पर्सा प्रदेशसभाः कांग्रेस र फोरम दुई/दुई क्षेत्रमा निर्वाचित
८ वटा प्रदेशसभा रहेको पर्सामा ४ प्रदेशसभाको नतिजा सार्वजनिक भएको छ ।
नतिजा सार्वजनिक भएका ४ वटा प्रदेशसभामध्ये दुईवटामा नेपाली कांग्रेस र दुईवटामा संघीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन निर्वाचित भएको छ ।
पर्सा क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरमका जन्नत अन्सारी निर्वाचित भएका छन् ।
अन्सारी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीलाई १,३२२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । अन्सारीले ८,५९३ मत ल्याउँदा कुर्मीले ७,१७१ मत ल्याएका छन् ।
क्षेत्र नम्बर ३ ‘क’ मा संघीय समाजवादी फोरम नेपालका नेता अब्दुलरहीम अन्सारी निर्वाचित भएका छन् ।
अन्सारीले कांग्रेस उम्मेदवार चन्द्रकिशोरप्रसाद चौधरीलाई १५९ मतको झिनो अन्तरले पराजित गरे । अन्सारीले ७,००४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ६,८४५ मत पाएका छन् ।
क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कांग्रेसका राजेश्वरप्रसाद साह तेली निर्वाचित भएका छन् । साहले १०,२५९ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी फोरम–राजपा गठबन्धनका उम्मेदवार रामनरेशप्रसाद यादवले १०,०७९ मत पाएका छन् ।
त्यस्तै क्षेत्र नम्बर ४ ‘क’ मा पनि कांग्रेसकै शंकर चौधरी निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार जयप्रकाश थारुलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले थारुलाई ४४८ मत अन्तरले पराजित गरे । चौधरीले ७,४८८ मत प्राप्त गरेका छन् भने थारुले ७,०४० मत प्राप्त गरेका छन् ।
सुरेश बिडारी, वीरगञ्ज