समाचारबुधबार, २७ मंसिर , २०७४

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, प्रतिनिधिसभामा ९ दलको प्रतिनिधित्व

हिमालखबर

१० र २१ मंसीरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ ।

मुस्ताङको जोमसोममा वाम गठबन्धनको विजयी जुलुस । तस्वीरः सुन्दर थकाली

मत परिणामसँगै प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० गरी कूल ४९५ जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन् ।

निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९ वटा राजनीतिक दलका सांसद मात्र निर्वाचित भएका छन् ।

जसअनुसार नेकपा एमाले ८० क्षेत्रमा, नेकपा माओवादी केन्द्र ३६, नेपाली कांग्रेस २३, राष्ट्रिय जनता पार्टी ११ र संघीय समाजवादी फोरम १० क्षेत्रबाट निर्वाचित भएको छ ।

त्यसैगरी एक/एक सिटमा नयाँ शक्ति पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद निर्वाचित भएका छन् ।

हुम्लाबाट एकजना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीबाट ६ जना महिला सांसद निर्वाचित भएका छन् ।

 

अर्घाखाँचीको सन्धिखर्कमा वाम गठबन्धनले आयोजना गरेकाे विजयीसभामा सहभागीहरु । तस्वीरः रामलाल पराजुली फेसबूक

त्यस्तै प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा नेकपा एमाले १६८, नेकपा माओवादी केन्द्र ७३, नेपाली कांग्रेस ४१, संघीय समाजवादी फोरम २४ र राष्ट्रिय जनता पार्टी १६ क्षेत्रमा निर्वाचित भएका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक सांसद निर्वाचित भएका छन् ।

प्रदेशसभामा तीनजना स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

प्रदेशसभाका ३३० सिटमा १७ जना महिला सांसद निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस