समाचारबिहिवार, मंसिर २१, २०७४

६७ प्रतिशत मतदान

हिमालखबर

आज २१ मंसीरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत आज ४५ जिल्लामा मतदान भएको थियो ।

निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ६७ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिए ।

आयोगले सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मतदान भएको जनाएको छ ।

आज प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा मतदान भएको थियो ।

दु्ई केन्द्रमा मतदान स्थगित
अर्घाखाँची, सन्धिखर्क नगरपालिका – ५ मथुरा निमावि नेटा मतदानस्थलका (क) र (ख) गरी दुई मतदान केन्द्रको मतदान स्थगन भएको छ ।

मतदान केन्द्र (ख) का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भनी राजनीतिक दलका कार्यकर्ताबाट एउटा मतपेटिका तोडफोड गरी फालेको र बाँकी मतपत्र च्यातेकाले उक्त मतदान केन्द्रको मतदान स्थगन भएको जनाउँदै आयोगले सो मतदान केन्द्रमा केही दिनभित्रै पुनःमतदान गर्ने व्यवस्था मिलाइने जनाएको छ ।

प्रतिकृया दिनुहोस