सत्ता हस्तान्तरणमा आनाकानी नगर्न देउवालाई ओलीको आग्रह
एमाले अध्यक्ष केपी ओलीले पत्रकार सम्मेलन गरी ताजा जनमत अनुसार सत्ता हस्तान्तरणमा आनाकानी नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंको एक होटेलमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई ‘संविधानको गलत व्याख्या नगर्न, जनमतलाई अवमूल्यन नगर्न र नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न’ आग्रह गरेका हुन् ।
वर्तमान सरकारले राष्ट्रिय सभा गठनको बखेडा झिकेर सत्ता हस्तान्तरणमा आनाकानी गर्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप छ । वर्तमान सरकार काम चलाउ मात्रै भएकाले कर्मचारी लगायत विभिन्न निकायका पदधिकारीको नियुक्ति, सरुवा र बढुवा जस्ता कार्य नगर्न ओलीले आग्रह गरे ।
प्रधानमन्त्री देउवाका अभिव्यक्ति र क्रियाकलाप नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र विगतमा स्थापित प्रचलन विरोधी भएको उनले आरोप लगाए ।
'अध्यादेश संविधानको भावना विरोधि'
उनले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी सरकारले सिफारिस गरेको अध्यादेश संविधानको भावना अनुरुप नरहेको र वर्तमान काम चलाउ सरकारले त्यस्तो अध्यादेश सिफारिस गर्न नपाउने भन्दै राष्ट्रपतिद्वारा उक्त अध्यादेश जारी गर्न नहुने बताए ।
निर्वाचन परिणाम आइसकेपछि, नयाँ सरकार बनाउने दलसँग परामर्श नगरी सरकारले सिफारिस गरेको अध्यादेश संविधान र नैतिक रुपमा समेत ठिक नभएको उनको दाबी छ ।
उनले सरकारले खेल शुरु भइसकेपछि नियम फेर्न लागेजस्तै, राष्ट्रिय सभा गठनका बेला अध्यादेश ल्याउन खोजिएको बताएका थिए ।