समाचारमंगलबार, २६ मंसिर , २०७४

सिन्धुलीमा हावाबाट बिजुली उत्पादन

हिमालखबर

आज, २६ मंसीरमा नेपालकै सबैभन्दा ठूलो ‘हावाबाट चल्ने सोलार हाइब्रिड पावर सिस्टम’को शुरुआत भएको छ ।

तस्वीरः एडीबी

एशियन डेभलप्मेन्ट ब्यांक (एडीबी)को परियोजनामा सिन्धुलीको हरीहरपुरगढी गाउँमा ‘हाइब्रिड सोलार सिस्टम’को शुरुआत भएको हो ।

“स्वच्छ, विश्वसनीय र किफायती ऊर्जाको पहुँचले गाउँलाई न्यू मिडिया वा इन्टरनेट तथा मोबाइल फोनको माध्यमबाट संसारसँग जोड्न सहयोग गर्ने र स्थानीय आय बढाउन अवसर सिर्जना गर्दछ” एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्दन्वले भने– “मिनि ग्रिडबाट उत्पादित बिजुलीले गाउँमा व्यवसायीक गतिविधिको लागि ढोका खोल्दछ र साना व्यवसायलाई प्रोत्साहन गर्न मद्दत गर्दछ ।”

परियोजनाले ८३ ग्रामीण घरपरिवारमा विद्युतीय सेवा उपलब्ध गराएको छ । यसमा १५ किलोवाटका हावाबाट चल्ने टर्बाइन जडान गरिएको छ । गाउँमा ८७ किलोवाट बिजुलीको माग छ तर परियोजनाले दैनिक ११० किलोवाट ऊर्जा उत्पादन गर्दछ ।

यसलाई वैकल्पिक ऊर्जा सम्वर्धन केन्द्र (एईपीसी) द्वारा कार्यान्वयन गरिएको छ । “छ वर्ष पहिले नेपाल सरकारले एडीबीको सहयोगमा पश्चिम नेपालको दुहबीमा हावाबाट चल्ने मिनि ग्रेड ऊर्जा प्रणाली जडान गरेको थियो ।” एईपीसीका कार्यकारी निर्देशक रामप्रसाद धिताल भन्छन्– “यी दुई परियोजनाहरुको सफलताले प्रमाणित गरेको छ की ग्रामीण परिवेशका लागि हावाबाट निस्कने स्वच्छ ऊर्जा उपयुक्त विकल्प हो ।”

यो परियोजना ‘दक्षिण एशिया उपक्षेत्रीय ऊर्जा प्रणाली विस्तार’ अन्तर्गत शुरुआत गरिएको हो । परियोजना १६.२ मिलियन अमेरिकन डलरको लागतमा बनेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयका सचिब प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रलाई विस्तार गर्न एडीबीले गरेको सहयोगको प्रशंसा गरेका छन् ।

मनिलामा रहेको एडीबी आर्थिक वृद्धि, स्वच्छ ऊर्जा, क्षेत्रीय एकीकरणको माध्यमले एशिया तथा प्रशान्त क्षेत्रको गरीबी घटाउन क्रियाशील छ ।

 

 

 

प्रतिकृया दिनुहोस