ब्लगशनिवार, पौष १, २०७४

रुघाखोकीको मौसम

डा. सुमनराज ताम्राकार

जाडो मौसममा विशेषतः बालबालिका र वृद्धवृद्धाहरु रुघाखोकीलगायतका स्वास्थ्य समस्यासँगै आगोले पोल्ने, निस्सासिने, कार्बन मोनोअक्साइडको घातक असरमा पर्ने गर्छन्।

मंसीर लागेसँगै तापक्रम घटेर जाडो बढ्ने क्रम निरन्तर छ । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ । श्वासप्रश्वास प्रणालीको माथिल्लो भागको भाइरल संक्रमणलाई आम रूपमा रुघाखोकी भन्ने गरिन्छ । सयौं खालका भाइरसका कारण हुनसक्ने रुघाखोकी आफैं निको हुने वा संक्रामक हुन्छ । 

चिसो मौसममा बढ्ता देखिने रुघाखोकी प्रत्येक पटक नयाँ खालका भाइरसका कारण हुन्छ । प्रतिरोधात्मक क्षमताको अभावमा पटक–पटक लाग्छ । किशोर र वयस्कलाई भन्दा बालबालिका र वृद्धवृद्धालाई धेरैचोटि रुघाखोकी लाग्नुको कारण प्रतिरोधात्मक क्षमताको कमी नै हो ।

सफा बस्ने, आराम गर्ने
रुघा लाग्दा नाक बन्द हुने, पातलो सिंगान बग्ने, घाँटीमा खसखस हुने, हाच्छिउँ आउने, नाके स्वर हुने, खोकी लाग्ने, हल्का ज्वरो आउने, जीउ दुख्ने र टाउको दुख्ने हुनसक्छ । यस्तो लक्षण मोटामोटी एक हप्तासम्म रहन्छ ।

संक्रमित व्यक्तिले खोक्ने, हाच्छिउँ गर्ने क्रममा संक्रमित श्राव तथा श्वासबाट अन्यलाई सर्न सक्दछ । रुघाखोकीको संक्रमण कलम, मोबाइल, किताब, कम्प्युटर, भाँडाकुँडाको माध्यमबाट पनि सर्न सक्छ ।

बेलाबेला बर्ड फ्लू, स्वाइन फ्लू जस्ता भाइरल संक्रमण देखा पर्न थालिसकेकाले रुघाखोकीलाई सामान्य रूपमा लिनुहुँदैन । सामान्य रुघाखोकीको दाँजोमा फ्लू लाग्दा कडा खालको ज्वरो आउने, टाउको साह्रै दुख्ने, सुक्खा खोकी लाग्ने र निकै शिथिल हुने हुन्छ ।

सामान्यतः रुघाखोकी आफैं निको हुने रोग हो, तर संक्रामक खालको फ्लू हो, होइन छुट्याउन रगत, र्‍याल वा नाक एवं घाँटीको श्रावको ल्याब परीक्षणबाट निक्र्योल हुन्छ ।

सामान्य रुघाखोकी भाइरसको कारण हुने हुनाले यसको लागि ब्याक्टेरिया विरुद्ध दिइने एन्टिबायोटिक्स् (प्रतिजैविक) औषधि चाहिंदैन । तर सास फेर्न गाह्रो हुँदै जाने, तारन्तार बान्ता हुने, छाती दुख्ने, पाकेको खकार आउने, छटपटी हुने भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु बुद्धिमानी हुन्छ ।

रुघाखोकी लाग्दा पटक–पटक साबुनपानीले हात धुने, नाक–मुख छोप्ने, टिस्यू पेपर वा रुमालले नाक–मुख पुछ्ने, हात नधोई बारम्बार नाक, मुख र आँखामा हात नपुर्‍याउने, संक्रमित व्यक्तिबाट टाढै रहने गर्नुपर्छ । प्रशस्त आराम गर्नुका साथै झेलिलो खानेकुरा बढी खानुपर्छ ।

रुघाखोकीले सताएको बेला केही दिन विद्यालय, कार्यालय वा अन्य काममा नजानु राम्रो हुन्छ ।

बालबालिकामा रुघाखोकी
मानिसलाई लाग्ने थुप्रै रोगमा प्रत्यक्ष वातावरणीय प्रभाव हुन्छ । जाडो मौसममा तुलनात्मक रूपमा सरुवा रोगहरू कम लागे पनि श्वासप्रश्वास सम्बन्धी समस्या (संक्रमण) बढ्छ । पाँच वर्षभन्दा मुनिका बालबच्चामा श्वासप्रश्वास सम्बन्धी समस्या अझ् बढी हुन्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्याहरूमा रुघाखोकी र निमोनिया नै प्रमुख हो । फोक्सोमा असर गरिसकेको वा पाकिसकेको अवस्थालाई निमोनिया भनिन्छ ।

पाँच वर्ष मुनिका बालबालिकाको लागि यो जटिल अवस्था हो । यो उमेर समूहमा साधारण रुघाखोकीबाट निमोनिया हुने लक्षण चिह्नबारे जानकारी भएको खण्डमा तुरुन्त डाक्टर वा स्वास्थ्यकर्मीसँग सल्लाह लिने जागरुकता आउँछ ।

साधारण रुघाखोकी लाग्दा बालबालिकालाई पनि पातलो सिंगान आउने, पटक–पटक हाच्छिउँ आउने, नाक–कान बन्द भएजस्तो हुनुका साथै कान कम सुन्ने, आँखा रातो र रसिलो हुने, खोकी लाग्ने, घाँटी खसखसाउने, हल्का ज्वरो आउने, टाउको, मांसपेशी र सारा जीउ दुख्ने हुन्छ ।

रुघाखोकीको साधारण अवस्था छ भने बालबालिकालाई झेलिलो खानेकुरा बढ्ता खुवाउने, न्यानो राख्ने, चिल्लो खाद्य पदार्थ कम पार्ने, नाक–मुख सफा गरिदिने, हल्का नुन, अदुवा, कागती हालेको पानी खुवाउनेलगायतका घरेलु उपचार गर्न सकिन्छ ।

साथै ज्वरोका लागि उमेर अनुसारको मात्रा बनाएर सिटामोल खुवाउनुपर्छ । एक वर्ष मुनिका बालबच्चालाई विशेषतः आमाको दूध खुवाइराख्ने र कोल्टे सुताउने गर्नुपर्छ ।

रुघाखोकी बिग्रिएर निमोनिया हुँदा एण्टीबायोटिक्सको जरुरत पर्न सक्छ । बालबच्चालाई निमोनिया हुँदा रुघाखोकी लाग्दाकै लक्षणहरूको अलावा छिटो–छिटो सास फेर्ने, घ्यार–घ्यार हुने, हातखुट्टा र मुख नीलो हुने, आमाको दूध नचुस्ने, खाएको बान्ता गर्ने, धेरै ज्वरो आउने, खकार आउने, बच्चा शिथिल हुने हुन्छ । त्यस्तो अवस्थालाई जटिल स्थितिको रूपमा लिनुपर्छ ।

प्रतिकृया दिनुहोस