रिपोर्टशुक्रवार, मंसिर २९, २०७४

श्रीमानलाई निषेध प्रसव कक्ष !

सविना देवकोटा

प्रसव कक्षमा श्रीमानलाई पस्नै नदिने अस्पतालको आफूखुशी नियमले श्रीमतीको असह्य पीडामा साथ र साक्षी बन्ने अधिकारबाट बञ्चित गरिरहेको छ।

पोखराका रमेश अधिकारीले कसोकसो पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसव कक्ष (लेबर रुम) मा छटपटिंदै गरेकी श्रीमतीलाई हेर्ने मौका पाए । आफ्नो गर्भाधानपछि श्रीमती (सविता ओली) ले बोक्नुपरेको मातृत्वको कष्ट देखेर उनको मस्तिष्क खल्बलियो । श्रीमतीमाथिको माया एकाएक सम्मानमा बदलियो । 

अन्तिम समयमा शल्यक्रिया गर्नुपर्ने भएकाले पूरै प्रक्रिया त हेर्न पाएनन् तर, प्रसवको पीडा नै उनका लागि पर्याप्त थियो । “त्यो बेला आमा शब्दको गरिमा पहिलोपटक महसूस भयो”, दुई वर्षअघिको त्यो दृश्य सम्झँदै अधिकारी भन्छन्, “ज्ञानको हिसाबमा त विश्वविद्यालय झैं बन्यो ।”

प्रसव कक्षको दुर्लभ दृश्यका साक्षी अधिकारीले आफ्नो अनुभव भाइ सुरेश रमणसँग पनि साटे । दाइकै सल्लाहमा उनले पनि श्रीमती (गीता सुवेदी) को प्रसव वेदना हेर्न पाउने व्यवस्था मिलाउन गएको ११ कात्तिकमा पश्चिमाञ्चल अस्पताल प्रशासनलाई आग्रह गरे । तर प्रशासनले ‘पुरुष छिर्न नमिल्ने’ भनेर उनलाई बाहिरै रोक्यो ।

ईश्वर मिश्रसँग भने ‘प्रसव कक्ष’ का दुई फरक अनुभव छन् । सन् २००४ मा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको लेबर रुम नजिकैबाट चियाउन खोज्दा नर्सले ‘लेबर रुममा केटा मान्छे छिर्न मिल्दैन भन्ने थाहा छैन ?’ भन्दै झपारेको उनी अहिले पनि सम्झन्छन् । तर, सन् २०११ मा दोस्रो सन्तानको समयमा भने ठीक उल्टो भइदियो ।

तर, त्यो काठमाडौं नभई बेलायतको लण्डन थियो । “नर्सहरूले लेबर रुममा सहभागी हुने मन छ कि छैन भन्दा त म अचम्ममा परें, साह्रै खुशी लाग्यो”, उनी भन्छन् । प्रसव पीडा नियाल्न पाएका उनले बच्चा जन्मिएपछि सालनाल काट्ने मौका पनि पाए । “नेपालको लेबर रुम बाहिर कुर्दा एकदमै अनिश्चय र चिन्ता छाएको थियो तर लण्डनमा ढुक्क भयो”, उतै रहेका मिश्र भन्छन् ।

रमेश अधिकारी श्रीमती सविता ओली र छोरीका साथ।

अधिकारीले ‘कसोकसो’ र मिश्रले ‘ढुक्क’ ले पाएको प्रसव कक्षको अनुभव आम नेपाली परिवारका लागि भने अझै पनि अव्यावहारिक बनिरहेको छ । अपवादवाहेक मुलुकका अधिकांश अस्पतालले प्रसव कक्षभित्र श्रीमानलाई सहभागी गराउनु त परको कुरा, प्रवेशद्वारबाटै बाहिर राख्छन् । किन त ? वैज्ञानिक जवाफ भने पाइँदैन ।

गोपनीयताको वहाना
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रसूति वार्डको प्रसव कक्षमा पनि पुरुषलाई निषेध छ । कक्षकी नर्सिङ अफिसर देवीमाया गुरुङ भन्छिन्, “हेर्न चाहेमा नदिने नै भन्ने त होइन, तर लेबर रुममा धेरैलाई एकैपटक सुत्केरी गराउनुपर्ने भएकाले गोपनीयताको कारण सम्भव नभएको हो ।” 

थापाथलीस्थित प्रसूति गृहको जवाफ पनि उही छ । प्रसूति गृहकी लेबर रुमकी सिस्टर इन्चार्ज, इन्दिरा ढुङ्गेलका अनुसार सुत्केरी बेथाको समयमा प्रत्येक कोठामा तीन जना राखिने भएकाले नै श्रीमानलाई प्रवेश नदिइएको हो । प्रसूति गृहकै ‘बर्थिङ सेन्टर’ मा भने यो सुविधा दिइएको उनी बताउँछिन् ।

पोखराका अधिकारी भने जुनसुकै वहानामा प्रसव कक्षमा श्रीमानलाई पस्न नदिनु गलत भएको बताउँछन् । “प्रसवका बेला महसूस हुने पीडा श्रीमानसँग साट्न नपाउनु महिला र पुरुष दुवैमाथि अन्याय हो”, अधिकारी भन्छन् ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती प्रसव कक्षमा श्रीमानको उपस्थितिले श्रीमतीलाई पीडा खप्न मनोवैज्ञानिक रूपमा बलियो बनाउने बताउँछिन् । “त्यसबाहेक लेबर रुमको प्रत्यक्ष अवलोकन र सहभागिताले पुरुषहरूमा महिलाप्रति सम्मान र प्रेम थपेको अनुभव दम्पतीहरूबाट सुनेकी छु”, उप्रेती भन्छिन् । यसले बाबुमा बच्चाप्रतिको जिम्मेवारी बढाउन पनि सहयोग पुग्ने उनको ठम्याइ छ ।

पुरुषले प्रसव पीडामा प्रत्यक्ष साथ दिंदा महिलालाई भावनात्मक रूपमा निकै सहज हुने मनोविद् डा. सरोज वझा बताउँछन् । “तर, नेपालको सामाजिक–सांस्कृतिक संरचनाले श्रीमानको जिम्मेवारीलाई खुम्च्याइदिएको छ”, उनी भन्छन् ।

काठमाडौंको ग्रान्डी इन्टरनेशनल हस्पिटल र ओम अस्पतालले भने प्रसूति कक्षमा श्रीमानको प्रवेशलाई सहज बनाएका छन् । “सामान्य अवस्थामा सुत्केरी गराइने महिलाका हकमा श्रीमानलाई प्रसव कक्षमा बस्ने अनुमति दिइएको छ”, ग्राण्डीका प्रसूति विभाग प्रमुख डा. पदमराज पन्त भन्छन् । ओम अस्पतालका डा. जागेश्वर गौतम पनि श्रीमानले चाहेमा प्रसव कक्षमा प्रवेश पाउने बताउँछन् ।

त्यो अविस्मरणीय अनुभव
‘लेबर रुम’ मा श्रीमतीको पीडा देखेकै कारण मायालु श्रीमान र जिम्मेवार बुबा बन्न प्रेरित गरिरहेको छ।
राकेश तिवारी

अष्ट्रेलियामा प्रत्येक श्रीमानलाई बाबु हुनुअघि तयारीस्वरुप प्रारम्भिक ज्ञान दिइँदोरहेछ । त्यही क्रममा मैले प्रसूति बेथाअघिको लक्षणबारे आधारभूत जानकारी पाएको थिएँ । 

श्रीमतीसँग राकेश तिवारी ।

गएको २४ वैशाख बेलुकी साढे आठ बजेको थियो । श्रीमती (अनुष्का) को यौनाङ्गबाट पानी बग्न थालेछ । पानीको रङ्ग स्वाभाविक नै थियो । तर, पहिलो सन्तान भएकाले मनमा उत्साह र अत्यास दुवै थियो । अस्पताल पुग्नेबित्तिकै सामान्य जाँच गरियो । रिपोर्ट सामान्य देखियो ।

राति दश बजेपछि भने उनको पेट दुख्न थाल्यो । आडमा उभिनुबाहेक म के नै गर्न सक्थें र ! उनको हात र टाउको समाउँदै बेलाबेलामा साउती मारेर भनिरहें– सबैकुरा ठीक हुन्छ, हामी बाबुआमा हुँदैछौं ! तर, १२ बजेतिर उनी कहालिन थालिन् । उनको पीडा देख्दा ग्लानि महसूस भयो । बच्चा नै नजन्माएको भए हुनेरहेछ भन्ने लाग्यो ।

डाक्टरले अक्सिजन दिए । त्यसबीचमा पनि मैले उनलाई बारम्बार भनिरहें– म तिमीसँगै छु । चिन्ता नगर, केही हुन्न ।

डाक्टरहरू प्रत्येक पटक आउँथे र यौनाङ्गको मुख पूरै खोलिए, नखोलिएको हेर्थे । रातको तीन बजिसकेको थियो । तर उनको पीडा कत्ति पनि कम भएको थिएन ।

बिहान साढे पाँच बजेतिर बल्ल यौनाङ्गको मुख पूर्ण रुपमा खुल्यो । तर, झन् धेरै पीडा खप्नुपर्ने भयो । त्यतिखेरसम्म उनी नराम्ररी थाकिसकेकी थिइन् । म असहाय थिएँ । केहीबेर जोडले बल गरेलगत्तै उनी रुन थालिन् । मैले थप उत्प्रेरित गर्न थालें । एकछिनपछि बच्चाको टाउको निस्कियो । मैले सुस्तरी सुनाएँ, पीडाको बाबजूद उनी ‘साँच्चै हो ?’ भन्दै खुशी भइन् । थप बल गर्न भनें ।

एकैछिनमा बच्चा जन्मियो । हामीले राजकुमारी पायौं । अष्ट्रेलियामा बच्चाको लिङ्ग पहिले नै भनिदिने गर्छन् । तर हामीले गोप्य राख्न चाहेकोले छोरा हुँदैछ कि छोरी भन्ने थाहा थिएन ।

त्यसपछि मलाई साल काट्न दिइयो । नर्सहरूले छोरीलाई आमाको छातीमा टँसाइदिए । पीडाले थकित श्रीमती बच्चा हातमा लिएपछि मीठोसँग मुस्कुराइन् । म दङ्ग भएँ । उनी एकैसाथ श्रीमती र आमा भइरहेकी थिइन् ।

श्रीमतीले सहेको त्यो पीडाको दृश्य अहिले पनि गाढा भएर आउँछ, जसले बारम्बार मायालु श्रीमान र जिम्मेवार बाबु बन्न प्रेरित गर्छ । मलाई लाग्छ, हरेक श्रीमानले ‘लेबर रुम’ को अनुभव लिनैपर्छ ।

प्रतिकृया दिनुहोस