साझा प्रकाशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द गरिने
विराटनगरको कलेज रोडस्थित साझा प्रकाशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुने भएको छ । साझाको उक्त कार्यलयबाट पुस्तक बिक्री हुन छाडेको भन्दै बन्द गर्न लागिएको हो ।
साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मा बिक्री बितरणका काम ठप्प भएकाले कार्यालय बन्द गर्नुको विकल्प नरहेको बताउँछन् । “साझाले पुस्तक प्रकाशन गरी बिक्री गरेर आम्दानी गर्ने हो तर विराटनगर शाखा सधैँ घाटामा छ,” उनले भने ।
व्यवस्थापकीय कमजोरीका कारण कार्यालय घाटामा गएकाले यहाँको क्षेत्रीय कार्यालय धरानमा सार्ने उल्लेख गर्दै उनले धरानको कार्यालय अझैपनि आत्मनिर्भर रहेको बताए ।
विराटनगरसँगै दाङ, बुटवल र वीरगन्जको कार्यालय पनि बन्द गर्ने निर्णय भएको उनले बताए । “हामी तयारीमा छौं, सम्भव भए दशैंअघि नभए दशैंपछि विराटनगरको कार्यालय धरानमा सार्छौं ।”
निजी बजारसँग प्रतिस्पर्धा गर्न नसक्नु लज्जास्पद भएको चर्चा गर्दै स्थानीय उपभोक्तवादी संस्थाका अध्यक्ष उत्तम ढुङ्गेल भन्छन, , “विराटनगरबाट साझा प्रकाशनको कार्यालय बन्द गर्नुभन्दा निजी बजारसँग प्रतिसपर्धा गर्ने गरी सञ्चालनमा ल्याउनु पर्छ ।”
“राजनीतिक हस्तक्षपले गर्दा साझा उठन नसक्ने अवस्थामा छ,” प्राज्ञ विवश पोखरेल भन्छन् , "प्रकाशनको विराटनगर शाखा पनि लामो समयदेखि घाटामा छ तर, कार्यालय बन्द गर्दा साहित्यकारलाई नकारात्मक असर पर्छ ।”
रासस