गैससको नाराअनुसार काम भएन: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले गैरसरकारी संस्थाले पछाडि पारिएका वर्गको उत्थान गर्ने नारा बोक्ने गरे पनि यथार्थमा त्यस्तो नपाइने गरेको बताएका छन् ।
समाज कल्याण परिषद्ले आयोजना गरेको ३७औँ सामाजिक सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, "नारामा पछि परेका वर्गको उत्थान तर भूमिगत रणनीति अर्कै हुन्छ भन्ने चर्चालाई गलत सावित गर्नुस् ।"
कार्यक्रममा प्रधानमन्त्रीले अगाडि भने, ‘हाम्रा एनजिओ, आइएनजिओको कामप्रति जनताका प्रशस्तै गुनासा छन् । गैर–सरकारी संस्थाको मूख्य काम मध्यम वर्गलाई जागिर खुवाउने र सहायक काम तल्लो वर्गलाई माथि उठाउने खालको भयो भन्ने आम धारणालाई बदल्न सक्नुपर्छ । हामीले उपेक्षित, उत्पीडित जनता र क्षेत्रलाई पहिलो प्राथमिकतामा राखौं, टाठाबाठा र पढेलेखेका मान्छेलाई जागिर खुवाउने कामलाई दोस्रो प्राथमिकतामा राखौं ।’ उनले गैरसरकारी संस्थाको व्यापक वृद्धि साँच्चै सामाजिक सेवाका निम्ति भएको छ कि अरु कुनै अभिष्ट छ भन्ने प्रश्न उठ्ने गरेको बताए ।
प्रधानमन्त्री दाहालले गैरसरकारी संस्था विरलै मात्र ग्रामीण क्षेत्रमा जान्छन्, धेरै शहरमै काम गर्छन् भन्ने आफूले थाहा पाएकोले त्यस्तो प्रवृत्तिलाई परिवर्तन गरिनुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले मुलुक सङ्घीय संरचनामा गएकाले सोहीअनुसार सामाज कल्याण परिषद्ले पनि आफ्ना कामलाई विकेन्द्रीकरण गरेर अगाडि बढ्नका लागि निर्देशन दिए ।