध थियो । त्यसैले हामीकहाँ लोकतन्त्र र स्वतन्त्रता कतिपय प्रसंगमा पर्यायवाची समेत देखिन्छन् ।

तराजुमा जस्तै, एकातिर सबल सत्तापक्ष र अर्कोतिर सशक्त प्रतिपक्षबाट सन्तुलन निर्माण हुन्छ । तर, सम्पन्न निर्वाचनको परिणामले यो सन्तुलन धर्मराएको देखिन्छ । कतै सत्तापक्ष प्रचण्ड बहुमतबाट मात्तिने र प्रतिपक्ष झिनो मतबाट आत्तिने त होइन भन्ने संशय व्याप्त छ ।

पूर्व अमेरिकी राष्ट्रपति थमस जेफरसनको ‘स्वतन्त्रता’ बारेको एउटा उक्ति यहाँ सान्दर्भिक हुन्छ । जेफरसन भन्थे, ‘इटर्नल भिजिलेन्स इज दि प्राइस् अफ लिवर्टी’, अर्थात्, निरन्तरको पहरेदारी नै स्वतन्त्रताको मूल्य हो । त्यसैले स्वतन्त्रता रक्षाको जिम्मा सत्ता वा प्रतिपक्षलाई मात्र छाडिनु हुँदैन ।

यस्तो निगरानीका लागि नागरिक दबाब महत्वपूर्ण हुन्छ, जसको नेतृत्वदायी भूमिका नागरिक अगुवाले लिन सक्छन् । नागरिक अगुवाहरूले बहुमतीय सरकारबाट लोकतन्त्र वा लोककल्याणकारी व्यवस्था उपर हुनसक्ने प्रहारप्रति डटेर खबरदारी गर्नुपर्छ ।

एउटा संभावित अनिष्टबारे चर्चा गरौं । सत्तारोहण उन्मुख वाम गठबन्धनका साझेदारहरू एमाले र माओवादी केन्द्रका सांसद्हरूको विरोध र अवरोधका कारण संसद्बाट ‘चिकित्सा शिक्षा विधेयक’ पारित हुन सकेन । र, संसद्विहीनताको स्थितिमा सत्याग्रही डा. गोविन्द केसीसँग सरकारको सम्झौता अनुरूप अध्यादेश आयो ।

सरकारको यस कार्यप्रति निजी चिकित्सा प्रतिष्ठानमा लगानी गर्ने एमालेका निवर्तमान सांसद्हरू मात्र नभएर गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले ऐन खारेजीको उद्घोष गरिसकेका छन् । झापामा चुनाव प्रचारका बेला यी दुई नेता विवादित ‘बी एण्ड सी मेडिकल कलेज’ को स्वास्थ्य शिविरमा सहभागी रहे र त्यसै कलेजको अतिथिगृहमा बसे । यो त्यही कलेज हो जसलाई ‘चिकित्सा शिक्षा ऐन’ ले चिकित्सा शिक्षा संचालनमा बन्देज लगाउँछ । प्रष्ट छ, अब बन्ने सरकार वा संसद्ले यो ऐनको संशोधन वा खारेजी गर्नेछ, जसलाई प्रतिपक्षले रोक्न सक्ने छैन ।

मुलुकमा नीतिगत भ्रष्टाचार मौलाउँदै गरेको परिस्थितिमा कैयन् यस्ता चलखेल अब सतहमा आउने छन् । खर्चिलो निर्वाचन प्रणाली धान्न कतिपय विधायक मनकारी दाताहरूको ‘ऋण’ मा डुबिसकेका छन्, जुन सत्तारोहणसँगै चुक्ता गर्नुपर्नेछ ।

विभिन्न स्वार्थ समूह समेत समानुपातिकको जस्केलाबाट संसद्को यात्रा गरेका विगतका अनुभवले समेत आगामी दिनमा नागरिक पहरेदारीको खाँचो झनै टड्कारो देखिन्छ । विडम्बना, नागरिक अगुवाहरू नै दलीय रङ्गहरूमा देखिन्छन्, लाग्छ उनीहरू आफ्नो ‘कम्फर्ट जोन’ बाट निस्कनै चाहिरहेका छैनन् ।

“नागरिक अगुवा बन्न ज्ञानले मात्र पुग्दैन, जाँगर र आँट चाहिन्छ । सुपारी चपाउँदै दोसल्ला ओढेर कौसीमा उक्लेर को–को जुलूसमा उत्रँदैछन् भन्दै हेर्ने नागरिक अगुवाहरू हामीकहाँ छन्, अनि कसरी पहरेदारी संभव छ ?” प्रबुद्ध नागरिकका अगुवा केदारभक्त माथेमा प्रश्न गर्छन् ।

माथेमाको संशयसँग सवाल–जवाफ गर्ने अगुवा पक्कै पनि बग्रेल्ती भेटिएलान्, तर दिउँसै दियालो बालेर खोजिनुपर्ने चाहिं आँटवालाहरू हुन् । ती कतै भेटिएलान् कि ?

प्रतिकृया दिनुहोस