समाचारबुधवार, मंसिर २०, २०७४

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आह्वान

हिमालखबर

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका छन् । 

सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएको भन्दै उनले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका हुन् । 

देउवाले आज एक विज्ञप्ति जारी गरी निर्वाचन लोकतन्त्रको ठूलो उत्सव भएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न आह्वान गरेका हुन् ।

विज्ञप्तिमा उनले स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र निर्वाचनपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । 

“सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु,” विज्ञप्तिमा भनिएको छ  । 

भोलि २१ मंसीरमा ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसअघि १० मंसीरमा उच्च पहाडी र हिमाली ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ । 

प्रतिकृया दिनुहोस