ब्लगशुक्रवार, आश्विन ७, २०७३

खेलकुदमा खुराफात

मनिष झा

चरम राजनीतीकरण र भ्रष्टाचारग्रस्त नेपाली खेलकुदलाई बचाउने हो भने राजनीतिक संक्रमणको वहानाबाजी कुनै पनि हालतमा स्वीकार्नु हुन्न।

नेपालमा हकी खासै खेलिंदैन, त्यसैले पनि बहुसंख्यकलाई नेपालमा पनि हकी खेलिन्छ भन्ने थाहा छैन। २०५४/५५ सालताका म जनकपुर नगरपालिकाको तर्फबाट हकी खेल्थें। जनकपुर बजारका पसल–पसलमा गएर 'हामी हकी खेल्न जाँदैछौं, केही सहयोग गरिदिनुहुन्छ कि!' भनी चन्दा मागेको हिजैजस्तो लाग्छ। 

यसै वर्ष भारतमा भएको दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली महिला हकी टोलीले ऐतिहासिक कास्य पदक हासिल गर्‍यो। पुरुष टोली पनि ६ महीना पहिलेदेखि नै तयारी गरिरहेको थियो, तर अन्तिम समयमा टोली सागको सूचीमा परेन। पछि बुझियो, पदाधिकारी र खेलकुद मन्त्रीसम्बद्ध दलका कार्यकर्ता संख्या मिलानका लागि टोलीलाई बाहिरै राखिएछ। खेलाडीका लागि योभन्दा ठूलो विडम्बना के हुनसक्छ?

पूर्व खेलाडीका नाताले म जनकपुर जाँदा अभ्यास स्थलसम्म पुगेर तयारी र कठिनाइबारे बुझ्दथें। राम्रो स्टिक नभए पनि खेलाडीहरू जोशले खेलिरहेका देखिन्थे। कतिपय यस्ता युवा थिए जो कमाइका लागि विदेश जाने परिवारको दबाब झेलेर देशका लागि खेल्ने अठोट गरिरहेका थिए। तर, सागमा पुरुष टोली सहभागी नगराइएको कुरा सुन्नेवित्तिकै मलाई लाग्यो– अब त ती युवालाई विदेशिन परिवार मात्र होइन देशले पनि बाध्य बनायो!” कुनै दलका नेतालाई मुलुकमा यस्तो किन हुँदैछ भनी सोधेमा सहजै जवाफ पाइनेछ– राजनीतिक संक्रमण।

२००४ सालमा स्थापना भएको नेपालको क्रिकेट संघ अहिलेसम्म हुर्किन सकेको छैन्। राजनीतिक आस्थाका आधारमा क्रिकेटको ज्ञान नै नभएकालाई संघमा भर्ती गर्ने, अन्तर्राष्ट्रिय स्पर्धामा खेलाडीभन्दा धेरै पदाधिकारी जाने, अपारदर्शी आर्थिक हिसाब, अलोकतान्त्रिक नेतृत्व जस्ता अनेकन् समस्याले आज क्रिकेटको यो हविगत भएको छ।

क्रिकेटमा जारी अव्यवस्थाको कारण सरकारलाई सोधेमा त्यहाँबाट उही जवाफ पाइनेछ– राजनीतिक संक्रमण। तर, नेपालभन्दा क्रिकेटमा ४८ वर्ष कान्छो र हिंसाग्रस्त मुलुक अफगानिस्तान आज कसरी एकदिवसीय क्रिकेट खेलिरहेको छ? यसको जवाफ भने ती राजनीतिज्ञबाट सम्भवतः भेटिन्न। अक्षमता र अकर्मण्यताको गतिलो वहाना भएको छ– राजनीतिक संक्रमण।

६५ वर्ष लामो इतिहास भएको नेपाली फूटबल पनि यतिबेला घाइते छ। कारण हो– भ्रष्टाचार। एएफसी र फूटबल विकासका लागि आएको रकममा एन्फा पदाधिकारीले मस्ती गरे। खेलाडीले पदाधिकारीको आँखै अघि मिलेमतो गरे। स्वयं एन्फा अध्यक्ष गणेश थापा एएफसीको नजरमा भ्रष्टाचारी ठहरिए। तर, उनै थापा अहिले पनि सांसद् छन्। मुलुकका लागि यो अर्को विडम्बना हो।

साग फूटबलको फाइनलमा भारतलाई हराएर इतिहास रच्दा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक थिए– राजुकाजी शाक्य। बुबाले एसएलसीको फारम भर्न दिएको पैसाले फूटबल किनेर घर फर्किएका शाक्यको जस्तो लगाव र योगदान के हामीले अबका पुस्ताबाट आशा गर्न सक्छौं? के गणेश थापालगायतका पदाधिकारी र मिलेमतोमा खेल हार्ने खेलाडीले हामीलाई सुनौलो भविष्यतर्फ डोर्‍याउँछन्?

जुनसुकै बेथिति र विसंगतिलाई राजनीतिक संक्रमणसँगै जोड्ने र यसैको बलमा कोकोहोलो मच्चाइरहने राजनीतिक नेताका कुरा पत्याइरहने हो भने जवाफ कहिल्यै सकारात्मक आउँदैन। संक्रमणभित्रैबाट सुधार खोज्ने युवा प्रयत्न जति सघन बन्छ, सुदिनको सम्भावना नजिकिन्छ।

प्रतिकृया दिनुहोस