‘मतदानमा महिलाको सहभागिता बढी’
दुई चरणमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा महिला मतदाताको सहभागिता बढी भएको स्कोप नेपालले जनाएको छ ।
निर्वाचनको पर्यवेक्षण पश्चात स्कोप नेपालले वैदेशिक रोजगार लगायतका कारणले पुरुष मतदाताहरुको सहभागिता कम भएको जनाएको हो ।
दुबै चरणको निर्वाचनमा देशभर पर्यवेक्षकका रुपमा खटिएको स्कोप नेपालले छिटपुट घटना बाहेक देशभरको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ ।
निर्वाचन आयोगको कमजोरीका कारण कतिपय मतदाताहरुको नाम सूचिमा नभेटिएको, कतिपयको नागरिकता र मतदाता परिचय पत्रमा नागरिकता नम्बर फरक परेका कारण केही मतदाता मतदानबाट बञ्चित भएको स्कोप नेपालले उल्लेख गरेको छ । त्यस्तै कतिपय उम्मेदवारहरुले नै निर्वाचन आचारसंहिता पालना नगरेको स्कोप नेपालले बताएको छ ।
समग्रमा निर्वाचनको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्था सन्तोषजनक भएपनि मतदाता शिक्षा भने नपुगेको स्कोप नेपालको ठहर छ ।