पर्सामा फोरम र राजपाको ‘क्लिन स्वीप’
चार निर्वाचन क्षेत्र रहेको पर्सामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)को गठबन्धनले ‘‘क्लिन स्वीप’ गरेको छ ।
पर्सा क्षेत्र नम्बर १, २ र ३ मा संघीय समाजवादी फोरम नेपाल र क्षेत्र नं ४ मा राजपा नेपालका उम्मेदवार निर्वाचित भएका छन् ।
क्षेत्र नं १ मा फोरम नेपालका उम्मेदवार प्रदीप यादव २१,१३२ मत प्राप्त गरी निर्वाचित भएका छन् । यादवका प्रतिस्पर्धी नेपाली कांग्रेसका अनिल रुंगटाले १६,४८१ मत पाएका छन् ।
पर्सा क्षेत्र नं २ मा फोरम नेपालका विमल श्रीवास्तव निर्वाचित भएका छन् । श्रीवास्तवले २०,१६९ मत ल्याउँदा नेपाली कांग्रेसका अजयकुमार चौरसियाले १९,७०४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ३ बाट फोरम नेपालकै हरीनारायण रौनियार निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दीभन्दा १,३६५ मत बढी ल्याएर निर्वाचित भएका हुन् । रौनियारले १५,१६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र चौधरीले १३,८०१ मत ल्याएका छन् ।
त्यस्तै पर्सा क्षेत्र नं ४ मा राजपा नेपालका लक्ष्मणलाल कर्ण निर्वाचित भएका छन् । कर्णले प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालभन्दा ६,०३६ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
कर्णले २०,७३८ मत ल्याएका छन् भने रिजालले १४,००७ मत ल्याएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज