फेसबुकको सदुपयोग, पर्यटकीयस्थल विकासका लागि रकम संकलन
बैतडीको धार्मिकस्थल पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका युवाहरु जुटेका छन् ।
रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले धार्मिक तथा पर्यटकीयस्थल पत्तालभुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि फेसबुकमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् ।
सुर्नया गाउँपालिका– २ मा रहेको पत्तालभुमेश्वरको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले १५ मंसीरदेखि ‘पत्तालभुमेश्वर युवा जागरण मञ्च प्रवास अनलाइन अभियान’ नाम दिएर उक्त रकम संकलन गरेका हुन् ।
अभियानका सह–कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म रु एक लाख एक हजार ६१७ संकलन भएको छ । संकलित रकम पत्तालभुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च हुनेछ । अभियान निरन्तर चलाइने विष्टले बताए ।
पत्तालभुमेश्वरको संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न सम्बन्धित निकायले पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् । रासस