सुर्खेतका सबै क्षेत्रमा वाम गठबन्धन निर्वाचित
सुर्खेतका दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
सुर्खेत क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका ध्रुवकुमार शाही र क्षेत्र नम्बर–२ बाट नवराज रावत निर्वाचित भएका छन् ।
शाहीले नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कालाई पराजित गरेका छन् भने रावतले पनि कांग्रेसकै नेता हृदयराम थानीलाई पराजित गरेका छन् ।
वाम गठबन्धनकातर्फबाट एमाले उम्मेदवार ध्रुवकुमार शाहीले पूर्व गृहमन्त्रीसमेत रहेका खड्कालाई ३,३८२ मत अन्तरले पराजित गरेका छन् ।
शाहीले ३६,७५९ मत ल्याए भने प्रतिस्पर्धी खड्काले ३३,३७७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर–१ मा ७२,८८३ मत खसेको थियो ।
त्यस्तै क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा निर्वाचित नवराज रावतले हृदयराम थानीलाई ८,८०१ मत अन्तरले पराजित गरेका छन् । रावतले ३७,४४७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी थानीले २८,६४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभाका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनले ‘क्लिन स्वीप’ गरेको छ ।
क्षेत्र नम्बर–१ ‘क’ मा वाम गठबन्धनका ठम्मरबहादुर विष्ट र ‘ख’ मा पनि गठबन्धनकै खड्क खत्री निर्वाचित भएका छन् ।
त्यस्तै, क्षेत्र नम्बर–२ ‘क’ मा वाम गठबन्धनकै यामलाल कँडेल र ‘ख’ मा विन्दमान विष्ट निर्वाचित भएका छन् ।
लक्ष्मी भण्डारी, सुर्खेत