समाचारशनिबार, १ पौष , २०७४

हिंसापीडितलाई उद्यमले सजिलो

रामु सापकोटा

हिंसापीडित महिलाले बनाएका सामान विदेशमा बिक्री हुन थालेपछि उनीहरूको जीविकोपार्जन सहज बनेको छ।

शक्ति समूहको पुनर्स्थापना केन्द्रमा सल बुनिरहेका महिला । तस्वीर: रामु सापकोटा

सिन्धुपाल्चोककी १५ वर्षीया सिर्जना पौडेल ३ मंसीरको बिहान १० बजे चाबहिलस्थित शक्ति समूहको कार्यालयमा सल बुनिरहेकी थिइन् । उनले डेढ वर्षमा बुनेका ८०० थान सल अमेरिकाको क्यालिफोर्निया निर्यात भए । कारोबार शक्ति समूहले गर्छ, उनले नाफाबाट २५ प्रतिशत पाउँछिन् । 

सिर्जनालाई दलालहरूले २०७२ असारमा ललाईफकाई वैदेशिक रोजगारीमा लैजान खोज्दा प्रहरीले उद्धार गरेर शक्ति समूहमा पुर्‍याएको थियो । त्यसपछि उनले शक्ति समूहको पुनर्स्थापना केन्द्रमा सल बुन्न सिकिन् ।

दलालहरूले बेचबिखन गर्ने क्रममा विभिन्न खाले शोषण भोग्नु परेकी उनी बुनाइकलामा निकै तीक्ष्ण र लगनशील भएको समूहको हस्तकला शाखाका कार्यकारी अधिकृत बालकुमारी राना बताउँछिन् ।

अहिले उनी दैनिक ६ वटा सल बुनिरहेकी छन् । अन्य आठ जना हिंसापीडित महिलाले पनि शक्ति समूहमा सल, तिलहरी, कि–रिङ, ह्याण्ड ब्यागलगायतका सामान बनाइरहेका छन् । ती सबै सामान अमेरिका र जापान निर्यात हुन्छन् ।

जापानदेखि अमेरिकासम्म
१२ वैशाख २०७२ को महाभूकम्पपछि नेपालको अवस्था अत्यन्त नाजुक बन्यो । भूकम्पपीडितको बाससँगै गाँस पनि रहेन । त्यही मौका छोपेर सक्रिय भएका दलालहरूले भूकम्पबाट अति प्रभावित जिल्लाका चेलीहरूलाई रोजगारीको लोभ देखाएर बेचबिखन गरे ।

तीमध्ये धेरैलाई शक्ति समूहले समेत उद्धार गरेर हस्तकला सिकायो । गत दशैं र तिहारको बीचमा उनीहरूले तयार पारेका रु.६० हजारका सामग्री अमेरिका निर्यात भए ।

अहिलेसम्म तयार भएका पाँच डिजाइनका २५०० सलमध्ये ४०० थान नेपालमै बिक्री भयो भने बाँकी अमेरिका निर्यात भयो । त्यस्तै ३०० थान ह्याण्ड ब्याग र ३५० कि–रिङ जापान निर्यात भयो ।

समूहका हस्तकला शाखाका कार्यकारी अधिकृत राना बजार प्रवर्द्धनका लागि ठमेलका प्रमुख रेस्टुरेन्ट र होटलहरूमा पनि बिक्रीवितरण गर्न लागिएको बताउँछिन् ।

उनका अनुसार, जापानबाट भर्खरै ४०० थान ब्यागको अर्डर आएको छ । शुरूमा समूहले ‘पुरानो कुराले पीडा नदेओस्’ भनेर हिंसापीडित महिलाहरूको मन भुलाउन पुनस्र्थापना केन्द्रमा पोते बनाउन सिकाउँथ्यो ।

उनीहरूको काम राम्रो भएपछि हस्तकलाका अन्य सामान पनि उत्पादन गर्न सन् २०११ मा वर्कशप नै दर्ता गरेको राना बताउँछिन् । 

सन् २००७ मा बेचिएर दिल्ली पुगेकी २५ वर्षीया सीता विकले त्यहाँ अनेक खालका शोषण र हिंसा भोग्नुपर्‍यो । उद्धारपछि सात वर्षदेखि शक्ति समूहको आश्रयमा रहेकी उनी हस्तकलाका सामान बनाउने तालीम लिन जापान नै पुगिन् ।

सन् २०१० मा जापानको ओसाका शहरमा रहेको ‘एशियन वुमन्स इम्पावरमेन्ट प्रोजेक्ट’ अन्तर्गत एक महीना तालीम लिएर फर्केपछि उनी प्रशिक्षक बनिन् । उनी अहिले शक्ति समूहको हस्तकला शाखाको व्यवस्थापक छिन् ।

महिला तथा बालबालिका बेचबिखन विरुद्धको क्षेत्रमा कहलिएको अर्को संस्था माइती नेपालले पनि पुनस्र्थापना केन्द्रमा महिलाहरूलाई जीविकोपार्जनका लागि सीप सिकाएको छ ।

त्यहाँ उत्पादित सामान अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, स्वीडेन, जर्मनी, स्पेन, स्वीट्जरल्याण्डलगायतका देशमा निर्यात हुन्छन् । माइती नेपालको पुनर्स्थापना केन्द्रमा मोबाइल फोन, आईप्याड र ल्यापटपका खोल, गरगहना राख्ने बाकस, माला, टेबुलको बुट्टा, टेबुलको फ्रेम, पर्स र कि–रिङ बनाइन्छ ।

माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार, विभिन्न देशमा आयोजना हुने प्रदर्शनीहरूमा राखेर पनि ती सामान बिक्री गरिन्छ ।

त्यसबाहेक संस्थागत र व्यक्तिगत माग अनुसार पनि हस्तकलाका सामान उत्पादन र निर्यात हुन्छ । स्तरीय हुने भएकाले मूल्यका कारण ती सामान नेपालमा कम बिक्री हुने माइती नेपालका आश्रय संयोजक सुमित्रा श्रेष्ठ बताउँछिन् । 

अमेरिका निर्यात भइरहेको कटनको धागोबाट बनेको पन्चु ।

सीपले आत्मनिर्भर
माइती नेपालले हरेक महीना हिंसापीडित महिलाले बनाएका रु.२ लाखका सामान विदेश निर्यात गरिरहेको छ । त्यसबाट बनाउनेले न्यूनतम ६० प्रतिशत रकम पाउँछन् । जस्तो, एउटा आईप्याडको खोल रु.२ हजारमा बिक्री हुँदा त्यो बनाउने महिलाले रु.१२०० पाउँछिन् ।

यसले हिंसापीडित महिलाहरूलाई जीविकोपार्जनमा सक्षम बनाएको माइती नेपालका निर्देशक खड्का बताउँछन् । विगतमा कुनै संस्थासँगको सम्पर्कमार्फत मात्र बिक्री हुने हस्तकलाका सामान अहिले जसले पनि किन्न सक्ने गरी अनलाइन बिक्रीको पनि व्यवस्था छ ।

माइती नेपालले आफ्नो पुनर्स्थापना केन्द्रमा रहेका महिलाहरूलाई व्यावसायिक सीप वृद्धिका लागि इच्छाएको सीप सिकाउने गरेको छ । माइती नेपालको पुनस्र्थापना केन्द्रमा सामान बनाएर बिक्री गर्ने २० जना महिलामध्ये एक हुन्– नुवाकोटकी ३७ वर्षीया सीता लोहनी ।

उनी पोते, कटनको झेलालगायतका सामान बनाउन सिपालु छिन् । घरेलु हिंसामा परेपछि माइती नेपालमा आश्रय लिएकी उनी भन्छिन्, “जीवनमा धेरै पीडा भोग्नुपरे पनि अहिले आर्थिक चिन्ता हराएको छ ।”
(रिपोर्टमा उल्लिखित शक्ति समूहको पुनर्स्थापना केन्द्रमा रहेका हिंसापीडित महिलाहरूको नाम परिवर्तन गरिएको छ ।)

प्रतिकृया दिनुहोस