रिपोर्टशुक्रवार, मंसिर २९, २०७४

विश्वबजारमा नेपाली ब्राण्ड

मस्त केसी

नेपालमै बनेका केही ब्राण्ड विश्वभर पुगेका मात्र छैनन्; अब्बलसमेत देखिएका छन्।


काठमाडौं नयाँबानेश्वरमा रहेको लोगो फेशन इण्डष्ट्रिजको आउटलेट । तस्वीरः लोगो फेशन

काठमाडौंस्थित किरण शूज म्यानुफ्याक्चरिङ प्रालिको गोल्डस्टार जुत्ताले धेरै मुलुकको जमीन छोइसकेको छ । कम्पनी आफैंले भने भारत, भूटान, मलेशिया र अष्ट्रेलियामा जुत्ता निर्यात गरिरहेको छ । बाँकी विश्वबजारमा भने, अधिकृत बिक्रेताहरूमार्फत पुगिरहेको छ । 

आश्चर्य लाग्न सक्छ, अहिले गोल्डस्टार जुत्ता लगाउने स्वदेशीभन्दा विदेशी तेब्बर बढी भइसकेका छन् । नेपाली बजारमा वार्षिक ३५ लाख जोर जुत्ता बिक्री भइरहेको गोल्डस्टार विदेशमा भने एक करोड जोर निर्यात हुन्छ । कम्पनीका ब्राण्ड मार्केटिङ अफिसर रेशम भण्डारी विदेशी बजारमा वर्षेनि २५ प्रतिशतले माग बढिरहेको बताउँछन् । “भूटानको सुरक्षा निकायलाई त टेण्डरमार्फत नै गोल्डस्टार आपूर्ति गरिरहेका छौं”, भण्डारी भन्छन् ।

नेपाली गलैंचा, पस्मिना, मूर्ति, चाँदीका भाँडाकुँडा, हस्तकलाका सामान विश्वबजारमा पुग्न थालेको वर्षौं भइसकेको छ । तर, पछिल्लो समयमा अन्य उत्पादनले पनि नपत्याउँदो गरी ‘नेपाली ब्राण्ड’ नै स्थापित गरिरहेका छन् । कतिपयले त अन्तर्राष्ट्रिय ब्राण्डकै ख्याति बनाइसकेका छन् ।

त्यसमध्येमै पर्छ– वाइवाइ चाउचाउ । फोब्र्स पत्रिकामा विश्वका खर्बपतिको सूचीमा परेका नेपालका एकमात्र व्यापारी विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपको वाइवाइ दक्षिणएशिया, जापान, क्यानाडा, बेलायत, अमेरिकालगायत विश्वका ३० भन्दा बढी राष्ट्रमा निर्यात भइरहेको छ ।

कम्पनीले हालै मात्र यूरोपेली मुलुक सर्बियामा १६औं उत्पादन प्लान्ट स्थापना गरेको छ । २०४१ सालमा अन्तर्राष्ट्रिय ब्राण्ड अधिकारसहित थाइल्याण्डबाट वाइवाइ ब्राण्ड भित्र्याएका चौधरीले सन् २०२० भित्र विश्वका १० वटा देशमा प्लान्ट स्थापनाको योजना बनाएका छन् ।

अहिले विश्वमा दुई अर्ब ३० करोड प्याकेट बिक्री भइरहेको वाइवाइ ले विश्वको चाउचाउ बजारको २.३ प्रतिशत हिस्सा ओगटेको चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन तथा जनसम्पर्क अधिकृत मधुसूदन पौडेल बताउँछन्  । “बिक्रीका हिसाबले भारतमा वाइवाइ दोस्रो नम्बरमा छ ।” पौडेल भन्छन्, “वाइवाइले भारतीय नुडल्स बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ ।”

क्विक सर्भिस रेस्टुरेन्टको अवधारणामा सञ्चालनमा ल्याइएको सीजी फुड्सकै नूडल्स बार ‘वाइवाइ सिटी’ को बिक्री पनि बढ्दो छ । वाइवाइ सिटी भारतको नयाँदिल्लीलगायत चार शहरमा विस्तार भइसकेको छ । सन् २०१८ भित्र भारत र यूरोपेली मुलुकमा गरी एक सयवटा वाइवाइ सिटी स्थापना गर्ने योजना रहेको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ट्वीटमार्फत बताउँछन् । 

१९ असोजमा सर्वियामा वाइवाइ प्लान्टको उद्घाटन गर्दै सर्वियाका राष्ट्रपति अलेक्सान्द्र भुचिच र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी । 
तस्वीरः चौधरीको ट्विट

नेपालमा ‘कफी कल्चर’ को हिमायती मानिने हिमालयन जाभा को स्वाद विश्वव्यापी रूपमै फैलिएको छ । सन् १९९९ मा काठमाडौंमा खोलिएको हिमालयन जाभा का ‘आउटलेट’ र ‘फ्रेन्चाइज’ अमेरिका, थाइल्याण्ड, भूटान, बेलायत र क्यानाडामा खुलेका छन् । अमेरिकामा मात्रै नेपाली ब्राण्ड हिमालयन जाभा का चारवटा आउटलेट छन् । हिमालयन जाभा फ्रेन्चाइज डिभिजनकी प्रमुख प्रज्ञा पोखरेल थप देशबाट फ्रेन्चाइजको माग उत्तिकै आइरहेको बताउँछिन् ।

नेपाली कफीको उत्पादन, ब्राण्डिङ र प्रवद्र्धन गर्ने योजनाका साथ हिमालयन जाभा ले कफी खेती पनि गरिरहेको छ । दुईवटा कफी ट्रेनिङ (वारिष्टा) स्कूल पनि सञ्चालनमा ल्याएको छ । स्कूलमार्फत दक्ष वारिष्टाले आफैं कफी पसल खोलेर स्वरोजगार बनिरहेका छन् ।

भक्तपुरमा उद्योग रहेको लोगो फेशन इण्डष्ट्रिजद्वारा उत्पादित कपडा पनि देशभन्दा बढी विदेशमा चिनिएका छन् । सन् १९९३ मा दुबईबाट शुरू भएको लोगोले अहिले जर्मनी, अष्ट्रिया, बेलायत, फ्रान्स, इटालीलगायतका मुलुकमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ । काठमाडौं उपत्यकामा मात्रै लोगो फेशन का चारवटा आउटलेट छन् ।

“नेपालमा कार्यरत कूटनीतिक नियोगका कर्मचारी पनि लोगो फेशन का नियमित ग्राहक हुन्”, लोगो फेशन का अध्यक्ष हीरा मोक्तान भन्छन् । सस्तोमा उच्च गुणस्तरीय सामग्री भएकै कारण विदेशीहरूले नेपाली उत्पादन रुचाएको उनको बुझाइ छ ।

हिमालका लागि विश्व समुदायमा परिचित नेपालले आरोहणमा वा हाइकिङमा प्रयोग हुने कपडाका लागि पनि प्रसिद्धि कमाएको छ । यसका लागि शेर्पा एड्भेन्चर गियर र सोनाम गियरको खास योगदान छ ।

यसमध्ये शेर्पा एड्भेन्चरले ज्याकेट, डाउन ज्याकेट, स्वेटर, हुकलगायतका उत्पादनका माध्यमबाट विश्वका धेरै मुलुकमा न्यानो छरेको छ । शेर्पा एड्भेन्चर गियरले त अमेरिकामा आउटलेट नै खोलिसकेको छ । त्यस्तै विभिन्न डिलर र प्रयोगकर्तामार्फत शेर्पा का उत्पादन पश्चिमा देश विशेषगरी यूरोपेली मुलुकहरूमा पुगिरहेका छन् । 

सोनाम गियरका उत्पादन पनि नेपाली र विदेशीहरूबीच उत्तिकै लोकप्रिय छन् । सोनाम का लेडिज ब्राण्ड पनि उत्तिकै प्रिय मानिन्छन् । उपत्यकाका सात र पोखराका दुई स्थानमा आउटलेट राखेको सोनाम का बढी ग्राहक नेपाली नै भए पनि विदेशीले खोज्ने क्रम बढेको प्रबन्धक अमित लामा बताउँछन् । “हिमाल, पहाड चढ्दा, ट्रेकिङ जाँदा मात्रै हैन, न्यानो कपडा चाहिएमा पनि हाम्रै आउटलेटसम्म आइपुग्छन्”, उनी भन्छन् ।

काठमाडौंको कोबोल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालय घडीको मुख्यालय भने अमेरिकामा छ । डायलमा सगरमाथाको चट्टान र अधिक चिसो खप्न सक्ने क्षमताकै कारण कोबोल्ड हिमालय सिरिजका घडी यूरोपेली मुलुकका नागरिकको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ । यो घडीको मूल्य रु.२ लाखदेखि झण्डै रु.१७ लाखसम्म पर्छ । ‘निर्यातभन्दा पनि नेपाल आउने विदेशीहरूले कोबोल्ड हिमालय सिरिजका घडी खरीद गर्छन्’ कोबोल्डको वेबपेजमा लेखिएको छ ।

रसुवामा रहेको हिमालयन स्प्रिङ वाटरले सन् २००८ देखि हिमालयज अनटप नामक मिनरल वाटर उत्पादन गरिरहेको छ । शुरूआतताका कोरिया, जापान, साउदी अरब, कुबेत, अमेरिकामा समेत पुगेको हिमालयज अनटप पछिल्ला दुई वर्ष भने स्वदेशमै केन्द्रित छ । कम्पनीका जनसम्पर्क अधिकृत रामेश्वर खड्का नेपालमै स्टार होटलको वृद्धि र विदेशीको बढ्दो आगमनले विदेश बजारमा आपूर्ति गर्न समस्या परिरहेको बताउँछन् । “विदेशबाट माग आइरहेकै छ । त्यसैले फेरि निर्यातको तयारीमा छौं”, उनी भन्छन् ।

आफ्नोपन र आत्मनिर्भर
अमेरिकाको क्यालिफोर्नियामा रहेका काठमाडौंका सुरेश पुडासैनी नेपालमा बनेको शेर्पा कै ज्याकेट लगाउने गरेको बताउँछन् । “नेपालमा बनेको ट्यागले गर्व र अपनत्व महसूस हुन्छ”, उनी भन्छन् । विदेशीलाई उपहार दिनुपर्दा पनि नेपालमै बनेको सामग्री दिने गरेको उनी बताउँछन् । 


दरबारमार्गस्थित शेर्पा एड्भेञ्चर गियरको आउटलेट । तस्वीरः शेर्पा एड्भेञ्चर

लोगो फेशन का हीरा मोक्तान विदेशमा बस्ने नेपालीहरूले नेपाली उत्पादनबारे निकै चासो राख्ने गरेको बताउँछन् । “विदेशमा हुँदा देशको भावना बढ्ने भएर नै होला, स्वदेशी उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ” उनी भन्छन्, “भारतको नाकाबन्दीपछि बजार झनै बढेको छ ।”

किरण शूजका रेशम भण्डारी पनि विदेशमा बस्ने नेपालीहरू नै गोल्डस्टार का मुख्य प्रयोगकर्ता भएको बताउँछन् । भन्छन्, “हलुका, सस्तो र बलियो भएकाले पछिल्लो समय विदेशीहरूले पनि रुचाउन थालेका छन् ।” सोनाम गियरका अमित लामा पनि नेपालबाट उपहारका रूपमा सोनाम ब्राण्ड लैजाने क्रम बढेको बताउँछन् । “विदेशिएका नेपालीमा स्वदेशी उत्पादनप्रतिको ठूलो स्नेह देखिन्छ”, उनी भन्छन् ।

हिमालयन जाभा की प्रज्ञा पोखरेल विदेशीलाई नेपाली कफीको स्वाद चखाउन पनि नेपालीले चासो दिन थालेको बताउँछिन् । “नेपाली ब्राण्डको इज्जत राखे आफ्नो इज्जत पनि बढ्ने जस्तो पनि देखिएको छ”, उनी भन्छिन् ।

आफ्नो मुलुकमा उत्पादित सामग्री विश्वबजारमा पुग्नु गौरवको विषय मात्रै हैन मुलुक समृद्धिको दिशामा छ भन्ने संकेत पनि हो । “स्वदेशी उत्पादनले मुलुकलाई आत्मनिर्भरको बाटोमा डोर्‍याउँछ” लोगो फेशन का मोक्तान भन्छन्, “यस्ता उत्पादनले विश्वबजारमा मुलुकको परिचय दिनुका साथै आयात प्रतिस्थापनमा समेत ठूलो भूमिका खेल्छ, व्यापार घाटा घटाउँछ ।”

थाइल्याण्डको बैंकक्‌मा रहेको हिमालयन जाभाको फ्रेन्चाइज । तस्वीरःहिमालयन जाभा

स्वदेशी उत्पादनका उपभोक्ता बढ्दा ठूलो रकम विदेशिनबाट समेत जोगिन्छ । आयातको तुलनामा निर्यात कैयौं गुणा बढी भएकाले मुलुकले व्यहोर्ने व्यापार घाटा वर्षेनि बढिरहेको छ । अर्थशास्त्री डा. डिल्लीराज खनाल स्वदेशी उत्पादनले बाह्य व्यापारलाई सन्तुलनमा ल्याउने र त्यस दिशामार्फत मुलुक समृद्धिको बाटोमा लम्कने बताउँछन् । “व्यापार घाटा कम गर्दै आत्मनिर्भर हुन अहिलेका लागि योभन्दा अर्को विकल्प छैन”, उनी भन्छन् । तर, यसका लागि ऐन, नियममा भएका नीतिगत त्रुटि सच्याएर लगानीमैत्री वातावरण बनाउनुपर्ने उनको जोड छ ।

स्वदेशी उद्योगहरूले स्थानीय रोजगारी र आर्थिक गतिविधिमा ठूलो योगदान दिएका छन् । हिमालयन जाभा की पोखरेल स्वदेशमा शतप्रतिशत र विदेशमा रहेका आउटलेटहरूमा अधिकांश नेपाली कामदार नै रहेको बताउँछिन् ।

‘ब्राण्डिङ’ हुनै बाँकी
विश्वबजारले कतिपय नेपाली उत्पादन वर्षौंदेखि प्रयोग गरिरहेको भए पनि ब्राण्डिङको अभावका कारण ती उत्पादनले नेपाली चिनारी पाउन सकेका छैनन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, नेपालबाट अर्ध–प्रशोधित कच्चा पदार्थ र तयारी वस्तुको रूपमा १६२ प्रकारका जडीबुटी र ९२ प्रकारका सामग्री विभिन्न देशमा निकासी भइरहेका छन् ।

चिया, कफी, मह, घ्यू, चिज, च्याउ, सुकुटी, अलैंची, अदुवालगायतका सामग्री विश्वबजारमा निर्यात हुन थालेको धेरै भइसकेको छ । नेपाली चिया भारत, चीनलगायत ३१ मुलुकमा निर्यात हुँदै आएको छ ।

नेपालमा बहुमूल्य पत्थर जोडेर बनाइएका सुन र चाँदीका गहना यूरोप, अमेरिका र जापान निर्यात हुने गरेका छन् । धरानबाट शुरू भएको बराह ज्वेलरीले काठमाडौं, पोखरा, बेलायत र हङकङमा समेत बजार विस्तार गरेको छ । नेपालमा डिजाइन गरिएका सुन तथा हीराका गहना क्यानडा, अष्ट्रेलियालगायतका सम्पन्न राष्ट्रहरूमा निर्यात हुन थालेको पनि धेरै भइसकेको छ ।

हिंवा, डिभाइन, डाँडाघरे लगायतका वाइन, खुकुरी रमलगायतका नेपाली उत्पादन पनि विदेश पुग्न थालेको धेरै भइसक्यो । तर, प्रचारप्रसार र लगानी अभावका कारण ब्राण्डकै रूपमा जम्न भने सकेका छैनन् । डिभाइन वाइनका प्रबन्ध निर्देशक सन्तोष खड्का विदेशीहरूले नेपाली वाइन रुचाएको तर ब्राण्डिङ गर्न नसकेको स्वीकार्छन् । “स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र निर्यातमा सघाउने सरकारी नीति नै छैन, अहिले भइरहेको त निजी क्षेत्रको एकल प्रयास मात्र हो”, उनी भन्छन् । उद्योगमैत्री नीतिसँगै कामदार र उद्योगीबीचका समस्या, कच्चा पदार्थको आयातले पनि निर्यातमा बाधा पारिरहेको व्यवसायीको भनाइ छ ।

विदेशमा परिचित

चर्चित कार्टून स्तम्भ फलानो का सर्जक राजेश केसीको अर्को सिर्जना हो, फलानो लुगा । सन् २०१२ देखि केसीले सञ्चालन गरेको फलानो लुगा स्वदेशमा मात्र होइन, विदेशीमाझ पनि परिचित हुन थालेको छ । ललितपुर र काठमाडौंमा तीनवटा आउटलेट रहेको फलानो लुगा उपहार र चिनोका लागि अमेरिका, बेलायत, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकहरूमा पुगिसकेका छन् ।

गौतम बुद्ध, धरहरा, सगरमाथाका साथै नारायणगोपालदेखि अमृत गुरुङसम्मले गाएका गीतका हरफ प्रिन्ट गरेर कलात्मक टी–सर्ट तयार पार्दै आइरहेका केसी मौलिकता झल्कने भएकैले फलानो लुगा को व्यापार फस्टाइरहेको बताउँछन् । “पछिल्लो समय नेपालमा बसिरहेका विदेशीले पनि मन पराउन थालेका छन्”, केसी भन्छन् । उत्पादनको बजार बढेसँगै काठमाडौंको दरबारमार्गमा छिट्टै नयाँ आउटलेट सञ्चालनको तयारी गरिरहेको पनि उनी बताउँछन् ।

प्रतिकृया दिनुहोस