समाचारबुधवार, मंसिर २०, २०७४

‘निर्वाचनको सुरक्षा प्रभावकारी बनाऊ’

हिमालखबर

भोलि, २१ मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन स्कोप नेपालले आग्रह गरेको छ ।

दोस्रो चरणमा निर्वाचन हुने विभिन्न जिल्लाको अनुगमनपछि स्कोप नेपालले मतदाताको सुरक्षा र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रभावकारी बनाउनु आवश्यक रहेको जनाएको हो ।

पहिलो चरणको निर्वाचनपछि सुरक्षा चुनौति थप बढेको उल्लेख गर्दै स्कोप नेपालले उम्मेदवार र चुनावीसभा मात्रै नभएर सर्वसाधारणलाई समेत बमको निशाना बनाइएकोले मतदातामा त्रासको वातावरण रहेको जनाएको छ ।

विष्फोटको श्रृङखलाले जनजीवन प्रभावित पारिरहेको भएपनि सरकारले प्रभावकारी कदम अपनाउन नसकेको स्कोप नेपालले बताएको छ । निर्वाचनको समयमा गृह मन्त्रालय जस्तो मुख्य मन्त्रालयमा मन्त्री नियुक्त हुन नसक्नुले व्यावहारिक रुपमा निर्वाचन सुरक्षाको समन्वयमा थप कठिनाइ भएको स्कोप नेपालको ठहर छ ।

कमजोर सुरक्षा व्यवस्था र त्रासपूर्ण वातावरणले निर्वाचनको स्वच्छतामाथि नै प्रश्न उठ्ने भएकोले निर्वाचन आयोग, सरकार र अन्य सरोकारवालाहरुले तत्काल सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्कोप नेपालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस